सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा योगदान पुर्याउने विश्वभरका व्यक्ति र संस्थालाई डब्लुएचओद्वारा सम्मान

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्व धूम्रपानरहित दिवस-२०२६ को अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा धूम्रपानविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वभरका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ ।
जेनेभामा आफ्नो ७९ औँ महासभा चल्दै गर्दा डब्लुएचओले यसवर्षको अवार्ड सार्वजनिक गरेको हो ।
हरेक वर्ष प्रदान गरिने यस पुरस्कारमार्फत डब्लुएचओले सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण, जनस्वास्थ्य संरक्षण तथा नीति निर्माणमा सक्रिय भूमिका खेल्ने व्यक्तित्व र संस्थाहरूको योगदानको कदर गरेको बताएको छ ।
अवार्डमा यस वर्ष पनि डब्लुएचओको छवटै क्षेत्रबाट उत्कृष्ट कार्य गरेका व्यक्ति तथा संस्थाहरू छनोट गरेको छ ।
को – को ले पाए पुरस्कार ?
‘डब्लुएचओ डाइरेक्टर जनरल स्पेशल अवार्ड’ यमनका प्रधानमन्त्रीलाई
यस वर्षको डब्लुएचओ डाइरेक्टर जनरल स्पेशल अवार्ड यमनका प्रधानमन्त्री तथा विदेश र आप्रवासी मामिला मन्त्री डा. शाया मोहसिन जिन्दानीलाई प्रदान गरिएको छ। सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नीति प्रवर्द्धन र सार्वजनिक स्वास्थ्य संरक्षणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई सो विशेष सम्मान प्रदान गरिएको डब्लुएचओले जनाएको छ।
क्षेत्रीय रुपमा को – को सम्मानित भए ?
अफ्रिकी क्षेत्रमा स्वास्थ्यकर्मी र संस्थाहरू सम्मानित
सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा क्रियाशिल भएवापत अफ्रिकी क्षेत्रबाट बुर्किना फासोका जनस्वास्थ्य विशेषज्ञ डा. नारे नार्सिस माथुरिन तथा लाइबेरियाकी स्वास्थ्य मन्त्री डा. लुइस म्याप्लेह कपोटो सम्मानित भएका छन्।
त्यस्तै, नाइजेरियाको फिल्म तथा भिडियो सेन्सर बोर्डले चलचित्र तथा दृश्य सामग्रीमार्फत धूम्रपानको प्रचार नियन्त्रण गर्न गरेको प्रयासका लागि पुरस्कार प्राप्त गरेको छ।
उता दक्षिण अफ्रिकाका प्राध्यापक क्याथरिन ओ. एग्बे र प्राध्यापक ओलालेकन आयो युसुफलाई सुर्तीजन्य नियन्त्रणसम्बन्धी अनुसन्धान तथा नीति विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ।
अमेरिका क्षेत्रमा अनुसन्धान र जनस्वास्थ्य अभियानलाई सम्मान
अमेरिकी क्षेत्र अन्तर्गत ब्राजिलको कृषि विकास तथा पारिवारिक खेती मन्त्रालयलाई कृषकलाई वैकल्पिक खेतीतर्फ प्रोत्साहन गर्दै सुर्तीजन्य पदार्थको निर्भरता घटाउन भूमिका खेलेको भन्दै सम्मान गरिएको छ।
ब्राजिलकै एसीटी नामक स्वास्थ्य प्रवर्द्धन संस्थाकी निर्देशक/अध्यक्ष मोनिका आन्द्रेइसले धूम्रपानविरुद्ध जनचेतना अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मानि भएकी छन्।
कोलम्बियाका ड्यानियल डोराडो, मेक्सिकोका जनस्वास्थ्य अनुसन्धानकर्ता डा. इन्टि बारिएन्तोस तथा उरुग्वेकी जनस्वास्थ्य मन्त्री डा. क्रिस्टिना लुस्तेम्बर्गलाई पनि तम्बाकू नियन्त्रणमा सक्रिय योगदानका लागि सम्मान गरिएको छ।
पूर्वी भूमध्यसागरीय क्षेत्रमा संयुक्त पुरस्कार
यता इरान, पाकिस्तान र ट्युनिसियाका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गरिएको छ।
इरानका डा. अब्दोलहोसेन खोस्रोपनाह र डा. बेहजाद वालिजादेहलाई सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति र कानुनी व्यवस्थामा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
लिबियाका अली एम. एलर्घाबीले क्वीट एण्ड रन म्याराथोन अभियानमार्फत धूम्रपान त्याग अभियानलाई लोकप्रिय बनाएका छन्।
पाकिस्तानका डा. वसीम इफ्तिखार जन्जुआ र त्यहाँको टोबाको कन्ट्रोल सेललाई अनुसन्धान तथा सरकारी समन्वयमार्फत सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानलाई सशक्त बनाएको भन्दै सम्मान गरिएको छ।
ट्युनिसियाका प्राध्यापक हातेम बुजाएन, प्राध्यापक राधुआन फाखफाख तथा स्वर्गीय डा. मौनिरा मस्मौदी नाब्लीलाई तम्बाकूविरुद्ध लामो समयदेखि जनस्वास्थ्य क्षेत्रमा काम गरेको योगदानका लागि सम्मान गरिएको हो।
युरोपेली क्षेत्रमा नीति, अनुसन्धान र उपचार सेवामा योगदान
फ्रान्सको धूम्रपानविरुद्धको राष्ट्रिय समिति, मोल्डोभाकी स्वास्थ्य मन्त्रालयकी उप–महासचिव डा. स्वेतलाना निकोलाएस्कु तथा रोमानियाका प्राध्यापक फ्लोरिन डुमित्रु मिहाल्तानलाई सुर्तीजन्य पदार्थ नियन्त्रण नीति र स्वास्थ्य अनुसन्धानमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ।
स्पेनकी स्वास्थ्य मन्त्री डा. मोनिका गार्सिया गोमेज तथा स्विट्जरल्यान्डकी सुसान कोआलिकलाई धूम्रपान त्याग उपचार सेवाको विकासमा योगदान पुर्याएको भन्दै पुरस्कार प्रदान गरिएको हो।
त्यस्तै, बेलायतका डा. एलेन गालाघरलाई सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ।
दक्षिण–पूर्व एशियामा भारत, म्यानमार र थाइल्याण्डका संस्थाहरू अगाडि
भारतको राजस्थानस्थित चिकित्सा तथा स्वास्थ्य विभागका प्रमुख स्वास्थ्य सचिव तथा भारतीय चिकित्सा अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय क्यान्सर रोकथाम तथा अनुसन्धान संस्थानलाई सुर्तीजन्य पदार्थजन्य रोग रोकथाम र अनुसन्धानमा योगदानका लागि सम्मान गरिएको छ।
म्यानमारको पिपुल्स हेल्थ फाउण्डेशन तथा थाइल्याण्डका ट्राकुल थोथम र टोबाको कन्ट्रोल रिसर्च एण्ड नलेज म्यानेजमेन्ट सेन्टरले जनचेतना तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै सम्मन गरेको छ ।
पश्चिमी प्रशान्त क्षेत्रमा चीन, कम्बोडिया, फिलिपिन्स र भियतनाम सम्मानित
यता कम्बोडियाका महामहिम टच चान्थी, हङकङका स्वास्थ्य सचिव प्राध्यापक चुङ–माउ लो तथा चीनको शेनझेन नगर सरकारलाई सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी सार्वजनिक नीति र जनस्वास्थ्य अभियान सञ्चालन गरेको भन्दै सम्मान गरिएको छ।
फिलिपिन्सको बागुइओ सिटी सरकारलाई स्थानीय तहमा धूम्रपान नियन्त्रणका प्रभावकारी कार्यक्रम लागू गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो।
भियतनामका स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरू—विधायन विभाग, स्वास्थ्य नीति तथा रणनीति संस्थान, बाच माई अस्पतालको विष नियन्त्रण केन्द्र तथा टोबाको कन्ट्रोल फण्डलाई संयुक्त रूपमा सम्मान गरिएको छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

