मनमोहन अधिकारीदेखि निर्मल लामासम्मले गरेका थिए आँखादान
काठमाडौँ, २९ असोज – नेपालमा आँखादान सुरु भएको २२ वर्षमा करिब १२ हजार दृष्टिविहीनले संसार देख्न पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांकअनुसार हालसम्म ११ हजार नौ सय ८० दृष्टिविहीनमा आँखाको नानी प्रत्यारोपण गरिएको छ ।
आँखा दान गरेका व्यक्तिको मृत्युपछि आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिन्छ । आँखा दान गर्ने ११ हजार दुई सय १७ नेपाली नागरिक छन् । त्यस्तै, सात सय ६३ विदेशी नागरिकले आफ्नै देशबाट सहयोगस्वरूप आँखाका नानी नेपाली दृष्टिविहीनलाई उपलब्ध गराएका छन् ।
९६ प्रतिशत प्रत्यारोपण सफल
हालसम्म आँखा प्रत्यारोपण गरिएकामध्ये ९६ प्रतिशतमा सफल भएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । चार प्रतिशत पनि प्रत्यारोपण गरिएका व्यक्तिले चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दा समस्या हुने गरेको आई बैंकका व्यवस्थापक पंखनारायण त्वाएनाले बताए । प्रत्यारोपणपछि लामो समयसम्म अस्पतालमा नै बसेर उपचार गराउनुपर्नेमा हतार गरेर घर जाने र औषधिको राम्रोसँग प्रयोग नगर्नेहरूमा समस्या देखिएको उनले बताए ।
उपत्यकामा ८० प्रतिशत संकलन
मृत्युपश्चात् आँखा संकलन गरिएका ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका छन् । उपत्यकाबाहिरबाट २० प्रतिशत आँखा संकलन भएको बैंकले जनाएको छ ।
काठमाडौंबाहिर विराटनगर, पोखरा, कैलाली र वीरगन्जमा आँखा संकलन केन्द्र छन् । संकलित आँखा आवश्यकताअनुसार प्रत्यारोपण गर्ने पूर्वाधार भएका सबै जिल्लामा पठाइने गरेको त्वाएनाले बताए ।
प्रत्यारोपण गर्न को पर्छन् प्राथमिकतामा ?
चिकित्सकले आँखाको नानी प्रत्यारोपण गर्न सल्लाह दिएका बिरामीलाई तिलगंगाले सूचीकृत गर्ने गरेको छ । तीमध्ये कम उमेरको, गरिब, दुर्गमको र असहाय परिवारकोलाई प्राथमिकतामा राख्ने गरिन्छ ।
दानकर्ताको मृत्युपश्चात् परिवारका सदस्यले प्रत्यारोपणका लागि सहमति दिएको तीन दिनभित्र प्राथमिकतामा राखिएको दृष्टिविहीनमा प्रत्यारोपण गर्ने गरिएको आई बैंकका व्यवस्थापक त्वाएनाले बताए । उनका अनुसार प्रत्यारोपण गरिने व्यक्ति तत्काल उपस्थित नभएमा १५ दिनसम्म आँखा जोगाएर राख्ने प्रविधि नेपालमा छ ।
कस्ता बिरामीमा हुन्छ प्रत्यारोपण
तिलगंगाकी आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. लिना बज्राचार्यका अनुसार जुन मानिसको नानीको माथिल्लो पारदर्शी भागमा फुलो परेको छ उनीहरूको नानी प्रत्यारोपण गरिन्छ । त्यस्तो फुलोले गर्दा प्रकाशभित्र जान पाउँदैन र मानिसमा अन्धोपना हुन्छ । आँखामा हुने संक्रमण, चोटपटक लागेर, साना केटाकेटीमा भिटामिन ए प्रोटिनको समस्याले पनि फुलो पर्ने गर्छ ।
आँखादान गर्न ५४ हजार इच्छुक
हालसम्म नेपालमा आँखादान गर्न इच्छापत्रमा सही गर्नेको संख्या ५३ हजार ६ सय पुगेको छ । तर, दान गर्नेमध्ये उपत्यकामा मृत्यु भएकाको मात्र आँखा निकाल्न सहज हुने गरेको छ । मृत्यु भएको खबर नपाइँदा सबै दानकर्ताको आँखा निकाल्न समस्या हुने गरेको तिलगंगाको आई बैंक व्यवस्थापक त्वाएनाले बताए ।
आँखादान गर्नेहरू दुर्गम स्थानका पनि धेरै छन् । उनीहरूको परिवारबाट मृत्यु भएको जानकारी नआउँदासम्म आफूहरूलाई थाहा नहुने त्वाएनाले बताए । ‘आँखादान गर्छु भनेर इच्छापत्र दिनेमध्ये कतिपय दुर्गम स्थानमा पनि हुनुहुन्छ, सबैको मृत्यु भएको हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘नियमित सम्पर्कमा रहन पनि नैतिक रूपमा मिल्दैन, जसको परिवारबाट जानकारी आउँछ त्यहाँ हामी पुग्ने गरेका छौँ ।’
यीनले पनि गरेका थिए आँखादान
पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले पनि आँखादान गरेका थिए । मृत्युपश्चात् उनको आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिएको थियो ।
त्यस्तै, कम्युनिस्ट नेता निर्मल लामा, साहित्यकार केदारमान व्यथित, सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेती, साहित्यकार जगदीश घिमिरे, अभिनेत्री शान्ति मास्के, हास्य कलाकार हरिवंश आचार्यकी प्रथम पत्नी मिरा आचार्य, पूर्वप्रधानमन्त्री माधव नेपालका पिता मंगलकुमार उपाध्यायले पनि मृत्युपश्चात् आँखादान गरेका थिए ।
यिनले पनि गरेका छन् इच्छा
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल र कीर्तिनिधि विष्ट, पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी, एमाले नेता प्रदीप नेपाल, कलाकारहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, करिश्मा मानन्धरलगायतले पनि मृत्युपछि आँखादान गर्ने इच्छापत्रमा स्वीकृति दिइसकेका छन् ।
पूरै अंगदान गर्ने ११ सयभन्दा बढी
नेपालमा आँखा, मिर्गौला र बोनम्यारो प्रत्यारोपण मात्र गर्न सक्ने कानुन छ । १० महिनाअघि मानिसको मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपणसम्बन्धी नयाँ ऐन ल्याइएको छ । सो ऐनमा मस्तिष्क मृत्यु भइसकेका मानिसबाट विभिन्न अंग निकालेर आवश्यक परेको मानिसमा प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिएको छ । तर, ऐन कार्यान्वयन गर्ने कानुन अझै बनाइएका छैनन् ।
नयाँ ऐन आएपछि शरीरका सबै अंग दान गर्नेको संख्या एक हजार एक सय १६ पुगेको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका अनुसार मस्तिष्क मृत्युपछि अंगदान गर्नेको तुलनामा कुनै अंग आफूलाई चाहियो भन्नेको संख्या धेरै कम छ । ‘अंग चाहियो’ भनेर निवेदन दिनेको संख्या एक सय १५ मात्रै छ । तीमध्ये मिर्गौलापीडित धेरै छन् ।
- आजको नयाँ पत्रिकामा भिषा काफ्लेको समाचार
सम्पर्क इमेल : nepalihealthnews@gmail.com