विभिन्न परिषद्, गंगालाल अस्पताल र स्वास्थ्य बीमा बोर्डमा नेतृत्व गर्ने अवसर, ईच्छुकले १० दिन भित्र आवेदन दिनुपर्ने

काठमाडौँ, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदाधिकारीहरु पदपूर्तिको प्रक्रिया अघि बढाएको छ ।
दुई साता अघि पदपूर्ति सम्वन्धी प्रक्रिया अघि बढेको भन्दै आवेदन माग गरेको मन्त्रालयले आकस्मिक रुपमा तीन दिन पछि रद्ध गरेको थियो ।
यसपटक भने मुख्य मुख्य पदाधिकारीको लागि मात्रै आवेदन माग गरिएको छ ।
आवेदन माग गरिएका पदहरुमा नेपाल आयुर्वेद चिकित्सा परिषदमा अध्यक्ष र रजिष्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य ७ र सदस्य सचिव १ जना, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिष्ट्रार पदमा आवेदन माग गरिएको छ ।
यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अध्यक्ष र रजिष्ट्रार, नेपाल फार्मेसी परिषद्मा अध्यक्ष र रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिष्ट्रार पदका लागि आवेदन माग गरिएको छ ।
यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरिएको छ ।
यसपटक धेरै परिषदहरुमा सदस्यहरुको आवेदन खोलिएको छैन । मुख्य पदाधिकारीहरु नियुक्त भईसके पछि उनीहरुको सिफारिस बमोजिम नयाँ सदस्यहरु तोक्ने तयारीमा मन्त्रालय रहेको बुझिएको छ ।
मन्त्रालयले उल्लेखित पदहरुमा १० दिन भित्र आवेदन गर्न भनेको छ ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

