पश्चिम एसिया युद्धको असर : भारतमा ३८४ प्रकारका अत्यावश्यक औषधीको मूल्य बढ्न सक्ने संकेत

104
Shares

नयाँ दिल्ली । पश्चिम एसियामा जारी युद्धका कारण औषधी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको आपूर्ति प्रभावित भएपछि भारतमा ३८४ प्रकारका अत्यावश्यक औषधीको मूल्य बढ्न सक्ने बताइएको छ ।

भारतीय सञ्चारमाध्यम मिण्टका अनुसार भारत सरकार, राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) औषधि विभाग ( डीओपी) र वाणिज्य मन्त्रालयबीच अत्यावश्यक औषधीको मूल्यमा आकस्मिक बृद्धि गर्ने विषयमा छलफल भइरहेको छ ।

युद्धका कारण पेट्रो–केमिकलमा आधारित औषधी कच्चा पदार्थ, सोल्भेन्ट तथा सक्रिय औषधि तत्त्व (एपीआई) को आपूर्ति अवरुद्ध हुँदा भारतमा औषधीको उत्पादन लागत उल्लेखनीय रूपमा बढेको उद्योगीहरूको भनाइ छ ।

अहिले सरकार र उद्योगीबीच ‘आपूर्ति प्रणाली सामान्य भएपछि मूल्यवृद्धि फिर्ता लिइने’ गरी ‘अस्थायी राहत’को विकल्पबारे छलफल भइरहेको जनाइएको छ ।

मूल्य बृद्धि कुन कुन औषधीको हुन सक्छ ?

सरकारी अधिकारी र उद्योगीबीच जारी छलफलमा  मूल्यबृद्धि गर्नै पर्ने औषधीहरुको सूची समेत राखिएको बताइएको छ । त्यसमा एन्टिबायोटिक तथा संक्रमणविरुद्ध प्रयोग हुने औषधी, मुटुरोगसम्बन्धी औषधी, दुखाइ कम गर्ने औषधी तथा अन्य जीवनरक्षक औषधी समावेश छन् । एमोक्सिसिलिन, एजिथ्रोमाइसिन, एम्लोडिपिन, एटोरभास्टाटिन, प्यारासिटामोल, डेक्सामेथासोन तथा भिटामिन सीजस्ता औषधी प्रभावित हुन सक्ने उल्लेख गरिएको छ ।

भारतीय औषधी उद्योगका अनुसार ८० दिनभन्दा लामो युद्धका कारण उद्योगमा सामान्यतया रहने ४ देखि ६ साताको ‘बफर स्टक’ लगभग समाप्त भएको छ ।

उत्पादन तथा प्याकेजिङ लागत २५ प्रतिशतदेखि २०० प्रतिशतसम्म बढेको तथा कच्चा पदार्थको मूल्य ५० प्रतिशतदेखि १५० प्रतिशतसम्म वृद्धि भएको उद्योगीहरूको दाबी छ ।

हिमाचल प्रदेश औषधी उत्पादक संघ (एचडीएमए) ले औषधीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कम्तीमा १० देखि २० प्रतिशतसम्म अस्थायी रूपमा बढाउन सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष डा. राजेश गुप्ताले कच्चा पदार्थ, प्याकेजिङ तथा ढुवानी लागत बढ्दा साना तथा मध्यम उद्योगहरू गम्भीर आर्थिक दबाबमा परेको बताएका छन् ।

भारतको प्रमुख औषधी उत्पादन केन्द्र मानिने हिमाचल प्रदेशमा बद्दी, बारोटीवाला, नालागढ र काला अम्ब क्षेत्रका करिब ७०० देखि ८०० उत्पादन इकाइ प्रभावित भएको जनाइएको छ ।

समाचारअनुसार औषधी उत्पादनमा प्रयोग हुने पेट्रो–केमिकलजन्य पदार्थ, अमोनिया, मिथानोल, प्रोपिलिनलगायत कच्चा पदार्थको मूल्य युद्धका कारण तीव्र रूपमा बढेको छ । यससँगै ढुवानी खर्च, बीमा शुल्क तथा सामान आइपुग्ने समयसमेत बढेको उद्योगीहरूले बताएका छन् ।

त्यसो त भारतमा औषधीको मूल्य कडाइका साथ नियमन गरिन्छ । औषधी मूल्य नियन्त्रण आदेश (डीपीसीओ) २०१३ अनुसार अनुसूचित औषधीको मूल्यवृद्धि थोक मूल्य सूचकांक (डब्लुपीआई) का आधारमा मात्रै गर्न पाइन्छ भने गैरअनुसूचित औषधीमा वार्षिक १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि गर्न पाइँदैन ।

सरकारले गत अप्रिल १ मा अनुसूचित औषधीको मूल्य करिब ०.६५ प्रतिशतले मात्रै बढाइएको थियो । तर उद्योगीहरूले अहिलेको असामान्य परिस्थितिमा त्यो वृद्धि पर्याप्त नभएको बताएका छन् ।

भारत विश्वकै ठूलो जेनेरिक औषधी उत्पादकमध्ये एक भएकाले अहिलेको संकट लम्बिए विश्वव्यापी औषधी आपूर्तिमा समेत असर पर्न सक्ने चेतावनी उद्योगीहरूले दिएका छन् ।

हुन पनि भारतबाट विश्वको करिब ६० प्रतिशत खोप आपूर्ति हुने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *