शव पहिचानका लागि आफन्तको डीएनए परीक्षण सुरु

चितवन, १७ भदौ । रसुवा भोटेकोशी बाढीमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको पहिचानका लागि परिवारका सदस्यको डीएनए परीक्षण गर्न रगत सङ्कलन सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भरतपुर सेवा एकाइ चितवन र जनस्वास्थ्य कार्यालय, भरतपुर चितवनको सहयोगमा रगत सङ्कलन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो।
भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा स्थापना गरिएको केन्द्र बिहान ९ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
भोटेकोशी नदीमा आएको बाढीका कारण फेला परेका शवको पहिचानका लागि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना लिएर डीएनए परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
डीएनएको नमुना दिन आउने व्यक्तिले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साइजको फोटोसमेत लिएर आउन प्रहरीले आग्रह गरेको छ।
प्रहरीले मङ्गलबारदेखि सुरु गरेको केन्द्रमा पहिलो दिन तीन जनाको रगतको नमुना सङ्कलन गरिएको छ। रगत सङ्कलन कार्य आज पनि जारी रहने प्रहरीले जनाएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



