नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निर्णय र आगामी योजना सार्वजनिक

काठमाडौं, २७ कात्तिक । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पछिल्लो समय गरेका प्रमुख निर्णय तथा आगामी कार्ययोजनाहरू सार्वजनिक गरेको छ। परिषद्लाई थप पारदर्शी, जवाफदेही र व्यवस्थित संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित आएको नयाँ नेतृत्वले अघि सारेका सुधारका प्रयासलाई शुक्रबार सार्वजनिक गरिएको हो ।
परिषद्मा अध्यक्ष सगुन पौडेल र रजिष्ट्रार रमेश श्रेष्ठले जिम्मेवारी सम्हाल्दै गर्दा संस्थागत सुधारका योजनालाई प्राथमिकता रहेको बताएका थिए । अध्यक्ष पौडेल गत २ भदौ र रजिष्ट्रार श्रेष्ठ ५ भदौमा नियुक्त भएका हुन्् । उनीहरुले सोही अनुसार यसपटक निर्णय तथा भावी योजना सार्वजनिक गरेका हुन् ।
के छन् निर्णय र योजनाहरु ?
परिषद्ले सार्वजनिक गरेको विवरणमा दर्ता तथा प्रमाणपत्रसम्बन्धी निर्णय, कानुनी सुधार, नियमन तथा अनुगमन, डिजिटल सेवा, परीक्षा प्रणाली सुधार, वार्षिक कार्यक्रम र संस्थागत विकासका योजनालाई प्राथमिकताका साथ समेटिएको छ।
दर्ता तथा प्रमाणपत्रसम्बन्धी निर्णयअन्तर्गत मास्टर अफ पब्लिक हेल्थ (एमपीएच) लगायतका विषयमा स्नातकोत्तर तहका विशेषज्ञता दर्तालाई कायम गर्ने निर्णय गरिएको छ। त्यस्तै, बीपीएच र एमपीएचलगायतका विधामा कार्यक्षेत्र तथा अभ्यासको दायरा (स्कोप अफ प्राक्टिस) निर्धारण गरी प्रमाणपत्र जारी गर्ने प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्य व्यवसायीको दर्ता नवीकरणलाई व्यवस्थित बनाउने उद्देश्यले प्रिस्क्रिप्सन, रेफरल स्लिप तथा आचारसंहितासम्बन्धी विषयलाई समेत समेटिएको छ।
कानुनी तथा संस्थागत सुधारका लागि परिषद्ले विद्यमान कानुनलाई समयसापेक्ष बनाउने, आवश्यक संशोधनका लागि कार्यदल गठन गर्ने र सुशासन सुधारका लागि कानुनी तथा नीतिगत व्यवस्थालाई परिमार्जन गर्ने पहल अघि बढाएको छ।
स्वास्थ्य व्यवसायीसँग सम्बन्धित उजुरीको छानबिन तथा कारबाही प्रक्रियालाई व्यवस्थित बनाउने विषयलाई पनि प्राथमिकता दिइएको छ।
डिजिटल सेवा र परीक्षा प्रणाली सुधार परिषद्को अर्को महत्वपूर्ण प्राथमिकता बनेको छ। अनलाइन नवीकरण तथा दर्ता प्रक्रियालाई सहज बनाउने, क्यूआर कोडमार्फत प्रमाणपत्रको प्रमाणीकरण गर्ने र सेवाग्राहीले आफ्नो दर्ता तथा प्रमाणपत्रको अवस्था आफैँ जानकारी लिन सक्ने ‘नो योर स्टाटस’ प्रणाली विकास गर्ने योजना सार्वजनिक गरिएको छ।
त्यस्तै, दर्ता परीक्षालाई थप व्यवस्थित र विश्वसनीय बनाउन परीक्षासम्बन्धी व्यवस्थाको समीक्षा, प्रश्नपत्र निर्माण तथा व्यवस्थापनका लागि प्रश्न बैंक विकास र परीक्षा प्रक्रियामा सुधार गर्ने योजना अघि सारिएको छ। परिषद्का कामकारबाही र स्वास्थ्य व्यवसायीसम्बन्धी जानकारीमूलक तथा सचेतनामूलक भिडियो सामग्री निर्माण गर्ने योजना पनि समेटिएको छ।
अरु कार्यक्रमहरुमा के-के छन् ?
परिषद्ले वार्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीको शोधकार्यलाई प्रोत्साहन गर्न ‘स्टुडेन्ट थेसिस ग्रान्ट’ उपलब्ध गराउने, वार्षिक जर्नल प्रकाशन गर्ने र पाँचवर्षे संस्थागत विकास योजना तयार गर्ने लक्ष्य राखेको छ। प्रमाणपत्र तथा पत्यारपत्रको डिजिटलाइजेसनलाई पनि प्राथमिकतामा राखिएको छ।
यसैगरी, स्वास्थ्य व्यवसायीको आचारसंहिता परिमार्जन, नियमित अनुगमन तथा निरीक्षण र स्वास्थ्य जनशक्तिसम्बन्धी नीतिगत संवादलाई अघि बढाउने योजना परिषद्ले सार्वजनिक गरेको छ। अन्य नियामक निकाय, मन्त्रालय तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित संस्थासँग समन्वय र सहकार्य विस्तार गर्ने विषयलाई पनि महत्व दिइएको छ।
परिषद्ले दर्ता हुन चाहने विभिन्न विधाका स्वास्थ्य व्यवसायीसँग छलफल गर्ने, पूर्वअध्यक्ष तथा विज्ञहरूसँग संस्थागत सुधारका विषयमा सुझाव लिने र सरोकारवालासँग संवाद बढाउने योजनासमेत अघि सारेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



