प्रक्रिया पुरा नगरी औषधीको मूल्यबृद्धि गरेको आरोपमाथिको छानविन:

सात दिनमा रिपोर्ट दिनु भन्ने समितिलाई १० दिनसम्म कार्यादेश नै दिइएन

88
Shares

काठमाडौँ, ७ बैशाख । औषधी व्यवस्था विभागका तत्कालिन महानिर्देशक नारायणप्रसाद ढकालले प्रचलित कानूनले तोकेको प्रक्रिया पुरा नगरी औषधीको मूल्य बढाएको भन्ने आरोपको सम्वन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन दिने समय गुजारेको तीन दिन भईसक्यो ।

तर, उनीहरुलाई काम सुरु गर्नु भनेर अहिलेसम्म कार्यादेश उल्लेख भएको पत्र दिइएको छैन । पत्र नै नपाएपछि उनीहरुले आजको दिनसम्म छानविनको काम अघि बढाएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गत २७ चैतमा औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालले ‘प्रचलित कानूनले तोकेको प्रक्रिया पुरा नगरी औषधीको मूल्य बढाएको हो होईन ? ’ भनेर छानविन गर्न अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेकी थिईन । उक्त समितिमा मन्त्रालयकै कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञको रुपमा रुपन्देहीका कविन मलेगुलाई सदस्य तोकिएको थियो ।

सो समितिलाई ७ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको थियो । सो अनुसार समितिले छानविन गरी गत शुक्रबार नै प्रतिवेदन बुझाई सक्नु पर्दथ्यो ।

समितिका संयोजक डा. श्रेष्ठले आफूलाई पत्र आई नपुगेको बताए । ‘समिति गठन त भयो तर हामीलाई टिओआर सहितको पत्र त आउनु पर्‍यो, त्यो आउन बाँकी नै छ । त्यसैले काम अघि बढ्न सकेको छैन,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्मा भने यस विषयमा स्पष्ट जवाफ दिन चाहेनन् । ‘तपाईँहरुले रिपोर्ट बारे थाहा पाउनु हुन्छ । हामीले सिस्टमेटिक रुपमा सबै कुरा सार्वजनिक गर्ने छौँ,’ उनले भने ।

‘सात दिन म्याद दिइएको समितिलाई १० दिनसम्म किन पत्र नदिइएको ?’ भन्ने प्रश्नमा पनि उनले जवाफ दिन चाहेनन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट छानविन समितिकै विषयमा थप पुनरावलोकन गर्ने कि भनेर होल्ड गरिएको छ ।

यसअघि नै प्रधानमन्त्री कार्यालयले मन्त्रालय बाहिरबाट स्वतन्त्र विज्ञलाई राखेर समिति गठन गरी रिपोर्ट तयार गर्ने व्यवस्था मिलाउनु भन्ने निर्देशन दिएको थियो । तर मन्त्रालयले निर्देशन अवज्ञा जस्तै गरयो । फल स्वरुप छानविन समितिको काम अघि बढ्न सकेको छैन ।

औषधीको मूल्यमा सन्दर्भमा उजुरी परेको भन्दै प्रधानमन्त्री कार्यालयले जिम्मेवारीबाट हटाई छानविन प्रक्रिया अघि बढाउनु भनेपछि स्वास्थ्य मन्त्रालयले गत २६ चैतमै विभागका तत्कालीन महानिर्देशक ढकाललाई मन्त्रालय तानेको हो । अहिले विभागमा निमित्त महानिर्देशक रुपमा शिवानी खड्गीले नेतृत्व गर्दैछिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *