वीर अस्पतालको भीडदेखि स्वास्थ्य प्रणालीको पुनर्संरचनासम्म
जवाफदेही प्रेषण र विकेन्द्रीकृत स्वास्थ्य सेवाको आवश्यकता

नेपालको स्वास्थ्य प्रणाली संघीय संरचनामा प्रवेश गरे पनि स्वास्थ्य सेवा अझै नागरिकको घरदैलोमा अपेक्षित रूपमा पुग्न सकेको छैन। सामान्य स्वास्थ्य सेवादेखि विशेषज्ञ तथा विशिष्टीकृत उपचारका लागि समेत बिरामीहरू ठूला शहर र सीमित अस्पतालमा निर्भर हुनुपर्ने अवस्था कायमै छ।
यसको प्रत्यक्ष प्रभाव केन्द्रीय तथा ठूला अस्पतालमा बढ्दो बिरामी चाप, लामो प्रतीक्षा र सेवाप्रवाहमा देखिएको दबाबका रूपमा देखिन्छ। काठमाडौंका ठूला अस्पतालमा देखिने भीड त्यसैले केवल अस्पताल व्यवस्थापनको विषय होइन; यो स्वास्थ्य सेवाको वितरण, सेवा क्षमताको अवस्था र प्रेषण प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्नसँग जोडिएको विषय हो।
वीर अस्पतालको भीड: अस्पतालको समस्या कि स्वास्थ्य प्रणालीको ऐना ?
वीर अस्पतालमा सामान्यदेखि जटिल अवस्थाका बिरामीको अत्यधिक चाप, विभिन्न सेवामा लामो प्रतीक्षा र सहज रूपमा चिकित्सकीय सेवा प्राप्त गर्न कठिनाइ, यी दृश्य र अनुभव हामीमध्ये धेरैका लागि परिचित छन्।
चिकित्सकलाई भेट्न लामो समय कुर्नुपर्ने र सेवा लिन कठिन भएको जनगुनासो पनि लामो समयदेखि सुनिँदै आएको छ। तर यो समस्या वीर अस्पतालमा मात्र सीमित छैन; देशका अन्य केन्द्रीय तथा ठूला अस्पतालहरूमा पनि यस्तै चाप र सेवाप्रवाहका चुनौती देखिन्छन्।
स्थानीय र प्रदेश तहमा आवश्यक स्वास्थ्य सेवा, दक्ष जनशक्ति, उपकरण, औषधिको कमि तथा प्रभावकारी प्रेषण प्रणाली स्थापित हुन नसक्दा सामान्यदेखि विशेषज्ञ तथा जटिल सेवा लिन समेत नागरिक काठमाडौं र प्रदेशका निश्चित अस्पताल धाउनुपर्ने अवस्था छ।
त्यसैले यसलाई कुनै एक अस्पतालको समस्या मात्र नभई समग्र स्वास्थ्य सेवा प्रणालीको अवस्थासँग जोडेर हेर्न आवश्यक छ। यो हाम्रो समग्र स्वास्थ्य सेवा प्रवाह र प्रेषण प्रणालीको ऐना हो।
प्रश्न केवल वीर अस्पतालमा किन यति धेरै भीड छ? भन्ने होइन; बिरामी किन यहाँसम्म आउन बाध्य छन्, र आवश्यक सेवा उनीहरूको घरनजिक वा प्रदेशमै कसरी सुनिश्चित गर्न सकिन्छ? भन्ने हो।
संघीय स्वास्थ्य प्रणालीको मूल उद्देश्य
संघीयताको मूल उद्देश्य स्वास्थ्य संस्थाको संरचना तीन तहमा बाँड्नु मात्र होइन, जनताले गुणस्तरीय स्वास्थ्य सेवा उपयुक्त स्थान र समयमा उपयोग गर्न पाउने र आवश्यक पर्दा सहज रूपमा माथिल्लो तहमा प्रेषण गरि स्वास्थ्य समस्याको व्यवस्थापन गर्नु हो।
संघीय स्वास्थ्य प्रणालीको सफलता अस्पताल, भवन वा संस्थाको संख्या बढेको आधारमा होइन, नागरिकले सही सेवा, सही ठाउँमा, सही समयमा पाएको आधारमा मापन हुनुपर्छ।
संघ, प्रदेश र स्थानीय तह प्रतिस्पर्धी होइनन्; एउटै स्वास्थ्य प्रणालीका परस्परपूरक साझेदार हुन्। स्थानीय तहले आधारभूत स्वास्थ्य सेवाको बलियो पहिलो सम्पर्क बिन्दुका रूपमा काम गर्ने, प्रदेशले विशेषज्ञ सेवा तथा प्रेषण व्यवस्थापनमा नेतृत्व गर्ने र संघले राष्ट्रिय नीति, मापदण्ड, नियमन तथा जटिल विशिष्टीकृत सेवामा नेतृत्व गर्ने गरी तहगत भूमिकालाई स्पष्ट र व्यवहारिक बनाउन आवश्यक छ।
यसका लागि सेवाको जिम्मेवारी मात्र होइन, परिणामको जवाफदेहिता पनि स्पष्ट हुनुपर्छ।
प्रेषण भनेको बिरामीलाई माथिल्लो तहको अस्पताल पठाउनु मात्र होइन
हाम्रो विद्यमान प्रेषण अभ्यास प्रायः बिरामीलाई माथिल्लो तहमा पठाउने प्रक्रियामा सीमित हुने गरेको छ। तर प्रभावकारी प्रेषण भनेको एकतर्फी यात्रा होइन। प्रेषण उपचारको निरन्तरता हो—माथिल्लो तहमा उपचारपछि आवश्यक हेरचाहका लागि बिरामी पुनः तल्लो तहमा फर्किने चक्र पनि हो।
यसलाई प्रेषण तथा पुनःप्रेषण प्रणालीका रूपमा विकास गर्नुपर्छ। स्थानीय तहबाट आवश्यकताअनुसार प्रदेश र संघमा जाने तथा उपचारपछि पुनः स्थानीय वा प्रदेश तहमा फर्केर निरन्तर हेरचाह पाउने व्यवस्था भए मात्र स्वास्थ्य प्रणालीले वास्तविक अर्थमा काम गर्छ।
विकेन्द्रीकरण भनेको अधिकार मात्र होइन, सेवा क्षमता पनि हो
स्वास्थ्य सेवा विकेन्द्रीकरण भन्नाले कार्यालय, अधिकार वा बजेट मात्र स्थानीय तहसम्म लैजानु पर्याप्त हुँदैन। सेवा दिने वास्तविक क्षमता पनि नागरिकको नजिक पुर्याउनुपर्छ। विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण, ICU, प्रयोगशाला, शल्यक्रिया तथा विशिष्टीकृत सेवाहरू केही ठूला शहर र विशेषगरी काठमाडौंमा बढी केन्द्रित हुँदा बिरामीको चाप पनि त्यतैतिर बढ्छ।
त्यसैले नयाँ भवन वा उपकरण थप्नुअघि तीनवटा प्रश्न सोधिनुपर्छ – सेवा कहाँ आवश्यक छ? त्यसका लागि आवश्यक जनशक्ति छ? उपलब्ध क्षमताको नियमित तथा प्रभावकारी उपयोग भइरहेको छ? भवन र उपकरणभन्दा पहिले आवश्यक जनशक्ति, सेवा क्षमता र त्यसको नियमित उपयोग सुनिश्चित गर्नुपर्छ।
विशेषज्ञ जनशक्तिको आकर्षण तथा टिकाउका लागि उपयुक्त प्रोत्साहन, आवश्यकताअनुसार विशेषज्ञको आलोपालो प्रणाली, दूरपरामर्श सेवा तथा निरन्तर पेशागत विकासजस्ता उपायलाई संस्थागत गर्न सकिन्छ।
स्थानीय तह: नागरिकको पहिलो भरोसा
स्वास्थ्य प्रणालीको सबैभन्दा महत्वपूर्ण आधार स्थानीय तह हो। नागरिकले सबैभन्दा पहिले भरोसा गर्ने र सेवा खोज्ने ठाउँ पनि यही हो। आधारभूत स्वास्थ्य सेवा, आवश्यक औषधि, प्रारम्भिक परीक्षण, खोप, मातृ तथा नवजात स्वास्थ्य, पोषण, संक्रामक तथा नसर्ने रोग, मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक तथा प्राथमिक उपचारजस्ता सेवा स्थानीय तहमा गुणस्तरीय र नियमित रूपमा उपलब्ध भए धेरै बिरामी माथिल्लो तहमा जानुपर्ने आवश्यकता स्वतः घट्छ।
पहिलो सम्पर्क बिन्दु कमजोर हुँदा माथिल्लो तहका अस्पताललाई मात्र बलियो बनाएर स्वास्थ्य प्रणाली सन्तुलित हुँदैन।
प्रदेश अस्पताल: स्थानीय र संघीय तहबीचको सेतु
प्रदेश अस्पतालहरू स्थानीय र संघीय स्वास्थ्य सेवाबीचको महत्वपूर्ण सेतु बन्न सक्नुपर्छ । विशेषज्ञ सेवा, प्रेषण व्यवस्थापन, गुणस्तर सुधार तथा स्थानीय तहसँगको समन्वयमा प्रदेश तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ ।
अस्पतालको वर्गीकरण केवल शैय्याको संख्याका आधारमा होइन, उपलब्ध सेवा र उपचार क्षमताका आधारमा हुनुपर्छ । आकस्मिक सेवा, ICU, शल्यक्रिया, विशेषज्ञ सेवा, प्रयोगशाला, रक्त सेवा, दूरपरामर्श तथा अन्य सहयोगी सेवाको उपलब्धतालाई समेत आधार बनाउन आवश्यक छ।यी महत्वका विषयका सम्बन्धमा नागरिकले सहज रूपमा बुझ्न सक्ने अवस्था हुनुपर्छ । “कुन स्वास्थ्य समस्या लिएर कहाँ जाने?”
यही स्पष्टताले अनावश्यक बिरामी चाप र अनुपयुक्त प्रेषणलाई घटाउन सक्छ।
कागजी प्रेषणबाट एकीकृत डिजिटल प्रेषण प्रणाली
कागजी प्रेषणले मात्र आजको स्वास्थ्य प्रणालीको आवश्यकता पूरा गर्न सक्दैन। एकीकृत डिजिटल प्रेषण (Referral) तथा पुनःप्रेषण (Counter referral) प्रणालीमा बिरामीको पहिचान, चिकित्सकीय इतिहास, निदान, प्रयोगशाला तथा इमेजिङ रिपोर्ट, उपचार इतिहास, प्रेषणको कारण, गन्तव्य स्वास्थ्य संस्था र आवश्यक appointment सम्बन्धी जानकारी सुरक्षित रूपमा आदानप्रदान हुन सक्नुपर्छ।
यसले एउटै परीक्षण बारम्बार गर्नुपर्ने अवस्था घटाउन, अनावश्यक यात्रा र खर्च कम गर्न तथा उपचारको निरन्तरता कायम गर्न सहयोग गर्न सक्छ। माथिल्लो तहका चिकित्सकले बिरामीको आवश्यक जानकारी पहिल्यै प्राप्त गर्ने भएकाले जटिल तथा आकस्मिक बिरामीका लागि थप समय र स्रोत व्यवस्थापन गर्न पनि सहज हुन्छ।
तर डिजिटल प्रणालीसँगै बिरामीको गोपनीयता र तथ्यांकको सुरक्षाको सुनिश्चित गर्नुपर्छ।
स्वास्थ्य बीमा र प्रेषण
स्वास्थ्य बीमाको उद्देश्य केवल उपचार खर्चको आर्थिक सुरक्षा प्रदान गर्नु मात्र होइन; उपयुक्त स्वास्थ्य सेवा उपयुक्त तहमा उपयोग हुने वातावरण बनाउनु पनि हो।
सामान्य स्वास्थ्य समस्या स्थानीय तहबाट, विशेषज्ञ सेवा प्रदेशबाट र जटिल तथा विशिष्टीकृत सेवा संघीय तहबाट प्राप्त हुने गरी बीमा र प्रेषण प्रणालीलाई क्रमशः जोड्न सकिएमा अनावश्यक रूपमा ठूला अस्पतालमा पुग्ने बिरामीको चाप घटाउन सकिन्छ। यसले बिरामीको खर्च घटाउनका साथै स्वास्थ्य प्रणालीको स्रोतको उचित उपयोगमा समेत सहयोग पुर्याउँछ।
आकस्मिक प्रेषण ब्यबस्थापन
आकस्मिक बिरामीको प्रेषण सामान्य प्रेषणभन्दा फरक हुन्छ। यसका लागि एम्बुलेन्स, पूर्वसूचना, सम्बन्धित स्वास्थ्य संस्थाबीचको समन्वय, बिरामीको प्रारम्भिक विवरण तथा गन्तव्य अस्पतालमा शैय्या, ICU र आवश्यक रक्त सेवाको उपलब्धताबारे पूर्वजानकारी र तत्काल समन्वय आवश्यक हुन्छ।यसका लागि प्रदेश तहमा एकीकृत एम्बुलेन्स तथा आकस्मिक प्रेषण सञ्जाल लाई सुद्रीढ र विस्तार एबम विकास गर्न सकिन्छ।
अबको सुधार: संरचनाभन्दा प्रणालीमा केन्द्रित
नेपालको संघीय स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन साना-साना सुधार मात्र पर्याप्त हुँदैनन्। कुन सेवा कहाँ दिने, बिरामी कहाँ जाने, प्रत्येक अस्पतालको जिम्मेवारी के हुने र परिणामका लागि कसले जवाफ दिने—यी प्रश्नको स्पष्ट उत्तर आवश्यक छ।
यसका लागि कम्तीमा निम्न सुधारलाई प्राथमिकता दिनु आबश्यक छ:
• प्रत्येक तहको स्वास्थ्य सेवा प्याकेज स्पष्ट गर्ने र त्यसलाई अनुगमन तथा मूल्याङ्कनसँग जोड्ने।
• अस्पतालको सेवा क्षमता र प्रेषण जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्ने।
• एकीकृत डिजिटल प्रेषण तथा पुनःप्रेषण प्रणाली विकास गर्ने।
• प्रदेश तहलाई प्रभावकारी प्रेषण तथा समन्वय केन्द्रका रूपमा सुदृढ गर्ने।
• स्वास्थ्य बीमालाई उपयुक्त सेवा तह र प्रेषण प्रणालीसँग क्रमशः जोड्ने।
• शैय्या उपयोग दर, प्रतीक्षा समय, प्रेषणको प्रवृत्ति, सेवा उपयोग र बिरामीको उपचार परिणामका आधारमा नियमित समीक्षा गर्ने।
निष्कर्ष
वीर अस्पताललगायत ठूला अस्पतालमा देखिएको अत्यधिक भीडलाई केवल अस्पताल व्यवस्थापनको समस्या मान्नु पर्याप्त हुँदैन। यो हाम्रो स्वास्थ्य सेवा प्रवाह, सेवा क्षमताको वितरण र प्रेषण प्रणालीको कमजोर अवस्थाको संकेत हो। त्यसैले समाधान भीड घटाउने मात्र होइन, बिरामीलाई अनावश्यक रूपमा टाढा जानुपर्ने अवस्था सिर्जना गर्ने प्रणाली सुधार्नु हो।
संघीय स्वास्थ्य प्रणालीले स्थानीय तहमा बलियो आधारभूत सेवा, प्रदेशमा सक्षम विशेषज्ञ सेवा र प्रभावकारी प्रेषण–समन्वय तथा संघमा नीति, मापदण्ड, नियमन र विशिष्टीकृत सेवाको नेतृत्व सुनिश्चित गर्नुपर्छ। यसका लागि सेवा क्षमता, आवश्यक जनशक्ति, अस्पताल वर्गीकरण, स्वास्थ्य बीमा र डिजिटल प्रेषण–पुनःप्रेषण प्रणालीलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ।
अन्ततः संघीय स्वास्थ्य प्रणालीको सफलता अस्पताल कति ठूला भए वा कति संरचना थपिए भन्नेमा होइन, नागरिकले आवश्यक गुणस्तरीय स्वास्थ्य सेवा सही ठाउँमा, सही समयमा र सम्भव भएसम्म आफ्नै नजिक प्राप्त गरे कि गरेनन् भन्नेमा मापन हुनुपर्छ। विकेन्द्रीकरणको अर्थ अधिकार मात्र बाँडफाँड गर्नु होइन; सेवा दिने वास्तविक क्षमता जनताको नजिक पुर्याउनु हो।
त्यसैले वीर अस्पतालको भीडलाई एउटा अस्पतालको व्यवस्थापन चुनौतीका रूपमा मात्र होइन, नेपालको स्वास्थ्य प्रणालीलाई थप विकेन्द्रीकृत, जवाफदेही, गुणस्तरीय र नागरिककेन्द्रित बनाउने अवसरका रूपमा लिनुपर्छ।
#डा. घिमिरे कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिवका रुपमा जिम्मेवारी पुरागरि बिगत दुई महिनादेखि स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालयमा हाजिररत छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।










राम्रो लेख, धन्यवाद!