नौ वर्षको अवधीमा मस्तिष्क मृत्यु भएका नौ मृत शरीरबाट झिकियो अङ्ग, गरियो प्रत्यारोपण

काठमाडौँ, २८ साउन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २८ वैशाख २०७४ मा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकेको अङ्ग (मिर्गौला) अरु दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । तर त्यस यताको नौ वर्षको अवधीमा मस्तिष्क मृत्यु भएका नौ जना मृतदाबाट २३ वटा अङ्ग प्रत्यारोपण सम्भव भएको छ ।
त्यसमा १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एक जनामा संयुक्त (कलेजो–मिर्गौला) प्रत्यारोपण गरिएको छ ।
नेपाल प्रहरीको तथ्यांङ्क अनुसार नेपालमा बार्षिक ३ हजार बढीको सड्क दुर्घटनामा मृत्यु हुन्छ र सोही अवधीमा करीब १ हजार बढीको मस्तिष्कमृत्यु भएर ज्यान जाने गरेको छ । त्यस हिसावले नौ वर्षको अवधीमा लगभग ९ हजार जनाको मस्तिष्क मृत्यु भयो, तर अङ्ग दान भने निकै थोरैबाट भएको छ । लामो अवधीसम्म यस कार्यक्रमले गति लिन नसक्दा यस विषयका विज्ञहरु पनि अचम्ममा परेका छन् ।
मिर्गौैला तथा कलेजो प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार एक जना मृत अङ्गदाताबाट आठ भन्दा बढी बिरामीको जीवन बचाउन सकिन्छ । उनले मृत्युपछि अङ्गदान गर्न र प्रत्यारोपण गर्न सके धेरै बिरामीलाई राहत हुने बताउछन् ।
तर अहिलेसम्म त्यसले गति लिन नसक्दा नेपालमा अधिकांश प्रत्यारोपण जीवित दाताबाट लिईने अङ्गबाट हुँदै आएको छ । डा श्रेष्ठले अङ्गदान सम्वन्धी सचेतना र यसको महत्व बुझाउन नसकेका कारण यसले गति नलिएको अनुमान गर्दछन् ।
‘अचानक मृत्यु भएको व्यक्ति (जसको मस्तिष्क मृत्यु भईसके पनि अरु अङ्ग चलिरहेको हुन्छ) का परिवारलाई अब तपाईँको सन्तानको आश छैन, अङ्ग हामीलाई दिनुहोस भनेर भन्न वा काउन्सिलिङ गर्न सानो कुरा होइन, यसबारे सचेतना फैलाउन जरुरी छ । अर्को कुरा अस्पतालहरु तथा त्यसमा सम्लग्न चिकित्सकहरुसंग पनि समन्वयको खाँचो छ, त्यसमा केही कमि भयो कि भन्ने पनि लाग्छ,’ डा श्रेष्ठले मस्तिष्क मृत्यु पछिको अङ्गदानले किन गति लिएन होला भन्ने प्रश्नमा बताउँछन् ।
यता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवा विस्तार भइरहे पनि मृत्युपछि हुने अङ्गदानलाई अझै प्रभावकारी रूपमा अघि बढाउन नसकिएको बताउँछिन् ।
उनी पनि दाताको समयमै पहिचान गर्ने, परिवारसँग संवेदनशील संवाद गर्ने र प्राप्त अङ्ग सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिन्छिन् । मृत्युपछि हुने अङ्गदानका लागि जनचेतना मात्र पर्याप्त हुँदैन ।
कार्यकारी निर्देशक डा. श्रेष्ठले सम्भावित दाता पहिचान गर्ने अस्पतालस्तरीय संयन्त्र, सघन उपचार सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रत्यारोपण समन्वयकर्ता, अङ्ग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरण गर्ने व्यवस्था र राष्ट्रियस्तरको पारदर्शी अङ्ग वितरण प्रणाली आवश्यक हुने बताईन ।
नेपालमा अङ्गदान तथा प्रत्यारोपण व्यवस्थित गर्न कानुनी व्यवस्था पनि रहेको छ ।
मानव शरीरको अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनमा २०७२ सालमा संशोधन गरी नातेदार दाताको दायरा विस्तार गर्नुका साथै गैरनातेदारबिच अङ्ग साटासाट र मस्तिष्क मृत्युपछि हुने अङ्गदानलाई थप व्यवस्थित गर्ने व्यवस्था गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा विश्वभर करिब एक लाख २७ हजार ७२७ अङ्ग प्रत्यारोपण गरिएको थियो ।
यसैबीच बिहीबार विश्व अङ्गदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष अगस्त १३ मा यो दिवस मनाइन्छ । अङ्गदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने यो दिवस नेपालका लागि मृत्युपछि हुने अङ्गदानलाई प्रोत्साहित गर्ने उद्देश्यले मनाउन लागिएको हो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




