काठमाडौँका सार्वजनिक स्थलमा धूम्रपान गर्न नदिन स्वयंसेवक परिचालन गर्ने तयारी

काठमाडौँ, ६ बैशाख । काठमाडौं महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलमा धूम्रपान गर्नेहरूमाथि स्वयंसेवक परिचालन गरेर जरिवाना तिराइने भएको छ। काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको योजनामा यस्तो तयारी गरिएको हो।
यस बारेमा गत बुधबार काठमाडौँ महानगरपालिकाकी कार्यबहाक प्रमुख सुनिता डंगोल र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीबीच छलफल भएको छ । सो क्रममा आइजिपी कार्कीले जनचेतना प्रवाह गर्न तथा कानून उल्लंघन नगर्नका लागि सचेत बनाउन युवा स्वयंसेवक खटाउने व्यवस्था मिलाउन डंगोललाई सुझाव दिएका थिए।
‘धूम्रपान गर्ने सबैलाई थुन्न सकिँदैन, युवाहरूलाई नै भोलेन्टियरिङ गर्न लगाउने र जरिवानाबाट उठाइएको शुल्कबाट उनीहरुलाई केही खर्च दिने व्यवस्था मिलाऔँ । यसले रोजगार पनि हुन्छ, धूम्रपानविरुद्धको अभियान पनि प्रभावकारी हुन्छ,’ कार्यवहाक प्रमुख डंगोललाई आईजीपी कार्कीले सुझाव दिएका थिए ।
त्यसो त गत भदौदेखि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान सेवन गर्नेलाई जरिवाना तिराउन थालेको थियो। तर, अनुगमन नहुँदा प्रभावकारी हुन सकिरहेको छैन।
महानगरको यो अभियान अहिले सिथिल जस्तै बनेको छ ।
नेपालमा हरेक वर्ष धूमपानका कारण लाग्ने रोगबाट ३९ हजार २०० बढीको मृत्यु हुने गरेको छ । यसबाट लाग्ने रोगको उपचारमा मात्रै बार्षिक ४५ अर्व बढी राज्यको खर्च हुने गरेको छ ।
सरकारले धूमपानको प्रयोगलाई नियन्त्रणमा लिनका लागि सरकारले कडा कानून ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन अझै सकेको छैन ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

