कोभिड–१९ खोपले हृदयघात, स्ट्रोक र मुटुरोगसम्बन्धी मृत्युको जोखिम घटाउन सक्ने अमेरिकी अध्ययनको निष्कर्ष

नयाँ दिल्ली । अमेरिकामा गरिएको एक अध्ययन्ले फ्लुको खोप संगै कोभिडविरुद्धको खोप लगाएका व्यक्तिलाई हृदयघात, मस्तिष्क घात र मुटुजन्य रोगबाट मृत्यु हुने जोखिम कम रहेको देखाएको छ ।

जामा इन्टरनल मेडिसिन मा प्रकाशित अध्ययनले कोभिड–१९ विरुद्धको खोपले मुटुसम्बन्धी समस्या बढाउँछ भन्ने सामाजिक सञ्जालमा फैलिएको भ्रमलाई थप खण्डन गरेको छ। त्यसो त वैज्ञानिक प्रमाणले पनि अहिलेसम्म कोभिड–१९ खोपले हृदयसम्बन्धी जोखिम बढाउने कुरा पुष्टि गरेको थिएन ।

यद्यपि विज्ञहरूले अमेरिकामा प्राप्त निष्कर्षलाई भारतजस्ता देशमा सोझै लागू गर्न नहुने बताएका छन् । जहाँ अहिले कोभिड–१९ का जटिलताहरू निकै दुर्लभ भइसकेका छन् र खोप रणनीति पनि फरक छ।

अध्ययन के थियो ?
कोहोर्ट अध्ययनमा अमेरिकी ‘डिपार्टमेन्ट अफ भेटरन्स अफेयर्स’ का १० लाख ३९ हजार ६ सय ५९ जना सहभागीलाई समावेश गरिएको थियो। अध्ययन सेप्टेम्बरदेखि डिसेम्बर २०२४ सम्म सञ्चालन गरिएको थियो।

अनुसन्धानकर्ताहरूले फ्लु र कोभिड–१९ दुवै खोप लगाएका व्यक्तिहरूको तुलना फ्लु खोप मात्र लगाएका व्यक्तिहरूसँग गरेका थिए।

आठ महिनासम्मको अनुगमनमा दुवै खोप लगाएका समूहमा कोभिड–१९ सँग सम्बन्धित प्रमुख प्रतिकूल हृदयघातजन्य घटनाहरूको जोखिम कम देखिएको अध्ययनका प्रमुख लेखक तथा बायोस्टाटिस्टिसियन डा. मियाओ काईले बताएका छन्।

तर यो अध्ययन अवलोकनात्मक भएकाले यसले प्रत्यक्ष कारण–परिणाम सम्बन्ध पुष्टि गर्न सक्दैन।

अध्ययनअनुसार लाभको मात्रा सीमित भए पनि प्रत्येक १० हजार व्यक्तिमा करिब २ देखि ५ वटा हृदयसम्बन्धी गम्भीर घटना कम हुन सक्ने देखिएको छ।

अध्ययनमा संलग्न नरहेका भारतीय चिकित्सक संघको कोभिड टास्क फोर्सका सहअध्यक्ष डा. राजीव जयदेवनका अनुसार जोखिममा आएको कमी मुख्यतः ज्येष्ठ नागरिक तथा पहिलेदेखि नै स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा देखिएको हो।

“खोपले कोभिड-१९ सङ्क्रमण र त्यसपछि रक्तनलीमा हुने सूजन कम गर्न सहयोग पुर्‍याउँछ, जसका कारण हृदयसम्बन्धी जटिलताको जोखिम पनि घट्न सक्छ,” उनले भने।

भारतका लागि यसको अर्थ
भारतले अक्टोबर २०२२ सम्म २.२ अर्बभन्दा बढी मात्रा कोभिड-१९ खोप वितरण गरिसकेको थियो। त्यसपछि खोप लगाउने दर घट्दै जाँदा निजी अस्पतालहरूले पनि खोप खरिद क्रमशः कम गरेका थिए।

यद्यपि भारतमा युवावस्थामा हुने आकस्मिक मृत्युका विषयमा सार्वजनिक बहस भइरहँदा खोपको सम्भावित असरबारे प्रश्न उठ्ने गरेका छन्। तर भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् तथा राष्ट्रिय रोग नियन्त्रण केन्द्र लगायतका निकायले गरेका विभिन्न अध्ययनहरूले भारतमा प्रयोग गरिएका कोभिड-१९ खोपहरू सुरक्षित र प्रभावकारी रहेको तथा गम्भीर प्रतिकूल असर अत्यन्तै दुर्लभ रहेको निष्कर्ष निकालेका छन्।

विज्ञहरूका अनुसार आकस्मिक हृदयघातजन्य मृत्युका कारणहरूमा आनुवंशिक अवस्था, जीवनशैली, पहिलेदेखिका रोगहरू तथा कोभिड-१९ सङ्क्रमणपछि देखिन सक्ने जटिलताहरू समेत समावेश हुन्छन्।

नीति परिवर्तनको आधार होइन
डा. जयदेवनले उक्त अध्ययनलाई भारतको खोप नीतिमा परिवर्तन गर्ने आधारका रूपमा लिन नहुने बताएका छन्।

उनले भने, “अध्ययनमा प्रयोग गरिएका खोपजस्तै अतिरिक्त मात्रा अहिले भारतको खोप कार्यक्रमअन्तर्गत दिइँदैन।

साथै अमेरिकामा प्रयोग भएका खोपहरू भारतमा प्रयोग गरिएका थिएनन्।

अहिले कोभिड–१९ सम्बन्धी जटिलताहरू महामारीको प्रारम्भिक चरणको तुलनामा अत्यन्तै दुर्लभ छन्। त्यसैले यो अध्ययनले तत्काल नीति परिवर्तनको आवश्यकता देखाउँदैन।’

तर सामाजिक सञ्जालमा फैलिएको ‘कोभिड-१९ खोपले हृदयघातको जोखिम बढाउँछ’ भन्ने गलत धारणा विरुद्ध भने यो अध्ययन आश्वस्त पार्ने खालको रहेको उनको भनाइ छ।

भारतमा हृदयरोगको भार उच्च
भारतमा हृदय तथा रक्तनलीसम्बन्धी रोगको भार विश्वमै उच्च रहेको चिकित्सकहरू बताउँछन्। विशेषगरी युवावस्थामै हृदयसम्बन्धी समस्या देखिने प्रवृत्ति चिन्ताजनक रहेको छ।

अनुसन्धानअनुसार विश्वभर हुने हृदयसम्बन्धी मृत्युमध्ये करिब पाँचमध्ये एक भारतमा हुने गर्छ। भारतमा उमेरअनुसार समायोजित हृदयरोग मृत्यु दर प्रति एक लाख जनसंख्यामा २७२ रहेको छ, जुन विश्व औसत २३५ भन्दा बढी हो।

त्यसैगरी ३५ देखि ६५ वर्ष उमेर समूहका करिब १२ देखि १६ प्रतिशत भारतीयहरूमा कोरोनरी धमनी रोग देखिने गरेको छ।

अन्य धेरै देशको तुलनामा भारतीयहरूमा यो रोग ५ देखि १० वर्षअघि नै विकसित हुने गरेको अध्ययनहरूले देखाएका छन्।

४५ वर्षभन्दा कम उमेरका व्यक्तिहरूमा आकस्मिक मृत्युको संख्या सन् २०१९ मा २० हजार १७९ रहेकोमा सन् २०२३ मा बढेर २९ हजार १४७ पुगेको थियो। सन् २०२३ मा भएका कुल आकस्मिक मृत्युमध्ये करिब ४६ प्रतिशत यस्तै कम उमेर समूहमा भएको तथ्यांकले देखाएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *