डा. अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको गाइडलाइन सल्लाहकार समूह सदस्यमा मनोनित

काठमाडौँ, १० जेठ । नेपालका युवा मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को) को गाइडलाइन सल्लाहकार समूह कमिटीको सदस्यमा मनोनित भएका छन् । एस्को क्यान्सर उपचार सम्वन्धी गाइडलाइन बनाउने विश्वकै सर्बोच्च संस्था मानिन्छ ।

एस्कोले डा. शाहीलाई आगामी ४ जुनबाट लागु हुनेगरी चार वर्षका लागि उक्त समूहको सदस्य पदमा मनोनित गरेको पत्र पठाएको छ ।

गाइडलाइन सल्लाहकार समूहले उक्त सोसाइटीको एभिडेन्समा आधारित चिकित्सा कमिटीलाई  नयाँ गाइडलाइन बनाउन विषयहरूको पहिचान र प्राथमिकताहरु सिफारिस गर्ने गर्छ।

यसैगरी सोसाइटीले क्लिनिकल अभ्यासका लागि निर्माण गरेको गाइडलाइन समिक्षा गर्ने वा संयुक्त रुपमा गाइडलाइन बनाउने कार्यसमेत यसले गर्दछ।

विश्वभरीमा क्यान्सर उपचारमा भइरहेका अभ्यासहरुलाई एकीकृत गर्दै नीति निर्माणका साथै नीति निर्मातालाई, स्वास्थ्यका संगठन, उपचारमा संलग्न चिकित्सक र बिरामीहरुलाई जानकारी दिने काम पनि गर्दछ।

‘अविकसित, अल्पविकसित र विकसित मुलुकहरुमा क्यान्सर उपचारको गाइडलाइन किन फरक हुनुपर्छ ? भन्ने सवाल महत्वपूर्ण छ । क्यान्सरका औषधिहरुको उच्च मूल्य, उपलव्धता र प्रयाप्ततामा हुने समस्या पनि त्यत्तिकै छ । यसबारे कुरा उठाउँदै आएका थियौं ’ डा. शाहीले भने, ‘क्यान्सर उपचारमा विकासोन्मुख देशका अभ्यास र अनुभव विश्वका फोरमहरुमा सुनिनुपर्छ भन्ने हाम्रो आवाजलाई एस्कोले सुनेको छ । आशा गरौँ हाम्रो सहभागीताले हाम्रो जस्तो मुलुकमा क्यान्सर रोगको उपचारमा थप फड्को मार्नेछ ।’

मनोनित भएपछि डा. शाही बैठकमा भाग लिन आगामी बुधबार अमेरिका प्रस्थान गर्ने बताएका छन् ।

‘आगामी ३१ मे देखि ४ जुनसम्म बैठक राखिएको छ । त्यसमा परिचय साथै केही छलफल हुन्छ होला । त्यसपछि हामी धेरै जसो भर्च्युअल रुपमा सहभागी हुने कोशिश गरेका छौँ,’ डा. शाहीले भने ।

पाटन अस्पतालमा मेडिकल अंकोलोजिष्टको रुपमा कार्यरत डा. शाही युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजीका सर्टिफाइड अंकोलोजिष्ट हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *