करारका डाक्टर छनौट गर्दा अब बैकल्पिक समेत शत-प्रतिशत !

काठमाडौँ, १० कात्तिक – स्वास्थ्य मन्त्रालयले करारका डाक्टर छनौट गर्दा बैकल्पिक सूचिमा सतप्रतिशत डाक्टर राख्ने भएको छ । तोकिएको समयमा सम्पर्क गर्न नआए वा तोकिएको ठाँउमा नपुगे प्रतिक्षा सूचीमा रहेका बैकल्पिक डाक्टरलाई खटाउने तयारी गरेको छ ।
मन्त्रालयका उपसचिव बाबुराम खनालले स्वास्थ्यकर्मी करार पदपूर्ति निर्देशिका २०७२ ले बैकल्पिक सूचीमा रहने २५ प्रतिशतलाई संसोधन गरी सत प्रतिशत पुरयाएको भन्दै कुनै डाक्टरले निर्देशन पालना गर्न आनाकानी गरेमा तत्काल प्रतिक्षासूचीको डाक्टरले अवसर पाउने बताए । निर्देशिकाले नतिजा आएको सात दिन भित्र सम्वन्धीत निकायमा सम्पर्क गर्न र थप सात दिन भित्र कार्यक्षेत्रमा पुग्न निर्देश गरेको छ ।
उता विभागका महानिर्देशक डा पुष्पा चौधरीले छात्रबृत्ति करार निर्देशिका समेत संसोधन गर्न लागिएको बताइन् । उनले पहूँचको आधारमा कतिपयले सुगमस्थानमा रोज्ने र दुर्गम स्थानमा जान नमान्ने परिपाटीलाई अन्त गर्न यस्तो व्यवस्थ ागर्न लागिएको बताइन् । ‘जहाँ सुगम छ त्यहाँ आवश्यक भन्दा बढी डाक्टर हुने र जहाँ दुर्गम छ जहाँ आवश्यक पनि छ त्यहाँ डाक्टर नपुग्ने परिपाटी थियो । त्यसलाई कडाई गर्न हामीले निर्देशिका संसोधन गर्दैछौँ ।’
विभागका उपसचिव तारानाथ लुइटेलले डाक्टर हुनुपर्ने स्वास्थ्य संस्थामा नपुग्ने प्रबृत्तिको अन्त्य गर्न निर्देशिका संसोधन गर्न खोजिएको बताए ।
छात्रबृत्तिमा अध्ययन गरेका डाक्टरले कम्तीमा दुई बर्ष सरकारले खटाएकै स्थानमा गएर काम गर्नुपर्छ ।
उपसचिव लुईटेलले हरेक बर्ष औषत दुई सय जना छात्रबृत्तिका डाक्टर उत्पादन हुने र दुई बर्ष काम गर्ने व्यवस्थाले देशभर करीब ४ सय डाक्टर परिचालन हुने गरेको बताए । त्यसबाहेक यसपटक मन्त्रालयले एक सय डाक्टर पुल दरबन्दीको रुपमा रहने गरि व्यवस्था माग गरेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



