नेप्लिज एसोसिएसन अफ ओरल एण्ड म्याक्सिलोफेसियल प्याथोलोजिष्टको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न

काठमाडौँ, ४ बैशाख । नेप्लिज एसोसिएसन अफ ओरल एण्ड म्याक्सिलोफेसियल प्याथोलोजिष्टको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।
एक दिने सम्मेलनको प्रतिनिधि सभा सदस्य समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा अंकिता ठाकुरले उद्घाटन गरिन । सो अवसरमा बोल्दै उनले मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा राज्यले विशेष ध्यान दिनु पर्ने बताईन ।
उनले ओरल एण्ड म्याक्सिलोफेसियल प्याथोलोजिष्टको दरबन्दी थप्न सरकारको ध्यानाकर्षण गराउने समेत आश्वासन दिईन । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका सदस्य डा अजय साहले दन्त चिकित्सक र त्यसमा पनि ओरल प्याथोलोजिष्टको भूमिकाका बारेमा बोलेका थिए ।
आयोजक समितिका सदस्य एवं नेपाल डेन्टल एसोसिएसनका महासचिव डा प्रदीप भण्डारीका अनुसार सम्मेलनमा १६ वटा पेपर र २० वटा पोष्टर प्रस्तुति रहेको थियो ।
सम्मेलनमा नेपाल सहित भारत र नर्वेका विशेषज्ञले प्रस्तुति दिएका थिए ।
आयोजक समितिका अर्का सदस्य डा प्रिति सिंहले सम्मेलनबाट ओरल एण्ड म्याक्सिलोफेसियल प्याथोलोजिष्टको महत्वबारे दर्शाउन तथा यस विषयमा भइरहेका नयाँ नयाँ अनुसन्धान तथा विकसित उपचार पद्धतीबाट जानकारी लिन दिने काम भएको बताईन ।
सम्मेलनमा विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

