बौरिने क्रममा सिंहदरबार वैद्यखाना

764
Shares
सिंहदरबार वैद्यखानाबाट उत्पादित औषधीहरु

काठमाडौँ, १६ साउन । त्यसो त सिंहदरबार वैद्यखाना आर्थिक रुपले अहिले पनि घाटामै छ । खर्चको भार आम्दानीको तुलनामा झण्डै दोब्बर नै छ । तर, पनि वैद्यखानामा सुधारका रेखाहरु देखिन थालेका छन् । यहि ‘स्पिरिट’मा चल्ने बातावरण भयो भने आउँदो वर्ष वैद्यखानाले धेरै वर्ष अघि देखिको घाटाबाट फड्किएर नाफाको बाटोमा जाने देखिएको छ ।

वैद्यखानाको पछिल्लो प्रगतिबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. प्रदीप केसीले विगतको साख, वर्तमान समस्या र भागी सोचहरुका बारेमा प्रस्तुति दिएका थिए ।

उनको सो प्रस्तुतिकरणमा वैद्यखानाले सुधारका प्रसस्त हरियो रेखा समातेको देखिएको छ ।

वैद्यखानाले आव २०८१/८२ मा दुई करोड ९० लाख ९४ हजार ५३९ रुपैयाँ आम्दानी गरेको छ तर सोही वर्ष खर्च चार करोड ९५ लाख ९८ हजार ९२२ रुपैयाँ भएको छ ।

‘अहिले घाटा नै देखिए पनि अब यो छिटै सुधार हुन्छ । किनभने वैद्यखानाले गरेको यो आम्दानीको अधिकांश हिस्सा आर्थिक वर्ष सकिने बेलाका अन्तिम दुई महिना (जेठ असार)का हुन् । अब हामीसंग उत्पादन पनि यथेष्ट छ । यति गतिमा काम गर्न सकियो भने चालु आर्थिक वर्ष सकिदा वैद्यखानाको आम्दानीको ग्राफले खर्चलाई तल छाड्छ भन्ने विश्वास छ,’ निर्देशक डा. केसीले भने ।

डा. केसी वैद्यखानासंग जोडिएको २०८० माघबाट हो । सुरुका केही महिना आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेपछि कात्तिक २०८१ देखि उनलाई वैद्यखाना पठाइएको हो ।

‘आउँदा अवस्था अलि गाह्रो नै थियो । तर बोर्ड, कर्मचारी, मन्त्रालय सबैको सहयोगबाट विस्तारै उत्पादन बढाउँदै गयौँ । हामीले आर्थिक वर्ष २०८१ /०८२ को अन्तिममा आईपुग्दा ४० प्रकारका ५३ व्राण्डका उत्पादन गर्न सफल भयौँ । अब केही दिनमै थप १० ब्राण्ड आउँदै छ भने केही महिना भित्र थप १३ ब्राण्डले बजार लिदैछ,’ डा. केसीले वैद्यखाना सुधारात्मक अवस्थातर्फ लम्किएको संकेत गरे ।

हुन पनि वैद्यखानामा २०८०/८१ मा एक करोड ४८ लाख ४४ हजार ९०१ आम्दानी र पाँच करोड ५२ लाख ४४ हजार ६२५ रुपैयाँ खर्च थियो ।

कार्यकारी निर्देशक डा केसीका अनुसार गत आर्थिक वर्षमा अविपत्तिकर चूर्ण, अश्वगन्धा चूर्ण, पञ्चसकार चूर्ण, यष्ठमधू चूर्ण, शतावरी ग्रानुल्स, सन्दीपन चूर्ण, सितोपलादि चूर्ण, हरिद्रा खण्ड, हिग्वाष्टक चूर्ण, त्रिफला चूर्णसहित ५३ प्रकारका आयुर्वेदिक औषधी उत्पादन भईसकेको छ ।

यस्तै गत आ.व.कै लक्ष्य अनुसार गोक्षुरादी गुग्गुलु, लाक्षा गुग्गुलु, गन्धक रसायन, चन्द्रोदय, प्रवाल पञ्चामृत, बृहतवातचिन्तामणि रस, वसन्तकुसुमाकर रस, मकरध्वज, रससिन्दुर र स्वर्ण वसन्त मालती रस लगागत १० प्रकारका औषधी उत्पादनको क्रममा रहेको छ ।

डा. केसीले अगाडी थपे ‘आव २०८१/८२ मै निर्धारित लक्ष्य अनुसार विपादीकान्त मलहम, शक्तिवर्धक योग, निम्वादी तेल, कफइन्ड, लिभकेयर, अशोकारिस्ट, अश्वगन्धारिस्ट, दशमुलारिस्ट, अर्जुनारिस्ट, अर्शकुठार रस, डाइबियर, श्वेतपर्पटी र टङ्कण भष्म चाँडै उत्पादन सुरु गरिने छ । हाम्रो लक्ष्य अनुसार काम गर्न केही प्राविधिक चुनौती छन् । तथापि हामी लक्ष्यप्रति दृढ छौँ ।’

डा.  केसीले यो सुधारमा  वैद्यखानाका कर्मचारीहरुको अथक मेहनत रहेको पटक – पटक दोहोर्‍याए । यस्तै विकास समिति सदस्यहरुको सहयोग, विभागीय मन्त्रीको निर्देशनले पनि काममा उर्जा थपेको उल्लेख गरे ।

मल्लकालीन शासनमा तत्कालीन शासक प्रताप मल्लले १६ औँ शताब्दीमा हनुमानढोका दरबारमा स्थापना गर्नुभएको थियो ।

विसं १९०४ मा जङ्गबहादुर राणाले थापाथलीमा सारेको र १९९० मा थापाथलीमा आगलागीपश्चात् जुद्धशमशेरले सिंहदरबारमा सारेपछि सिंहदरबार वैद्यखाना नाम राखिएको इतिहास पाइन्छ ।

२०१६ सालदेखि जिल्ला औषधालयमा औषधी पठाउने व्यवस्था रहेको र २०५१ सालमा सिंहदरबार वैद्यखाना विकास समितिमा परिणत गरी २०५२ साउन ८ गतेदेखि समिति अन्तर्गत सञ्चालित छ ।

ठेकेदारले समयमा कच्चा पदार्थ उपलव्ध नगराउने, दक्ष जनशक्तिको अभाव र नेतृत्व छिटो छिटो परिवर्तन भईरहने समस्याले वैद्यखाना यो अवस्थामा पुगेको देखिन्छ ।

सरकारले यी तीन कुरालाई ध्यान दिएर आवश्यक निर्णय लिन सकेमा ऐतिहासिक वैद्यखानाको हराउँदै गएको विरासत सहज रुपमा फर्कने निश्चित  छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *