झापाका लागि लाखौँको औषधि खरिद

झापा, २० माघ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क औषधि वितरणका लागि ३६ प्रकारका औषधि खरिद गरेको छ ।

चालु आर्थिक वर्ष २०७३/७४ मा बोलपत्रमार्फत रु ५८ लाख २४ हजार नौसय ९९ बराबरको औषधि कार्यालयले खरिद गरेको हो । निःशुल्क वितरण गरिने अत्यावश्यक औषधिको अभाव हुन नदिन औषधि खरिद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूधन कोइरालाले बताए ।

औषधि खरिदसँगै झापामा औषधि अभाव नभएको उनले बताए। खरिद गरिएको औषधि ५८ प्राथमिक स्वास्थ्य चौकी र ३८ वटा स्वास्थ्य चौकीमा पठाइएको कार्यालयका स्टोर किपर रमेश खतिवडाले जानकारी दिए । औषधिको अभाव नभए पनि १७ सहरी र तीनवटा सामुदायिक स्वास्थ्य संस्था थपिएकाले वितरणमा केही समस्या भएको खतिवडाको भनाइ छ ।

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निःशुल्क दिने घोषणा गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *