स्क्रब टाइपसको अवस्था बुझ्न काठमाडौँबाट खटिएको टोली सल्यानमा

48
Shares

काठमाडौँ, १५ असोज । स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि अवस्था बुझ्न छ सदस्यीय विज्ञ टोली सल्यान पुगेको छ । सुरुमा दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म पुगेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा हेमराज पाण्डेको नेतृत्वमा तीन सदस्यीय टोली र प्रदेशतहबाट अरु तीन जना स्वास्थ्य प्राविधिक समेत गरी कुल छ जना सल्यान पुगेका हुन् । उनीहरु अहिले बढी प्रभावित गाउँपालिका दार्मा जाँदैछन् ।

डा पाण्डेका अनुसार आज विहान साढे १० बजे सम्मको तथ्यांक अनुसार पछिल्लो एक महिनामा जिल्लाभर सक्रिय केश १८४ जना रहेको छ । त्यसमा दार्मा गाउँपालिकामा मात्रै १०३ जना र सिद्ध कुमाख गाउँपालिकामा ५९ जना रहेका छन् । अरु पालिकामा थोरै थोरै केश देखा परेका छन् ।

डा पाण्डेयले जिल्लामा अहिलेसम्म स्क्रब टाइपस देखा परेका ३ जनाको मृत्यु भएको बताए । तर मृतकहरु अरु दीर्घ रोगबाट समेत ग्रसित भएकोले स्क्रब टाइपसले नै ज्यान लियो कि अरु कारण पनि थियो भनेर अहिल्यै एकिन गर्न नसकिएको उनले बताए ।

डा पाण्डे नेतृत्वको टोलीले ‘जिल्लाका विभिन्न स्थानमा संक्रमणको अवस्था, जोखिम क्षेत्र र रोग फैलनुको कारणबारे थप अध्ययन तथा विश्लेषण गर्ने बताइएको छ ।

फैलिएको संक्रमण
संक्रमण अहिले फैलिएर सल्यानका सात पालिकामा पुगेको छ । जसमा दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डे छन् । यी पालिकाहरूमा ज्वरोका बिरामी बढेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी किटबाट स्क्रब टाइफस परीक्षण गरिएको हो ।

स्वास्थ्यकर्मीहरूले घाँसपात, दाउरा र कृषि कामका क्रममा किर्नोको टोकाइबाट जोगिन शरीर पूरै ढाक्ने कपडा, पञ्जा र घुँडासम्म छोपिने जुत्ता लगाउन आग्रह गर्दै आएका छन् । घर वरिपरिका झाडी तथा बुट्यान सफा राख्नसमेत आग्रह गरिएको छ ।

तर ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनमा निर्भर नागरिकको दैनिक काम नै जंगल, झाडी र घाँसपातसँग जोडिएकाले सावधानी अपनाउन कठिन भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

देशभर २७१८ जनामा संक्रमण सबैभन्दा बढी लुम्बिनीमा
डा पाण्डेका अनुसार पछिल्लो समय सल्यानमा सबैभन्दा बढी स्क्रब टाइपसको संक्रमण देखिएको भए पनि यो संक्रमण अरु जिल्लामा पनि देखिएको छ ।

पछिल्लो एक महिनामा देशभर २ हजार ७१८ जना स्क्रब टाइपसको संक्रमणमा छन् । त्यसमध्ये लुम्बिनीमा सबैभन्दा बढी ६९७ जना रहेका छन् ।

सुदूरपश्चिममा दोस्रो बढी ६५१ जनामा देखिएको छ । सबैभन्दा कम भने मधेश प्रदेशमा देखिएको उनले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *