हानीकारक फोहरमा लापर्वाही गरेको भन्दै काठमाडौँ महानगरद्धारा बीपीस्मृति सामुदायिक अस्पतालमाथि कार्वाही

अस्पतालको फोहर उठाउन रोकियो, ५० हजार रुपैयाँ जरिवाना तोकियो

काठमाडौँ, २६ बैशाख । अस्पतालबाट उत्पादन भएको हानीकारक फोहर निर्मलीकरण नगरी सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहर राख्ने जस्ता लापर्वाही गरेको भन्दै काठमाडौँ महानगरपालिकाले बसुन्धरामास्थित बीपी स्मृति सामुदायिक अस्पतालमाथि कार्वाही गरेको छ ।

महानगरले कार्वाही अन्तर्गत अस्पतालको फोहर उठाउन तत्कालका लागि रोक्का गरेको छ भने ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

त्यसअघि अस्पताल वरपरका स्थानीयले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकोले नियन्त्रण गर्न अनुरोध गरेका थिए ।

महानगरको कल सेन्टरले केस नम्बर ३४,१३५ मा गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभागका पठाएको थियो ।

गुनासोकर्ताले गएको सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागका वरिष्ट अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी वलका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।

बीपी अस्पतालको फोहर टोखाबाट सञ्चालित हिमालयन प्रालि ले संकलन गर्ने गरेको छ । अनुगमनका क्रममा वरिष्ठ अधिकृत महर्जनले भने महानगरपालिकाले हुन्छ नभनेसम्म फोहर संकलन नगर्न निर्देशन दिएका छन् ।

ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सकिन्छ ।

यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।

फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु अस्पतालहरुले हानीकारक फोहर व्यवस्थापनमा गरेका लापर्वाही मानिने महानगरले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *