नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स खारेज

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको नाम दर्ता (लाइसेन्स) दर्ता किताबबाट हटाएको छ ।
नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका उनीहरुको लाइसेन्स खारेज गरेको हो ।
‘नेपाली नागरिकता त्यागेर विदेशी नागरिक भई सकेपछि नेपाली चिकित्सकको सूचीमा राख्न मिलेन । त्यसैले हामीले काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ र काउन्सिलको निर्णय अनुसार हटाएका हौँ,’ काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले भने, ‘यो निर्णय आज देखि नै लागू हुन्छ ।’
काउन्सिलले लाइसेन्स खारेजी गरेका १७ जना चिकित्सकहरु हङकङ, अस्टे्रलिया, अमेरिका, बेलायत, पोर्चुगल, क्यानडा र भातरका नागरिक बनेका छन् ।
नेपालको लाइसेन्स खारेजीमा पर्ने चिकित्सक को को हुन् ?

काउन्सिलको आक्रामक प्रस्तुति
नेपाल मेडिकल काउन्सिल अहिलेको रुपमा सम्भवत यसअघि कहिल्यै प्रस्तुत भएको थिएन । चिकित्सकको नियमन गर्ने देखि अनुगमन तथा कार्वाहीको सिफारिस गर्ने सम्मका काम गर्ने जिम्मा पाएको काउन्सिल यसअघि निरिह जस्तै देखिन्थ्यो । कुनै डाक्टरलाई स्पष्टीकरण सोधे पनि रिपोर्ट प्राय सार्वजनिक गर्दैनथ्यो । अहिले भने सामाजिक सञ्जालको भिडियो, अनलाइन सञ्चारमाध्यम जहाँ जे जस्ता घटना देखिन्छ , तत्काल नै एक्सन लिने गरेको छ ।
काउन्सिलको उपाध्यक्ष्य सहित ८ सदस्यको निर्वाचन पछि काउन्सिलमा सुधार देखिएको हो । त्यसपछि आएको बालेन्द्र शाह नेतृत्वको बर्तमान सरकारको प्रभाव पनि काउन्सिलमा स्पष्टसंग देखिएको छ ।
‘काउन्सिलमा यसपटक उपाध्यक्ष सहित सदस्यहरु प्राय फ्रेस र विगतमा विसंगतीबिरुद्ध आवाज उठाउँदै आएको समूह छ । उनीहरुले काम ड्याङ डुङ हानि हाल्ने हो भन्ने खालका छन् । त्यसमाथि बर्तमान सरकारको युवा टिमको जोश जाँगरको प्रभाव पनि हुने भयो । काउन्सिलका एक पूर्व सदस्यले भने । उनले यसअघि काउन्सिललाई यस्ता लाइसेन्स खारेज गर्न भन्ने कुरा आउँदा संगसंगै खबरदार भन्ने धम्की समेत आउथ्यो । यसपटक त्यो छैन । काउन्सिलका आँटिला पदाधिकारी तथा कर्मचारीले यसलाई अघि बढाएका छन्,’ ती पूर्व सदस्यले भने ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

