क्यान्सरको उपचारमा रहेका यूकेका राजा चार्ल्स पुनः सार्वजनिक दायित्वमा फर्कंदै

लण्डन । बेलायतका राजा चार्ल्समा पुष्टि भएको क्यान्सरको उपचारमा ‘उत्साहजनक प्रगति’ भएपछि उनले यसै सातादेखि सार्वजनिक गतिविधिमा संलग्नता जनाउने बकिङ्गम दरबारले जनाएको छ।

यद्यपि राजा चार्ल्स पूर्ण रूपमा भने ‍औपचारिक जिम्मेवारीमा फर्कने छैनन् तर दरबारबाट शुक्रवार प्राप्त सन्देशलाई सकारात्मक रूपमा लिइएको छ।

राजाले मङ्गलवार एक क्यान्सर उपचार केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ। त्यसलाई उनी सार्वजनिक गतिविधिमा फर्कन लागेको सङ्केत मानिएको छ।

उनी यसै वर्षको ग्रीष्मयाममा जापानका सम्राट् र साम्राज्ञीलाई यूकेमा एक राजकीय भ्रमणका लागि स्वागत गर्ने योजनामा छन्।

त्यसपछिका साताहरूमा राजा अझ बढी बाह्य गतिविधिहरूमा संलग्न हुन सक्ने दरबारको भनाइ छ।

पुनः बाह्य गतिविधिमा संलग्न हुन पाउँदा राजा ‘अत्यन्त उत्साहित’ बनेको बताइएको छ।

उपचार जारी

दरबारको विज्ञप्तिलाई ‘सचेतनासहितको आशा’को सन्देश मान्न सकिए पनि राजा चार्ल्सको गत फेब्रुअरीमा सुरु भएको उपचार प्रक्रिया भने अझै जारी छ। यो प्रक्रिया टुङ्गिने मितिबारे केही पनि बताइएको छैन।

उपचार प्रक्रिया कति लामो हुन्छ भन्ने कुरा ‘अहिल्यै बताउनु एकदमै छिटो हुने’ दरबारले आफ्नो विज्ञप्तिमा जनाएको छ।

दरबारका अनुसार ‘हालसम्मको प्रगतिबाट चिकित्सकहरू उत्साहित छन् र राजालाई निरन्तर रूपमा निको हुनेमा उनीहरू सकारात्मक छन्।’

राजालाई कुन प्रकारको क्यान्सर लागेको हो भन्ने कुरा अझै सार्वजनिक गरिएको छैन। तर पनि उपचारका कारण राजा सार्वजनिक गतिविधिमा संलग्न हुन सक्षम भएपछि उनको चिकित्सकीय टोली ‘हालसम्मको प्रगतिबाट पर्याप्त रूपमा सन्तुष्ट रहेको’ बताइएको छ।

दरबारले केही दिनअघि मात्र राजा र रानी कमिला बकिङ्गम दरबारको बगैँचामा मुस्कुराउँदै हिँडेको तस्बिर पनि सार्वजनिक गरेको थियो।

राजा संलग्न हुन सक्ने आगामी गतिविधि
ग्रीष्म र शरद् याममा हुने विभिन्न ठूला सार्वजनिक कार्यक्रममा राजा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने स्पष्ट भइसकेको छैन। ती कार्यक्रमहरू आउने बेलामै चिकित्सकीय सुझावअनुसार उचित निर्णय लिइने दरबारको भनाइ छ।

तर ‘सम्पूर्ण ग्रीष्मकालीन कार्यक्रम’मा भने राजा सहभागी नहुने दरबारले स्पष्ट गरेको छ।

प्रोस्टेट बढेपछि सुरु भएको उपचार प्रक्रिया अनि त्यसलगत्तै गत फेब्रुअरीमा घोषणा गरिएको क्यान्सर निदानपछि राजा परम्परागत शाही सार्वजनिक गतिविधिमा सहभागी भएका थिएनन्।

तर अब मङ्गलवार उनी रानी कमिलासँगै क्यान्स उपचार केन्द्रमा जाने छन्। त्यहाँ उनी केही बिरामी र स्वास्थ्यकर्मीलाई भेटेर क्यान्सरसम्बन्धी अनुसन्धानमा आफ्नो सहयोग व्यक्त गर्ने छन्।

प्रधानमन्त्रीसँग नियमित भेटघाट गर्नेलगायत राष्ट्रप्रमुखका रूपमा व्यक्तिगत तहमा गर्नुपर्ने काम जारी नै राखे पनि यो सन् २०२४ सुरु भएपछिको उनको पहिलो औपचारिक सार्वजनिक गतिविधि हुने छ।

गत महिना ईस्टर पर्वका अवसरमा विन्ड्सरमा आयोजित प्रार्थनासभामा राजाले शुभचिन्तकलाई अभिनन्दन गर्दा र हात मिलाउँदा त्यहाँ उपस्थित मानिसहरू आश्चर्यमा परेका थिए।

जून महिनाको उत्तरार्द्धमा राजा चार्ल्सले राष्ट्रप्रमुखका रूपमा जापानका सम्राट् तथा साम्राज्ञीलाई लन्डनमा स्वागत गर्ने छन्। सन् १९९८ पछि पहिलो पटक जापानबाट औपचारिक राजकीय भ्रमण हुन लागेको हो।

राजाको स्वास्थ्य अवस्थाअनुसार भ्रमणका लागि निर्धारित केही कार्यक्रमहरू परिमार्जन गर्न सकिने बताइएको छ।

राजदरबारको आशा

यो वर्षको सुरुवात ब्रिटिश राजपरिवारका लागि सुखद रहन सकेन।

केट मिडलटन, वेल्सकी राजकुमारी क्याथरिन पनि क्यान्सरको उपचार गराइरहेकी छिन्।

अनि राजपरिवारका सदस्यहरू ‘चरम सार्वजनिक निगरानी’मा परेका छन् भने सामाजिक सञ्जालमा उनीहरूबारे विभिन्न अनुमान लगाइएका छन्।

अहिले सार्वजनिक गरिएको सकारात्मक समाचारले राजपरिवारको तनावलाई अन्त्य गर्न सक्ने दरबारको आशा छ।

आफूमा क्यान्सर भएको पुष्टि भएपछि आफूले प्राप्त गरेका शुभकामना सन्देशबाट आफू प्रभावित भएको राजा चार्ल्सले बताएका छन्।

शुक्रवारको विज्ञप्तिमा बकिङ्गम दरबारले उल्लेख गरेअनुसार ‘विगतको वर्षका खुसी र चुनौतीपूर्ण क्षणहरूमा संसारभरिबाट प्राप्त करुणा र शुभकामना सन्देशप्रति राजा र रानी हार्दिक कृतज्ञ छन्।’

  • बीबीसी

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *