भास्कुलर सम्बन्धि बृहत अन्तर्राष्ट्रिय सम्मेलन ‘हिमभास’को दोस्रो संस्करण आगामी चैतमा

0
Shares

काठमाडौँ, ३१ भदौ । भास्कुलर सम्वन्धी बृहत अन्तर्राष्ट्रिय सम्मेलन हिमालय इन्टरनेशनल भास्कुलर समिटको दोस्रो संस्करण अर्थात ‘हिमभास-२०२७’ आगामी चैतको पहिलो साता काठमाडौँमा हुने भएको छ ।

हिमभासको पहिलो सम्मेलन तीन वर्ष अघि अर्थात सन् २०२४ मा काठमाडौँमा नै भएको थियो ।

ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा ‘हिसभास-२०२७’ का संयोजक एवं बरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेयले पहिलो सम्मेलन सकिएको तीन वर्ष पछि दोस्रो सम्मेलन हुन लागेको जानकारी दिए । उनका अनुसार सम्मेलन आगामी चैतको ३ देखि ७ गतेसम्म अर्थात १७ मार्च देखि २१ मार्च २०२७ सम्म काठमाडौँमा हुनेछ ।

डा. पाण्डेयले सम्मेलनमा यसपटक १०० बढी मुलुकका विज्ञ चिकित्सक तथा वैज्ञानिकहरुलाई आमन्त्रण गरिएको भन्दै एक हजार बढीको सहभागिता हुने बताए ।

उनले ६० बढी देशबाट रजिष्ट्रेसन गरिसकेको बताए ।

‘तीन वर्ष अघिको पहिलो सम्मेलनमा ४३ देशका विज्ञ चिकित्सक सहित कुल ३५० जनाको सहभागीता थियो । यसपटक हामीले १०० बढी देशमा पत्र पठाएका छौँ ६०० बढी विदेशीहरु सहभागी हुने विश्वास छ । नेपाली समेत गरेर १००० बढीको सहभागिता हुने लक्ष्य छ,’ उनले भने । उनले आउन नसेका देशबाट भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता तथा विद्यार्थीहरु भर्च्युअल माध्यमबाट समेत जोडिने बताए ।

डा. पाण्डेयले सम्मेलनमा भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्स, फिजिसियन असिस्टेन्ट, नर्सहरु, लगायत यसमा रुची राख्ने स्वास्थ्य सम्वद्ध व्यक्तिहरुको सहभागिता हुने बताए ।

डा. पाण्डेयले सम्मेलनमा भास्कुलरका बारेमा भएका नयाँ-नयाँ खोज, अध्ययन् अनुसन्धान र उपचारका बारेमा प्रस्तुतिकरण तथा छलफल हुने बताए । उनले यसबाट नेपाल र नेपालको स्वास्थ्य क्षेत्रलाई विश्वजगतलाई चिनाउन तथा नेपालले विश्वका उत्कृष्ठ उपचार सेवाबारे सिक्न तथा थाहा पाउन मद्धत पुग्ने बताए ।

डा. पाण्डेयले विश्वबाट ख्यातिप्राप्त व्यक्तिहरु सहभागी हुने यस सम्मेलनमा नेपालका ख्यातिप्राप्त डाक्टरहरुको सहभागिता हुने बताए ।

के हो हिमभास ?

हिमालयन रेन्जमा रहने राज्यहरुलाई समेटेर बनाइएको यो एउटा समिट हो । यसको जन्मदाता, कन्सेप्ट डिजाइनर डा. पाण्डेय नै हुन् ।

‘हिमभासमा हामी भास्कुलर सम्वन्धी विषयमा अध्ययन् अनुसन्धानका प्रतिवेदन पेश गर्नेछौँ । सिकाई तथा अध्ययन् गर्ने छौँ, उपचार अनुभव साटासाट गर्ने छौँ,’ उनले दोहोरयाए ।

डा. पाण्डेयले नेपाल जस्तो अल्पविकसित र न्युन आर्थिक अवस्था भएको देशको आयोजनामा विश्वकै सबैभन्दा विकास र आधुनिक देशको रुपमा परिचित अमेरिका, बेलायत, अष्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान चीन, भारत, युएई जस्ता देशबाट विज्ञहरुको सहभागिता रहने बताए ।

यस्तै बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड, मलेसिया, सिंगापुर, टर्की, अष्ट्रिया, कोलम्बिया, श्रीलंका, इजिप्ट, हङकङ, स्वीडेन, इजिप्ट, ओमान, लगायतका दर्जनौँ देशका विज्ञ चिकित्सकहरुले सहभागिताको सुनिश्चितता गरिसकेको जानकारी दिए ।

‘अघिल्लो संस्करणमा हामी तीन दिनसम्म यो कार्यक्रम चलाएका थियौँ । यस पटक भने सम्मेलन पाँच दिन सम्म चल्नेछ,’ उनले भने ।

हिमभास किन ?

