बीजेपीका अध्यक्ष जेपी नाड्डा बने भारतका नयाँ स्वास्थ्य मन्त्री

काठमाडौँ, २९ जेठ । भारतमा लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका नरेन्द्र मोदीले नवगठित मन्त्रिपरिषद्का सदस्यहरुलाई जिम्मेवारी तोकेका छन् ।

सोही अनुसार प्रधानमन्त्री मोदीले जेपी (जगत प्रकाश) नाड्डालाई भारतको स्वास्थ्य तथा परिवार कल्याण र रसायन तथा उर्वरक गरी दुई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका नाड्डालाई प्रधानमन्त्री मोदीले मन्त्रिमण्डलमा चौथो बरियतामा राखेका छन् ।

भारतको बिहारमा जन्मेका नाड्डा यसपटकको निर्वाचनमा गुजरातबाट भाग लिई विजयी भएका हुन् ।

नाड्डा प्रधानमन्त्री मोदीको पहिलो कार्यकाल (सन् २०१४ देखि २०१९ सम्म) पनि स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

मोदीले आफ्नो दोस्रो कार्यकालमा स्वास्थ्यको जिम्मेवारी डा मनसुख माण्डवियालाई दिएका थिए । अहिले माण्डवियालाई श्रम तथा रोगजार मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

२ डिसेम्बर १९६० मा पटना विहारमा जन्मेका नाड्डाले पटना कलेजबाट बीए र हिमान्चल प्रदेश विश्वविद्यालयबाट एलएलबी गरेका छन् ।
उनी प्रधानमन्त्री मोदीको निकै नजिकका मानिन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *