अमेरिकामा मौसमी फ्लुबाट एक करोड ८० लाख संक्रमित, दुई लाख ३० हजार अस्पताल भर्ना

लस एन्जलस/ अमेरिका, ४ माघ । अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस इन्फ्लुएन्जा (फ्लु)बाट संक्रमित भएका छन्।
यस अवधिमा करिब दुई लाख ३० हजार बिरामी अस्पताल भर्ना भएका छन् भने ९ हजार ३ सय जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको पछिल्लो अनुमानमा उल्लेख गरिएको छ।
सीडीसीका अनुसार अमेरिकाभर मौसमी फ्लुको गतिविधि अझै उच्च अवस्थामा नै रहेको छ, तर पछिल्ला दुई सातादेखि संक्रमण दर घट्दो वा स्थिर रहेको देखिएको छ।
यस सिजनमा इन्फ्लुएन्जा ए ९एच३एन२० भाइरस सबैभन्दा बढी फैलिएको प्रकारको रूपमा पुष्टि भएको छ।
जनवरी १० मा समाप्त भएको सातासम्म फ्लुसँग सम्बन्धित १५ बालबालिकाको मृत्यु भएको सीडीसीले जनाएको छ।
यससँगै यस सिजनमा फ्लुका कारण ज्यान गुमाउने बालबालिकाको संख्या ३२ पुगेको छ। सीडीसीका अनुसार तीमध्ये करिब ९० प्रतिशत बालबालिका फ्लु विरुद्ध पूर्ण रूपमा खोप नलगाएका थिए।
सीडीसीले अमेरिकामा फ्लु प्रायः शरद र जाडो याममा देखिने र यसको चरम अवस्था प्रायः डिसेम्बरदेखि फेब्रुअरी महिनासम्म रहने जानकारी दिएको छ।
हालको अवस्थालाई ध्यानमा राख्दै सीडीसीले ६ महिनाभन्दा माथिका सबै व्यक्तिहरूलाई, यदि यस सिजनको फ्लु खोप नलगाएका भए, सकेसम्म छिटो खोप लगाउन आग्रह गरेको छ।
स्वास्थ्य अधिकारीहरूले समयमै खोप लगाउने, सरसफाइमा ध्यान दिने र लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु नै फ्लुबाट जोगिने प्रभावकारी उपाय भएको बताएका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