डा. पाण्डेय भन्छन्, ‘चिकित्सा भनेको विज्ञान हो, यो परिवर्तन भई नै रहन्छ । विश्वका विभिन्न देशहरुमा स्वास्थ्य उपचारलाई सहज बनाउन नियमित रुपमा खोज अध्ययन् अनुसन्धान भई नै रहेको छ । यस समिटले ती अध्ययन अनुसन्धान र उपचार अनुभवलाई आदान प्रदान गर्ने, सिकाईलाई निरन्तरता दिने कार्यलाई थप परिस्कृत ढंगले अघि बढाउने छ ।’

भास्कुलर विषय मानव शरीरको शिर देखि पाउसम्म बहने विभिन्न नलिहरुको अध्ययन् अनुसन्धान र उपचार गर्ने विधा हो भन्दै उनले चिकित्सा विज्ञानमा यसको अलग्गै रहेको बताए ।

डा. पाण्डेयका अनुसार यस समिटमा .३०० बढी पेपर र पोेस्टर प्रस्तुत हुनेछ ।

सिकाई, अनुभव आदान प्रदानका साथै मेडिकल टुरिजमलाई बढाउने ध्यय

डा. पाण्डेयले सम्मेलनको मुल उदेश्य सिकाई आदान प्रदान संगै नेपालको मेडिकल टुरिजमलाई बढावा दिनु रहेको बताए ।

‘अघिल्लो पटक कार्यक्रममा आएका चालिस भन्दा बढी विदेशी विज्ञहरु कार्यक्रम सम्पन्न भएपछि माउन्टेन फ्लाइट देखि एबीसी ट्रयाकको भ्रमणमा गएका थिए । यसपटक आउने धेरै विज्ञ चिकित्सकहरुले नेपालमा थप केही दिन बसेर विभिन्न क्षेत्रको भ्रमण गर्ने बताएका छन् । यसले नेपालको पर्यटन क्षेत्रलाई निकै फाइदा पुग्नेछ । छुट्टै भ्रमणकै लागि आउन नपाएका वा नभ्याएका चिकित्सक र उनका परिवारका लागि मात्रै होइन, पर्यटन प्ररवर्दनमा लागेको नेपालका लागि पनि थप सहयोगी र उपयोगी हुने विश्वास गरिएको छ,’ उनले भने ।

उनले यस्ता सम्मेलनबाट उपचारका क्षेत्रमा पनि निकै ठूलो फाइदा हुने बताए ।

‘पहिलो समिट गरे यता ३ सय बढी विदेशी विरामी मेरो सम्पर्क आए, उपचार गराए । भारत, भुटान, बंगलादेश मात्रै होइन, मध्येपूर्वका देश, मलेसिया, इन्डोनेसिया, टर्की सहित केही युरोपका देशहरुबाट पनि नेपालमा सस्तो र सहज रुपमा गुणस्तरीय उपचार हुन्छ भनेर आउन थालेका छन् । नेपालका अरु अस्पतालका धेरै चिकित्सकहरुले अब नेपालमा पनि विदेशी बिरामीहरु डलर खर्चेर उपचारका लागि आउन थालेको बताएका छन् । यो अर्को महत्वपूर्ण उपलव्धी हो,’ उनले भने ।

सम्मेलन व्यवस्थापनको जिम्मा लिएको इभेन्टिक नेपालका पेशल भट्टराईले यो सम्मेलनले नेपालमा मेडिकल टुरिजमका लागि ईट्टा थप्ने बताए ।

‘अघिल्लो कार्यक्रम संगै यसपटक पनि हामीले कार्यक्रमको व्यवस्थापनको जिम्मा पाएका छौँ । पहिलो सम्मेलन भन्दा यो बृहत हुन्छ यसले बास्तवमा नेपाल चिनाउने छ, नेपालको स्वास्थ्य सेवा, स्वास्थ्य क्षेत्र चिनाउने छ । हामी सबै र देशका लागि समेत यो गौरवको विषय हो,’ भट्टराईले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *