औषधी दर्ता प्रक्रियालाई जोखिममा आधारित बनाईदै

गुणस्तरीय औषधीको अभाव हुन नदिन भन्दै विभागले ल्यायो नयाँ नियम

काठमाडौँ, ३ भदौ । औषधी व्यवस्था विभागले गुणस्तरीय औषधीको नियमित आपूर्ति सुनिश्चित गर्दै बजारमा यसको अभाव हुन नदिनका लागि भन्दै नयाँ दर्ता प्रक्रिया लागू गरेको छ।

बुधबार अपरान्ह सूचना जारी गर्दै विभागले औषधी दर्ता प्रक्रियालाई जोखिममा आधारित बनाइएको बताएको छ। जीवनरक्षक, अर्फान तथा बजारमा अभाव रहेका अत्यावश्यक औषधीको दर्तालाई प्राथमिकता दिइने भन्दै विभागले नयाँ व्यवस्था पछि औषधीको गुणस्तर तथा आवश्यक औषधीको सहज उपलव्धता हुने विश्वास गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब उत्पादन अनुमतिपत्रको म्यादभित्र बजार बिक्री वितरण दर्ता प्रमाणपत्र नलिएमा उत्पादन अनुमतिपत्र नवीकरण गरिने छैन। त्यस्तै, पहिलोपटक बजार बिक्री वितरण दर्ता प्रमाणपत्र प्राप्त गरेको तीन वर्षभित्र उत्पादन नगरी बजारीकरण नगरेमा त्यस्तो प्रमाणपत्र नवीकरण गरिने छैन।

यसैगरी, पहिलोपटक औषधी पैठारी दर्ता प्रमाणपत्र तथा औषधी पैठारी सिफारिसपत्र प्राप्त गरेको तीन वर्षभित्र पैठारी नगरेमा त्यसको नवीकरण नहुने व्यवस्था गरिएको छ।

यसैगरी विभागले निरीक्षण नगरिएका विदेशी औषधी उद्योगलाई जोखिम मूल्यांकनका आधारमा प्राथमिकता दिँदै क्रमिक रूपमा निरीक्षण गर्ने बताएको छ। निरीक्षणपछि जीएमपी कम्प्लायन्स ठहरिएपछि मात्र त्यस्ता उद्योगबाट उत्पादित थप नयाँ औषधी  दर्ता गर्ने बताएको छ।

तर, बजारमा अभाव रहेका, जीवनरक्षक, अनाथ तथा सघन उपचारमा प्रयोग हुने औषधी वा राष्ट्रिय अत्यावश्यक औषधीको सूचीमा रहेका औषधीका हकमा भने सम्बन्धित फार्मास्युटिकल्स कम्पनी मै उत्पादन हुने औषधीको मूल्यांकन गरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

सूचनामा विदेशी उत्पादकको उद्योग विभागमा सूचीकृत भएपछि मात्रै सम्बन्धित आवेदकलाई उक्त उद्योगको आधिकारिक आयातकर्ताका रूपमा मान्यता दिईने उल्लेख छ।

कम्पनीको निरीक्षण सम्पन्न भएको विदेशी उद्योग एक वर्षभित्र सूचीकृत नभएमा सम्बन्धित उत्पादकबाट जारी लेटर अफ अथराइजेसन तथा पावर अफ एटोर्नीका आधारमा अर्को आयातकर्ताले उद्योग सूचीकृत गर्न सक्ने व्यवस्था गरिएको छ।

यसका लागि साविक आयातकर्ताको सहमति आवश्यक नपर्ने विभागले जनाएको छ।

त्यस्तै, सूचीकृत विदेशी उद्योगबाट दुई वर्षभित्र कुनै पनि औषधी दर्ता नभएमा पनि एलओए तथा पिओएका आधारमा अर्को आयातकर्ताले नयाँ औषधी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

तर एउटै आर्थिक वर्षमा एउटै उत्पादकको निरीक्षणका लागि एकभन्दा बढी आयातकर्ताबाट आवेदन परेमा त्यस्ता सबै आवेदन स्वतः अमान्य हुने व्यवस्था गरिएको छ।

विभागले सूचनामा सूचीकृत विदेशी उद्योगबाट दर्ता भएका औषधीका प्रमाणपत्र र आयातको अवस्थालाई समेत नयाँ व्यवस्थाअनुसार नियमन गरिने जनाएको छ।

विभागले यी सबै व्यवस्था सूचना प्रकाशित भएको मितिदेखि नै लागू हुने स्पष्ट पारेको छ।

विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले नयाँ व्यवस्थाबाट गुणस्तरीय औषधीको सहज उपलव्धता हुने विश्वास व्यक्त गरिन् । ‘औषधी उत्पादन गर्छु भनेर सूचीकृत गर्ने तर औषधी उत्पादन नगर्ने, आयात गर्छु भनेर सूचीकृत गर्ने तर व्यवहारमा नगर्ने धेरै कम्पनीहरु छन् । त्यसले राम्रोसंग काम गरिरहेका उद्योगी व्यवसायीलाई अफ्टेरो पारेको थियो भने आम नागरिकलाई गुणस्तरीय औषधीको उपलव्धतामा कहिलेकाही समस्या पर्ने गरेको थियो । हामीले यसलाई सल्टाउन खोजेका हौँ,’ उनले भनिन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *