टाइफाइड के हो ? कसरी सर्छ ? यसबाट जोगिन के गर्ने ?
टाइफाइड, जसलाई आन्तरिक ज्वरो वा म्यादी ज्वरो भनेर पनि चिनिन्छ । जो एक गम्भीर संक्रमण हो । ‘साल्मोनेला टाइफी’ नामक ब्याक्टेरियाले टाइफाइड बनाउँछ । यो रोग दूषित पानी वा खाना मार्फत सर्ने गर्छ । विशेष गरी त्यस्ता ठाउँहरूमा जहाँ सफा खानेपानी र उचित सरसफाइको अभाव छ।
टाइफाइड कसरी सर्छ ?
टाइफाइड ब्याक्टेरिया मुख्यतस् दूषित पानी र खानामा पाइन्छ। जब मानिसहरूले दूषित पानी पिउँछन् वा खानेकुरा सेवन गर्छन्, ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ।
पेटमा प्रवेश गरेपछि यो ब्याक्टेरिया आन्द्रा हुँदै रगतमा फैलिन्छ र शरीरको विभिन्न अंगहरूमा संक्रमण फैलाउँछ। यो रोग संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्दा पनि सर्न सक्छ, विशेष गरी दूषित मलसँग सम्पर्क भएमा।
लक्षणहरू
टाइफाइडको लक्षणहरू विस्तारै सुरु हुन्छन् र समयमा साथसाथै गम्भीर बन्दै जान सक्छन्। सामान्यतया लक्षणहरू निम्न प्रकारका हुन्छन् :
– उच्च ज्वरो (१०२°–१०४°)
– थकान र कमजोरी
– पेट दुख्ने र अपच हुने
– टाउको दुख्ने
– शरीरमा दुखाई
– कब्जियत वा झाडापखाला
– वाकवाकी र बान्ता
– पेटमा सुजन र केही अवस्थामा रक्तश्राव
उपचार
टाइफाइडको उपचारका लागि एन्टिबायोटिक औषधिहरू प्रयोग गरिन्छ। उपचार नगरेमा यो रोगले जीवनलाई खतरा पुर्याउन सक्छ, जसले गर्दा आन्द्राको अल्सर, प्वाल पार्नु, वा आन्द्रामा रक्तश्राव हुन सक्छ। उपचारका लागि तलका कुराहरू महत्त्वपूर्ण छन् :
– एन्टिबायोटिक औषधि: जस्तो कि सीप्रोफ्लोक्सासिन, एजोथ्रोमाइसिन, र अन्य एन्टिबायोटिकहरू, जुन डाक्टरको सिफारिस अनुसार लिइन्छ।
– सफाइ र हाइजिन : संक्रमित व्यक्तिले पूर्ण सफाइ र व्यक्तिगत हाइजिनमा ध्यान दिनु पर्छ ताकि अरू व्यक्तिहरूलाई रोग नफैलियोस्।
– अधिक पानी पिउने : शरीरमा तरल पदार्थको कमी हुन नदिन अधिक मात्रामा सफा पानी पिउनु पर्छ।
– पोषण : टाइफाइडले शरीर कमजोर बनाउँछ, त्यसैले पोषिलो आहार आवश्यक छ।
रोकथाम
टाइफाइड रोक्नका लागि केही महत्वपूर्ण उपायहरू अपनाउन सकिन्छ:
- सफा खानेपानी पिउनु : उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउनु।
- स्वच्छ खाना खाने: बाहिरको दूषित खाना र कच्चा खानेकुरा नखाने।
- हात धुने : खाना खानु अघि र शौचालय गएपछि राम्रोसँग हात धुने।
- खोप: टाइफाइडविरुद्ध खोप पनि उपलब्ध छ।
टाइफाइड एक गम्भीर रोग हो, जसको सही समयमा उपचार नगरेमा गम्भीर जटिलता निम्त्याउन सक्छ। सफा खानेपानी, उचित सरसफाइ, र जनचेतनाको माध्यमबाट यसको संक्रमणलाई धेरै हदसम्म रोक्न सकिन्छ। यदि कुनै व्यक्ति लामो समयसम्म ज्वरो र अन्य लक्षणहरूको अनुभव गर्दैछ भने तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ।
#बालरोग विशेषज्ञ डा. सिंहको बालबालिकाको डाक्टर साथी पुस्तक प्रकाशित छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]