विपन्न नागरिकको औषधी उपचार गरेका १०२ वटा स्वास्थ्यलाई साढे २७ करोड भुक्तानी
स्वास्थ्य मन्त्रालयबाट बीमा बोर्डका लागि रकमान्तर गरेको एक अर्ब बढी रकम आज वितरण हुँदै

काठमाडौँ, १३ जेठ । स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिकको औषधी उपचार ( डायलासिस सेवा, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर आदि) गरेका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई गत कात्तिक मसान्त सम्मको रकम सोधभर्ना गरेको छ ।
बोर्डले कागजात पुरा भएका १०२ वटा स्वास्थ्य संस्थाहरुले पेश गरेको दावीमा स्वीकृत भएको कुल २७ करोड ४९ लाख ८ हजार ४९ रुपैयाँ गत ८ जेठमै उनीहरुको बैंक खातामा भुक्तानी गरिदिएको जनाएको छ । यद्धपी चार वटा स्वास्थ्य संस्थाको खाता नम्बर नमिलेर भुक्तानी फिर्ता आएको समेत विवरण प्रकाशित गरेको छ ।
सरकारले स्वास्थ्य सेवा विभागबाट वितरण हुँदै आएको विपन्न उपचार कोषको रकम वितरणको जिम्मा पनि स्वास्थ्य बीमा बोर्डलाई दिएको छ । लामो समय देखि बीमाको रकम सोधभर्ना नभएको भन्दै आत्तिएका सेवा प्रदायक संस्थाहरुले बोर्डतिर सरेपछि विपन्नको रकम पनि रोकिएको गुनासो गर्दै आएका थिए ।
यसपटक वितरण भएको रकमले भने सेवा प्रदायक संस्थाहरुलाई केही राहत हुने देखिएको छ ।
स्वास्थ्य बीमाको एक अर्व बढी रकम आज वितरण हुँदै
यसैबीच बोर्डले स्वास्थ्य बीमा उपचारको सोधभर्ना बापतको एक अर्व ३ करोड बढी रकम आज वितरण गर्ने भएको छ । बोर्डका एक अधिकारीका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट रकमान्तर भई आएको रकम सेवा प्रदायक अस्पतालहरुलाई भुक्तानी गरिदिन लागेको हो ।
त्यसो त चालु आर्थिक वर्षका लागि १० अर्व करोड रुपैयाँ बजेट पाएको बोर्डका लागि रकम अत्यन्त अपुग भएको गुनासो आएपछि स्वास्थ्यले यसअघि नै ७५ करोड रुपैयाँ र अर्थले १ अर्ब, अनि बीमा बोर्डबाट ३४ करोड ९ लाख १२ हजार रुपैयाँ समेत गरी कुल १२ अर्ब ९ लाख १२ हजार रुपैयाँ भुक्तानी भईसकेको छ ।
बोर्डका लागि आज भुक्तानी हुने रकमले केही दायित्व घटे पनि पर्याप्त भने पर्याप्त भने देखिदैन ।
किनभने गत कात्तिकसम्मको स्वीकृत भएको दावी रकम नै ६ अर्व ८९ करोड ४४ लाख ६१ हजार ७७२ रुपैयाँ थियो ।
बोर्डले मंसिर देखि आगामी असार मसान्तसम्म दावी भुक्तानी गर्न पर्ने दायित्व रकम साढे १६ अर्व जति थपिने अनुमान गरेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
