अफगानिस्तानमा गम्भीर बन्दै कुपोषण

8
Shares

काठमाडौँ, २० साउन । अफगानिस्तानमा खाद्यान्न सहायता र पोषण कार्यक्रमका लागि आवश्यक अन्तर्राष्ट्रिय कोष घट्दै गएपछि बाल कुपोषण गम्भीर बन्दै गएको तथा त्यसका कारण बालमृत्युदर थप बढ्न सक्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ ।

संस्थाले तत्काल अतिरिक्त आर्थिक सहयोग जुटाउन नसके कुपोषण सङ्कट अझ भयावह बन्ने चेतावनी दिएको छ ।

डब्लुएफपीका अनुसार अफगानिस्तानका ३४ मध्ये १२ प्रान्तमा बाल कुपोषण गम्भीर तहमा पुगेको छ र यो अहिलेसम्मकै उच्च अवस्था हो ।

द्वन्द्व, बेरोजगारी, खाद्यान्नको बढ्दो मूल्य, रोगको प्रकोप, स्वच्छ पानी तथा सरसफाइको अभाव र मानवीय सहायता घट्नु यसका प्रमुख कारण रहेको संस्थाले जनाएको छ ।

अफगानिस्तानका लागि डब्लुएफपीका देशीय निर्देशक जोन एलिफले बालमृत्युदर थप बढ्न नदिन तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै धेरै बालबालिकाका लागि भने सहयोग ढिलो भइसकेको बताए ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि उत्पन्न राजनीतिक तथा आर्थिक चुनौतीसँग जुधिरहेको अफगानिस्तानमा अहिले मानवीय सङ्कट थप जटिल बन्दै गएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओचा) की प्रवक्ता ओल्गा चेरेभ्कोका अनुसार यस वर्ष देशका तीन चौथाइभन्दा बढी क्षेत्रमा बालबालिकामा तीव्र कुपोषण देखिएको छ । ‘वेस्टिङ’ भनिने यस अवस्थाका बालबालिका आफ्नो उचाइअनुसार अत्यन्त कम तौलका हुन्छन् र उनीहरूलाई तत्काल उपचारात्मक पोषण आवश्यक पर्छ ।

उनका अनुसार धेरै बालबालिका स्वास्थ्य संस्थामा पुग्दासम्म गम्भीर कुपोषणको अवस्थामा पुगिसकेका हुन्छन् भने कतिपय उपचार नपाई मृत्यु हुने अवस्था पनि देखिएको छ ।

डब्लुएफपीले सन् २०२५ मा सहायता बजेट कटौतीका कारण १४२ स्वास्थ्य केन्द्र बन्द भएको र १३ हजारभन्दा बढी बालबालिका पोषण उपचार सेवाबाट वञ्चित भएको जनाएको छ ।

संस्थाले कुनै विशेष दाताको नाम उल्लेख नगरे पनि हालका वर्षमा अन्तर्राष्ट्रिय सहायता उल्लेखनीयरूपमा घटेको जनाएको छ ।

यस वर्ष करिब ३७ लाख अफगान बालबालिका तथा १२ लाख गर्भवती र स्तनपान गराइरहेका महिला तीव्र कुपोषणबाट प्रभावित हुने अनुमान गरिएको छ ।

डब्लुएफपीका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएको छ ।

छिमेकी मुलुकबिचको तनावका कारण पाकिस्तानसँगको सीमा करिब नौ महिना बन्द हुँदा पोषण सामग्री ढुवानी प्रभावित भएको र झन्डै १० लाख कुपोषित महिला तथा बालबालिका पाँच महिनासम्म आवश्यक पोषण सेवाबाट वञ्चित भएका छन् ।

संस्थाले जुलाईदेखि अक्टोबरसम्म कुपोषणको जोखिम सबैभन्दा उच्च रहने भए पनि पर्याप्त बजेट अभावका कारण अगस्टदेखि अक्टोबरसम्मका लागि लक्षित खाद्यान्न वितरण कार्यक्रमसमेत स्थगित गर्नुपरेको जनाएको छ ।

आगामी छ महिनाका लागि तत्काल ५४ करोड अमेरिकी डलर आवश्यक रहेको पनि डब्लुएफपीले उल्लेख गरेको छ ।

यसअघि फेब्रुअरीमा डब्लुएफपीले सहायता कटौतीलाई ‘विनाशकारी’ भन्दै चारमध्ये तीन गम्भीर कुपोषित बालबालिकासम्म पोषण सहायता पुर्याउन नसकिएको जनाएको थियो ।

संस्थाका अनुसार सन् २०२२ यता खाद्य सहायता कोष करिब ५९ प्रतिशतले घटेको छ तर मानवीय आवश्यकता निरन्तर बढिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार अफगानिस्तानका लागि गरिएको दुई अर्ब ७१ करोड अमेरिकी डलर बराबरको मानवीय सहायता अपिलमध्ये हालसम्म २६ प्रतिशतभन्दा केही बढी रकम मात्रै प्राप्त भएको छ ।

कुपोषणलगायत मानवीय सूचक निरन्तर बिग्रिरहेको अवस्थामा यो अवस्था अत्यन्त चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *