रगत अभाव सम्वन्धी समस्या समाधानका लागि ब्लोदानद्धारा स्वास्थ्य मन्त्री पौडेलको ध्यानाकर्षण

काठमाडौँ, १८ असोज। ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले रक्तदान अभियानलाई व्यवस्थित एवं प्रभावकारी रुपमा अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने बताएको छ । उसले समायनुकुल नीति नियम संसोधनसंगै अनुगमन कार्य बढाउन समेत जोड दिएको छ ।
ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गत बुधबार स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई भेटेर यस सम्बन्धी ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
‘एकातिर चाडपर्वको बेला सुरु भईसक्यो, अर्कोतिर डेंगीको संक्रमण बढी रहेको छ । यस्तो बेलामा बिरामीका लागि चाहिने रगतको अभाव समेत देखिन थालेको छ । त्यसैले यसलाई व्यवस्थित गर्न जरुरी छ । त्यसका लागि बजेट बढाउन र नीतिगत कार्यलाई पनि अलि प्रभावकारी हुनेगरी कार्यान्वयन गर्न हाम्रो अध्यक्ष ज्यूको नेतृत्वमा गएर मन्त्री ज्य”को ध्यानाकर्षण गराएका हौँ,’ प्रतिनिधि मण्डलमा रहेका ब्लोदानका सचिव विष्णुराज श्रेष्ठले भने ।
व्लोदानले मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा पनि विज्ञानले अन्य क्षेत्रमा जति विकास गरेको भए पनि मानव रगतको विकल्प तयार गरि नसकेको आजको यर्थात हो भन्दै बिरामीको लागि आवश्यक रगतका लागि अरु कुनै स्वस्थ व्यक्तिले रक्तदान गर्नुको विकल्प नभएको उल्लेख छ ।
यस्तै स्वयंसेवी रक्तदान सम्वन्धी जनचेतनाको कमी, विभिन्न कारणले स्वस्थ रक्तदाताको रुपमा रहेका युवावर्गहरु देश बाहिर जानु, कम उमेरमा विभिन्न रोग लाग्नु, स्वयंसेवी रक्तदातालाई आवश्यक परेको बेलामा रगत उपलव्ध नहुनु आदि कारणले पनि माग अनुसारको रगत आपूर्ति हुन नसकेको उल्लेख छ ।
जवाफमा मन्त्री पौडेलले आफ्नो ध्यानाकर्षण भएको र यसलाई व्यवस्थित गर्न आफू लाग्ने प्रतिवद्धता जनाएका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



