त्रिवि शिक्षण अस्पतालले सञ्चालनमा ल्यायो नेपालकै पहिलो ‘पुरुष स्वास्थ्य क्लिनिक’

96
Shares

काठमाडौँ, ६ असोज । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा नेपालकै पहिलो पुरुष स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए) सुनौलो परिवार नेपाल र स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल)को सहयोगमा त्रिवि शिक्षण अस्पतालले सो क्लिनिक सञ्चालनमा ल्याएको हो ।

मंगलबार एक समारोहकाबीच त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन प्राडा मोहनराज शर्माले उक्त क्लिनिकको शुभारम्भ गरे ।

त्यसअघि बोल्दै उनले पुरुष स्वास्थ्य (खासगरी यौन स्वास्थ्य)लाई एकै ठाँउबाट बहु विशेषज्ञ सेवा दिने गरी क्लिनिक सञ्चालन गरिएको भन्दै खुशी व्यक्त गरे ।

‘पुरुष स्वास्थ्य क्लिनिकमा खासगरी पुरुषका यौन सम्वन्धी समस्याहरुको पहिचान तथा उपचार गरिन्छ । पुरुषका यौन सम्वन्धी समस्याहरु बृहत तथा बहुपक्षीय हुन्छन्, यस्ता समस्यालाई एकै ठाउँबाट हल गर्न बहु विशेषज्ञ सेवा दिने गरी यो क्लिनिकको स्थापना गरिएको हो,’ क्लिनिक सञ्चालनका लागि अगुवाई गरेका महाराजगञ्ज मेडिकल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. खेमबहादुर कार्कीले भने ।

किन चाहियो पुरुष क्लिनिक ?
पछिल्लो समय पुरुषहरुको पुरुषत्व सम्वन्धी स्वास्थ्य समस्या भयावह देखिएता पनि यो सम्बोधनका लागि अहिलेसम्म कसैको ध्यान गएको थिएन । यस्तै समस्याको सम्वोधन गर्न अस्पतालले नयाँ सेवा प्रारम्भ गरेको हो ।

अस्पतालका युरोलोजी विभाग प्रमुख समेत रहेका डा. पवनराज चालिसे भन्छन्, ‘पुरुषत्व सम्वन्धी समस्या भयावह अवस्थामा छ तर समस्या समाधान गर्ने ठाउँ नहुँदा धेरै समस्या भएको थियो । त्यसैले हामीले यो क्लिनिक सञ्चालन गरेका हौँ ।’

यता डा. कार्कीले गतवर्ष ३४ जिल्लामा गरिएको एक अनुसन्धानले अवस्था भयावह देखिएपछि समाधानका लागि यो क्लिनिक सुरु गरिएको बताए । उनी भन्छन्, ‘नेपालमा पहिलो पटक सन् २०२४ मा गरिएको यौन दुर्वलता सम्वन्धी राष्ट्रिय स्तरको अध्ययनले प्रत्येक तीन मध्ये २ जनामा यौन दुर्बलता देखाएको थियो । त्यसमा महिलामा ६७ प्रतिशत र पुरुषमा ७२ प्रतिशत रहेको देखिन्थ्यो । महिलाका लागि गाइने अव्स क्लिनिक देखि छुट्टै उपचारका लागि विभिन्न सुविधा थियो तर पुरुषका लागि कहि कतै यस्तो सुविधा देखिएन । त्यसैले क्लिनिक सञ्चालनमा ल्यायौँ ।’

उनले यौन इच्छाको कमी हुने, यौन उत्तेजना कमी हुने, चरम आनन्दको अवस्थामा नपुग्ने, पीडादायी यौन सम्पर्क हुने, यौन आनन्द नभएर सन्तुष्टी हुन नसक्ने अवस्थाहरुले व्यक्तिको यौन आनन्द वा सन्तुष्टी अनुभव गर्ने क्षमतालाई घटाइरहेको र यी समस्या उच्च रक्तचाप, मधुमेह, मुटु तथा रक्तनलीका समस्या, लगायत दीर्घकालीन नसर्ने रोगहरु, तनाव, चिन्ता, जस्ता मानसिक समस्याहरुबाट हुने गरेको भन्दै त्यसको समाधानका लागि क्लिनिक सुरु गरिएको बताए ।

कार्यक्रममा हर्मोनरोग विशेषज्ञ डा नरेश पराजुली, मानसिक रोग विशेषज्ञ प्राडा मनिषा चापागाई लगायतले पुरुष स्वास्थ्य क्लिनिकको आवश्यकताका बारेमा चर्चा गरेका थिए ।

कसरी लिने क्लिनिकमा सेवा ?
यो क्लिनिकमा हरेक दिन विहान ९ बजे देखि दिउसो १ बजेसम्म बिरामीको प्रारम्भीक जाँच र आवश्यक स्वास्थ्य परीक्षण गरिन्छ । सोमबार, मंगलबार र विहीबार समस्याको प्रकृति हेरी विशेषज्ञ सेवा समेत उपलव्ध गराईन्छ ।

अहिले क्लिनिकमा मुत्ररोग विशेषज्ञ, स्नायुरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ र हर्मोन वा ग्रन्थी विशेषज्ञ लगायतले एकै ठाउँबाट सेवा दिनेछन् । अस्पतालले थप जनशक्तिका लागि यस विषयमा छुट्टै फेलोसिपका लागि पठाउने तयारी समेत गरेको डा. चालिसेले बताए ।

सेवाग्राहीले ओपिडी टिकटमा पुरुष क्लिनिकको टिकट काटेर क्लिनिकमा जान सकिने र पहिले आवासीय चिकित्सकले प्रारम्भिक स्क्रिनिङ गरेपछि आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकको सेवाग्राहीलाई थप उपचारका लागि पठाइने व्यवस्था मिलाइएको डा. कार्कीले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *