इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा, ६ भदौ । इबोलाको प्रकोपबाट प्रभावित डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा १६ हजार २५० डोज ‘एर्भेबो’ खोप आइपुगेको छ ।

देशमा इबोलाको १७औँ प्रकोप तीव्र रूपमा फैलिरहेका बेला शुक्रबार खोपको पहिलो खेप आइपुगेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार डीआर कङ्गोले जर्मनीमा उत्पादित एर्भेबो खोपको कुल ७० हजार डोज प्राप्त गर्ने छ ।

तीमध्ये २० हजार डोज चिकित्सकीय परीक्षणका लागि र ५० हजार डोज अग्रपङ्क्तिमा खटिएका स्वास्थ्य कर्मीलगायतका लागि प्रयोग गरिने छ ।

औषधि कम्पनी मर्कले विकास गरेको एर्भेबो खोप इबोला भाइरसको जायर स्ट्रेनविरुद्ध प्रयोगका लागि स्वीकृत भए पनि हाल डीआर कङ्गोमा फैलिएको बुन्डिबुग्यो स्ट्रेनविरुद्ध यसको प्रभावकारिता प्रमाणित भइसकेको छैन ।

यद्यपि प्रारम्भिक अध्ययनले यसले उक्त स्ट्रेनविरुद्ध केही सुरक्षा प्रदान गर्न सक्ने देखाएको डब्लुएचओले जनाएको छ ।

डीआर कङ्गोका स्वास्थ्यमन्त्री शमूएल रोजर काम्बाले एर्भेबो खोप यसअघि पनि विशेष गरी सन् २०१८-२०२० को इबोला प्रकोपका क्रममा ठूलो मात्रामा प्रयोग गरिएको बताए । डीआर कङ्गोमा मे १५ मा इबोलाको १७ औँ प्रकोप घोषणा गरिएको थियो ।

तर योभन्दा केही साताअघिदेखि नै सङ्क्रमण फैलिन थालेको अनुमान गरिएको छ । देशका उत्तर तथा पूर्वी क्षेत्रमा स्वास्थ्य पूर्वाधारको अभाव र सशस्त्र समूहको गतिविधिका कारण सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

कङ्गोली अधिकारीका अनुसार हालसम्म पाँच हजार २९० पुष्टि भएका सङ्क्रमित मध्ये दुई हजार ५१६ जनाको मृत्यु भइसकेको छ ।

संयुक्त राष्ट्रसङ्घका वरिष्ठ इबोला संयोजक जुलियन हार्निसले प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिनुभएको छ ।

डब्लुएचओका खोप विज्ञहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध एर्भेबोले सुरक्षा प्रदान गर्छ कि गर्दैन भन्ने यकिन गर्न मानव परीक्षण गर्न सिफारिस गरेका छन् ।

उक्त स्ट्रेनलाई लक्षित गर्ने अन्य खोप पनि हाल चिकित्सकीय परीक्षणको चरणमा छन् । पछिल्लो पाँच दशकमा इबोलाका कारण अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *