रुघाखोकी, कोभिड देखि एलर्जीसम्म जोगाउने ‘बहुप्रभावी खोप’ विकासमा ठूलो प्रगति

100
Shares

एजेन्सी । अमेरिकी वैज्ञानिकहरूले सबै प्रकारका रुघाखोकी, फ्लु, कोभिड र फोक्सोमा हुने ब्याक्टेरियल संक्रमण विरुद्ध सुरक्षा दिने नयाँ किसिमको खोप (नाजल स्प्रे) विकास भएको दाबी गरेका छन् ।

बहु प्रभावी खोपको रुपमा चित्रित गरिएको यो भ्याक्सिनले भविस्यमा एलर्जीको समस्यालाई समेत काम गर्न सक्ने बताइएको छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले विकास गरेको यो खोपले परम्परागत खोपहरूले जस्तो शरीरलाई कुनै एउटा निश्चित संक्रमणसँग लड्न मात्र तालीम दिँदैन, बरु शरीरको प्रतिरक्षा प्रणालीलाई नै सधैँ ‘अलर्ट’ अवस्थामा राख्ने बीबीसीको समाचारमा उल्लेख छ ।

यो अनुसन्धानलाई चिकित्सा विज्ञानमा २०० वर्षयताकै ठूलो परिवर्तन मानिएको छ। नाकबाट दिइने यो स्प्रेले फोक्सोमा रहेका सेता रक्तकोषिका (म्याक्रोफेज) लाई सक्रिय बनाउँछ, जसले गर्दा कुनै पनि भाइरस वा ब्याक्टेरियाले आक्रमण गर्ने बित्तिकै शरीरले तत्काल प्रतिकार गर्छ।

मुसामा गरिएको परीक्षणमा यस खोपको प्रभाव करिब तीन महिनासम्म देखिएको र यसले भाइरसको संक्रमणलाई एक हजार गुणासम्म कम गरेको पाइएको छ।

विज्ञहरूले यस उपलब्धिलाई ‘अत्यन्तै उत्साहजनक’ र ‘ठूलो फड्को’ भनेका छन्।

यद्यपि, यो खोपको मानिसमा परीक्षण हुन अझै बाँकी छ। अनुसन्धानकर्ता डा. बाली पुलेन्द्रनका अनुसार, यदि यो मानिसमा सफल भयो भने भविष्यमा आउन सक्ने नयाँ महामारी र हिउँदमा लाग्ने मौसमी रुघाखोकी विरुद्ध लड्न यसले निकै ठूलो सहयोग पुर्‍याउनेछ।

‘यदि यो खोप मानवमा पनि प्रभावकारी सावित भएमा हरेक वर्ष विभिन्न रोगविरुद्ध छुट्टाछुट्टै खोप लगाउनुपर्ने झन्झट हट्न सक्छ। जाडोयाम सुरु हुनुअघि नाक स्प्रे प्रयोग गर्दा धेरै प्रकारका श्वासप्रश्वाससम्बन्धी रोगबाट एकैचोटि सुरक्षा मिल्ने सम्भावना रहेको छ,’ उनले भने ।

तर, प्रतिरक्षा प्रणालीलाई सधैँ उच्च सतर्कतामा राख्दा शरीरमा कुनै नकारात्मक असर पर्छ कि पर्दैन भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन्।

‘सुरुमा सुरक्षासम्बन्धी परीक्षण गरिनेछ र त्यसपछि ठूलो समूहमा प्रभावकारिता जाँचिनेछ। पर्याप्त बजेट र सफल परीक्षण भएमा पाँचदेखि सात वर्षभित्र यो खोप सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ,’। अनुसन्धानकर्ता डा.  पुलेन्द्रनले भने ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *