डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानिज इन्सेफलाइटिस’बारे अभिमुखीकरण
के हो जापानिज इन्सेफलाइटिस ? कसरी जोगिने ?
काठमाडौँ, २७ साउन । विज्ञहरुका अनुसार अझै तीन महिना अर्थात कात्तिकसम्म नेपालमा जापानिज इन्सेफलाइटिस अर्थात मस्तिष्क ज्वरोको संक्रमण बढी देखिन सक्छ । जापानिज इन्सेफलाइटिस भाइरस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने यो रोगको समयमै पहिचान गरी उपचार गर्न सकनौँ भने ठूलो क्षतिले ठूलो क्षति हुन सक्छ ।
किनभने रोगको समयमै पहिचान तथा उपचार भएन र गम्भीर अवस्थामा पुग्यो भने, मस्तिष्क सुन्निने, पक्षघात, बेहोस हुने, कोमामा जाने वा मृत्यु हुने सम्मको अवस्था पुग्न सक्छ । हुन पनि यसको मृत्यु दर ३० प्रतिशत सम्म रहेको छ ।
स्वास्थ्य जोखिमका विषयहरुमा स्वास्थ्य पत्रकारहरुलाई अभिमुखीकरण गर्न स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)संग सहकार्य गर्दै आइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले चौथो श्रृङ्खला अन्तर्गत सोमबार जापानिज इन्सेफलाइटिस रोगबारे जानकारी दिएको थियो ।
डब्लुएचओ सर्भिलेन्स अफिसर डा. सोनिया भगतका अनुसार लामखुट्टेले संक्रमित सुँगुर बंगुर, हाँस, बकुल्ला, वा जंगली चराहरुलाई टोकेर मानिसलाई टोक्दा यो रोग सर्छ । तर सिधै एउटा मासिनबाट अर्को मानिसमा भने सर्दैन । यो रोगको प्रमुख बाहक क्युलेक्स जातको लामखुट्टे हो । जो खैरो रङको र लामा खुट्टा भएको हुन्छ । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय देखिन्छ । उनले धानखेत तथा पानी भएका तथा पानी जमेका क्षेत्रहरु, सुँगुर तथा हाँस फर्म नजिक भएका बस्तिहरु बढी जोखिमयुक्त भएको समेत बताईन् ।
जापानीज इन्सेफलाइटिसको लक्षणहरु कस्ता ?
डा. भगतका अनुसार ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु, कमजोरी महसुस हुनु जेईका सामान्य लक्षण हुन् । तर उच्च ज्वरो (१०२ डिग्री फरेनहाइट भन्दा बढी), टाउको बेस्सरी दुख्नु, शरीरमा कम्पन हुनु, अर्ध चेत वा बेहोस हुनु, शारीरिक कमजोरी वा पक्षघात हुनु वा कोमा पुग्नु यसका गम्भीर लक्षण हुन् ।
सामान्य साधारण लक्षणहरु हुन्छन् । त्यो भनेको सामान्य ज्वरो आउने र टाउको दुख्ने हुन्छ । कतिमा त्यो रोग लागेको लक्षण पनि देखिदैन । उनी अगाडी थप्छिन् यदि कुनै समुदायमा एक जना जापानिज इन्सेफलाइटिसको गम्भीर संक्रमणमा परेका छन् भने त्यहाँ वरपरका २५० बढीलाई त्यसको संक्रमण भएको हुनसक्छ ।
जेई को ४ देखि १४ दिन यसको इन्कुवेसन पिरियड हुन्छ । कुल संक्रमितमध्ये ७५ प्रतिशत बालबालिका हुने गरेका छन् ।
सरकारले के गर्दैछ ?
त्यसो त अहिले सरकारले शिशु जन्मेको १२ महिनामा जापानिज इन्सेफलाइटिसबिरुद्धको जेई खोप दिने गरेको छ । यदि १२ महिनामा छुट्यो भने ५ वर्षसम्मका बालबालिकाहरुलाई यो खोप दिने गरेको छ । सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राखेर सिंगल डोजको यो खोप दिने गरेको हो । यद्धपी बयस्क तथा पौड उमेरहरुका यो सुविधा छैन । तर निजी स्वास्थ्य संस्थाहरुमा बयस्क तथा पौड उमेरका व्यक्तिका लागि सशुल्क रुपमा खोप उपलव्ध छ ।
डब्लुएचओका अनुसार नेपालमा सन् २०२५ मा मात्रै ३४ जनामा जेई संक्रमण देखिएको छ । ती मध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै १५ वर्ष माथिका व्यक्तिहरु हुन् । नेपालमा साउन देखि कात्तिक महिना जेई संक्रमणको बढी जोखिम हुने महिनाको रुपमा लिईने गरिएको छ । यो समय भर्खरै सुरु भएकोले पनि आवश्यक सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
कसरी जोगिने ?
यो संक्रमणबाट जोगिनका लागि पनि लामखुट्टेको टोकाईबाट जोगिनु महत्वपूर्ण हुन्छ । त्यसका लागि लामखुट्टेको बासस्थान भएका तिर नजाने, आफू बसेको स्थान, झाडी, खाल्टा खुल्टी, पानी जमेको ठाउँ छन् भने त्यसलाई सफा गरिदिने । घर बस्ती नजिकै सुँगुर बंगुर तथा हाँस बकुल्ला फार्महरु नराख्ने गर्नु पर्छ ।
यस्तै अर्को महत्वपूर्ण कार्य भनेको जेई खोप लगाउनु हो । बालबालिकाहरुलाई सरकारले निशुल्क रुपमा जेई खोपको उपलव्ध गराएको छ ।
यस्तै शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने धुपको प्रयोग गर्ने कार्यले पनि टोकाईबाट जोगिन सकिन्छ ।
स्वास्थ्य पत्रकारहरुलाई सर्भिलेन्स अफिसर डा. भगतले बिस्तृत रुपमा जापानिज इन्सेफलाइटिसबारे बताई रहँदा डब्लुएचओका इमुनाइजेसन तथा सर्भिलेन्स अफिसर डा. राहुल प्रधान र डा. पासाङ राईले थप जानकारी दिएर उनलाई सघाईरहेका थिए ।
त्यसअघि बोल्दै डब्लुएचओ नेपालका इमुनाइजेसन प्रिभेन्टेवल डिजिजेज(आईपीडी) टिम लिडर डा. बलविन्दर सिंह चावलाले कार्यक्रमको उदेश्यबारेमा बताएका थिए । उनले जनचेतनाको अभावमा नागरिकहरु रोकथाम गर्न सकिने संक्रमणमा परिरहेको भन्दै यसमा स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले नागरिकसम्म सचेतनाका विषयहरु सहि रुपमा पुगोस भनेर नै स्वास्थ्य पत्रकार मञ्चसंग सहकार्य गर्दै पत्रकार अभिमुखीकरण कार्यक्रम राखिएको बताए ।
हुन पनि पत्रकारहरुलाई रोगका विभिन्न विषयमा अभिमुखीकरण गर्ने क्रममा डब्लुएचओ नेपालले स्वास्थ्य पत्रकार मञ्च नेपालसंग सहकार्य गर्दै सडक दुर्घटना न्युनिकरण, डेंगी रोग, मानसिक स्वास्थ्य हुँदै जापानिज इन्सेफलाइटिसका विषय उठाई सकेको छ ।
मञ्चका अध्यक्ष भिषा काफ्लेले पत्रकारहरुलाई प्राविधिक ज्ञान तथा क्षमता अभिबृद्धिका लागि डब्लुएचओसंग सहकार्य गरेको भन्दै यसलाई निरन्तरता दिएर अघि बढ्ने बताए ।
कार्यक्रमको सहजीकरण डब्लुएचओको नेशनल मिडिया एण्ड कम्युनिकेशन अफिसर छिरिङ गुरुङले गरेकी थिईन् ।
सम्पर्क इमेल : [email protected]