डब्लुएचओद्धारा स्वास्थ्य क्षेत्र उत्कृष्ठ योगदान गर्ने चार जना चिकित्सकलाई ‘ग्लोबल हेल्थ अवार्ड’ प्रदान

काठमाडौँ, ५ जेठ । विश्व स्वास्थ्य संगठनले चार जना चिकित्सकलाई ग्लोबल हेल्थ अवार्ड प्रदान गरेको छ ।
स्विट्जरल्याण्डको जेनेभामा सुरु भएको ७९ औँ विश्व स्वास्थ्य सभाको उद्घाटन सत्रमा उनीहरुलाई विश्व स्वास्थ्यका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै अवार्ड प्रदान गरिएको हो ।
त्यसरी अवार्ड प्राप्त गर्नेहरुमा डा. टोरे गोडल, डा मर्सेलिन डाहल रेगिस, डा. माइक रायन र डा. हेबा एलसेवेडी रहेका छन् ।
उनीहरुलाई डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोभ गेब्रेयसस अवार्ड प्रदान गरेका हुन् ।
अवार्ड पाउने मध्ये डा. टोरे गोडालले गाभी, रोल ब्याक मलेरिया तथा महामारी तयारीसम्बन्धी संस्था सीइपीआई स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले उपेक्षित रोग, कुष्ठरोग तथा मलेरिया नियन्त्रणमा समेत उल्लेखनीय योगदान दिएका छन्।
त्यसैगरी, डा. मर्सेलिन डाल–रेजिसले अमेरिका र बाहिरको क्षेत्रमा दादुरा र रुबेला उन्मूलन अभियानलाई सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। उनको पहलले आमाबाट शिशुमा सर्ने एचआईभी र सिफिलिस रोकथाम अभियानलाई पनि ठूलो सहयोग पुगेको थियो।
डा. माइक रायनले सार्स , इबोला, पोलियो, हैजा र कोभिड–१९ जस्ता महामारीहरूको नियन्त्रण तथा आपतकालीन व्यवस्थापनमा महत्वपूर्ण नेतृत्व प्रदान गरेका थिए।
त्यस्तै, डा. हेबा एलसेवेडीले स्थापना गरेको ‘अहल मसर फाउन्डेशन’ मार्फत जलनका बिरामीहरूको उपचार, पुनःस्थापना तथा गाजा द्वन्द्वबाट प्रभावितहरूलाई मानवीय सहायता उपलब्ध गराउँदै आएकी छन्।
विश्व स्वास्थ्य संगठनले सन् २०१९ देखि ‘डाइरेक्टर–जनरल्स अवार्ड फर ग्लोबल हेल्थ’ मार्फत विश्व स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



