कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ संक्रमित, ९१ जनाको मृत्यु

28
Shares

किन्शासा, २५ जेठ । कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला स्‌क्रमितको सङ्ख्या ५१५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोगको फैलावट अझै नियन्त्रणमा आएको छैन र नियन्त्रणका उपाय तुरुन्त प्रभावकारी रूपमा लागु नगरे अवस्था झन् बिग्रिन सक्ने चेतावनी दिइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप तीन जना बिरामी निको भएपछि निको हुनेको सङ्ख्या १२ पुगेको छ । हाल ११७ जना शङ्कास्पद सङ्क्रमित रहेका छन् भने २८३ जना बिरामी आइसोलेसन वा उपचारमा छन् ।

धेरैजसो पुष्टि भएका बिरामीहरूमा लक्षण जेठ १ देखि जेठ १० बिच देखिएको पाइएको छ, जसले सम्भावित एउटै स्रोतबाट सङ्क्रमण तीव्र रूपमा फैलिएको सङ्केत गरेको छ ।

जेठ १२ देखि असार १ बिच पनि नयाँ बिरामीहरूमा लक्षण देखिनु सङ्क्रमण अझ फैलिरहेको प्रमाण भएको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरूले समयमै कडा नियन्त्रण उपाय नअपनाइए सङ्क्रमित सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

रोग नियन्त्रण प्रयासहरू कमजोर सम्पर्क निगरानी, समुदायको असहयोग, उपचार केन्द्रहरूको सीमित क्षमता, सङ्क्रमण रोकथाम सामग्रीको अभाव र बजेट अभावका कारण प्रभावित भएका छन् ।

तीन प्रभावित प्रान्तमा सम्पर्क निगरानी दर ५०.३ प्रतिशत मात्र रहेको छ, जुन लक्ष्य ९५ प्रतिशतभन्दा धेरै कम हो । उत्तर किभु क्षेत्रमा परीक्षण सामग्रीको अभावका कारण १९३ परीक्षण नतिजा अझै पर्खाइमा रहेका छन् ।

हालको प्रकोप बन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो, जसलाई जेठ १ मा औपचारिक रूपमा घोषणा गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *