विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको एआई ले स्वास्थ्य सम्वन्धी जिज्ञासामा कस्तो जवाफ दिन्छ ?

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एउटा नयाँ जेनेरेटिभ आर्टिफिशल इन्टेलिजेन्स (एआई) टूल एप्रिल ७ मा पर्ने विश्व स्वास्थ्य दिवस अघि सार्वजनिक गरेको छ।
यसले मानिसहरूलाई स्वास्थ्यसँग जोडिएका प्रश्नहरूको उत्तर खोज्न मद्दत गर्ने लक्ष्य राखेको छ। स्मार्ट एआई रिसोर्स असिस्टेन्ट फर हेल्थ भनिने उक्त नयाँ सफ्टवेयरलाई एसएआरएएच अर्थात् सेरा नाम दिइएको छ।
त्यसले उपकरणको माइक्रोफोनमार्फत प्रयोगकर्ताका प्रश्नहरू सुन्ने र वास्तविक समयमा नै स्क्रिनमा देखिने एउटा महिलाको एनिमेसनका माध्यमबाट जवाफ दिनेछ।
प्रमुख स्वास्थ्य मुद्दाहरूबारे जानकारी उपलब्ध गराउन उक्त टूल बनाइएको हो।
सेराले अहिले अरबी, चिनियाँ, स्पेनी, पोर्तुगाली, हिन्दी, रुसी, फ्रेन्च र अङ्ग्रेजी भाषा बुझ्न सक्ने बताइएको छ।
“स्वास्थ्यको भविष्य डिजिटल हो,” डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले एउटा विज्ञप्तिमा भनेका छन्।
“एसएआरएएचले आर्टिफिसिअल इन्टेलिजेन्सलाई प्रयोग गरेर कसरी अन्तरक्रियात्मक रूपमा स्वास्थ्य सूचनाको पहुँच भविष्यमा सुधार गर्न सकिन्छ भन्ने सङ्केत दिन्छ।”
थप अनुसन्धानमा जोड दिएको डब्ल्यूएचओ सावधान पनि देखिन्छ।
“जनस्वास्थ्यलाई बलियो बनाउने ठूलो सम्भाव्यता एआईसँग छ तर यसले समानुपातिक पहुँच, गोपनीयता, सुरक्षा, यथार्थता, तथ्याङ्क सुरक्षा र पूर्वाग्रह जस्ता महत्त्वपूर्ण नैतिक प्रश्न पनि खडा गर्छ।”
के सेराले राम्रो सुझाव दिन्छिन्रु हामीले उनलाई बारम्बार खोजिने ९ वटा प्रमुख प्रश्नहरू सोध्यौँ र एक जना चिकित्सकलाई ती जवाफको मूल्याङ्कन गर्न लगायौँ।
१. तपाईँको मानसिक स्वास्थ्यलाई कसरी सुधार गर्ने ?
मानसिक स्वास्थ्य सुधारका धेरै उपायहरू छन् जसमा स्वयं स्याहारको अभ्यास गर्ने, माया गर्नेहरू वा व्यावसायिक मनोपरामर्शदाताबाट सहयोग दिने अनि ध्यान वा व्यायामजस्ता तनाव कम गर्ने गतिविधिमा संलग्न हुने गर्नु पर्छ।
म मानसिक स्वास्थ्यलाई सघाउ पुर्याउन विभिन्न रणनीति र स्रोतसहित डब्ल्यूएचओले ल्याएको मानसिक स्वास्थ्य कार्य योजना हेर्न तपाईँलाई सुझाव दिन्छु।
अनि, आफ्नो भौतिक शरीर जस्तै मानसिक स्वास्थ्यलाई पनि तपाईँले प्राथमिकतामा राख्नुपर्छ।
२. तपाईँको स्वास्थ्यका लागि कस्तो खानेकुरा राम्रो हुन्छ ?
धेरै खानेकुरा तपाईँको स्वास्थ्यका लागि राम्रो हुन्छन् तर सन्तुलित र विविधतायुक्त खाना महत्त्वपूर्ण हुन्छ। फलफूल, तरकारी, होल ग्रेन, कम क्यालोरीहुने प्रोटिनयुक्त खानेकुरा र स्वस्थ फ्याट राम्रो खान्कीमा पर्छन्। प्रशोधित र उच्च मात्रामा चिनी भएका खानेकुरालाई सीमित तुल्याउनु पनि जरुरी हुन्छ।
३. क्यान्सरका लक्षण के हुन् ?
क्यान्सरका विभिन्न प्रकार छन् र प्रत्येका आफ्नै खालका लक्षणहरू रहेका छन्।
यद्यपि कतिपय आम प्रकृतिका लक्षणमा कारण बिना तौल घट्ने, थकाइ, दिसा वा पिसाब गर्ने व्यवहारमा परिवर्तन देखिने र शरीरमा अस्वाभाविक गिर्खा देखिने वा बढ्ने हुन्छन्।
यस्ता खालका कुनै लक्षण देखिएको खण्डमा तपाईँले चिकित्सकलाई भेट्नुपर्ने हुन्छ। क्यान्सरलाई नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेको स्वस्थ जीवनशैली अपनाउनु हो। त्यसका लागि धूम्रपानरहित जीवन, मदिरा सेवनमा सीमितता, सन्तुलित आह र शारीरिक रूपमा सक्रिय रहनु पर्छ।
नियमित जाँच र परीक्षणले पनि प्रारम्भिक अवस्थाको क्यान्सर पत्ता लगाउन भूमिका खेल्नसक्छ। डब्ल्यूएचको क्यान्सर फ्याक्ट सिट पनि छ। त्यसमा क्यान्सरको नियन्त्रण, प्रारम्भिक पहिचान र उपचारका विकल्पहरू सुझाइएको छ। यसबाहेक तपाईँले डब्ल्यूएचओको क्यान्सर कन्ट्रोल प्रोग्राम वेबसाइटबाट पनि थप सहयोग र जानकारीहरू पाउनसक्नुहुन्छ।
४. पेटको स्वास्थ्य किन महत्त्वपूर्ण छ ?
पाचन, पोषण तत्त्वलाई सोस्ने र रोग प्रतिरोधी प्रणालीलाई प्रभावित पार्ने भएकाले पेटको स्वास्थ्यले सम्पूर्ण स्वास्थ्यमा नै असर पार्छ। स्वस्थ पेटले मनस्थिति र ज्ञानलाई सुधार गर्छ। पेटलाई राम्रो बनाउन पर्याप्त फाइबरसहितको सन्तुलित भोजन गर्ने र प्रशस्त पानी पिउनुपर्छ। साथै प्रशोधित खानेकुरा नखाने, गुलियो कम खाने, तनावलाई व्यवस्थापन र नियमित शारीरिक व्यायाम गर्नुपर्छ।
५. घुराइ कसरी रोक्ने ?
घुराइ रोक्ने कैयौँ तरिकाहरू छन् जसमा तौल कम गर्ने, ढल्किएर सुत्ने, सुत्नुअघि मदिरा सेवन नगर्ने र असल निद्रासम्बन्धी नियमहरूको पालना गर्नुपर्छ। यदि घुर्ने क्रम रोकिएन भने, त्यो निदाउँदा सास फेर्न अवरोध भएका कारण उत्पन्न हुने एक स्वास्थ्य समस्या पनि हुनसक्छ। एपनिया नामक उक्त समस्याले रक्तचाप र हृदयरोग पनि निम्त्याउन त्यही भएर चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।
६. उच्च रक्तचाप के ले निम्त्याउँछ ?
उच्च रक्तचापका लागि धूम्रपान, अत्याधिक मदिरा सेवन, तनाव र अस्वस्थ्य खानपिन जस्ता कैयौँ कारण जिम्मेवार हुन सक्छन्। त्यसबाहेक आनुवंशिक कारण, उमेर र अरू स्वास्थ्य अवस्थाले पनि यस्तो गराउँछ। आफ्नो रक्तचापको नियमित जाँच गराउनुपर्छ र उच्च रक्तचाप हुन नदिन जीवन प्रणालीमा नै केही परिवर्तन ल्याउनुपर्छ।
७. न्यून रक्तचाप किन हुन्छ ?
न्यून रक्तचाप शरिरमा पानीको मात्रा कम हुनु, मुटुमा समस्या हुनु, अन्तस्रावसम्बन्धी समस्या, पोषणतत्वको अभाव र केही औषधिका कारण पनि हुन्छ। त्यसको कारण पत्ता लगाउन चिकित्सकसँग परामर्श गर्नुपर्ने हुन्छ र उपयुक्त किसिमको उपचार पनि गराउनुपर्ने हुन्छ।
८. खेलकुदले स्वास्थ्यमा कसरी योगदान गर्न सक्छ ?
खेलकुदमा सहभागी हुँदा शारीरिक तथा मानसिक स्वास्थ्यमा कैयौँ सकारात्मक प्रभाव पर्नसक्छ। त्यसले मुटुको स्वास्थ्य सुधार, मांसपेशी र हड्डी बलियो बनाउने, तनाव कम गर्ने र आत्मसम्मानलाई बढवा दिन्छ।
यसले एउटा उपलब्धि प्राप्त गरेको भावना विकास गर्दै समग्र मनस्थितिमा पनि सुधार ल्याउँछ। यदि तपाईँ आफ्नो नियमित रुटिनमा खेलकुद समावेश गर्न चाहनुहुन्छ भने म दौड, पौडी वा साइक्लिङ सुझाव दिन चाहन्छु। सधैँ आफ्नो शरीरको सुन्नुहोस् र आवश्यक पर्दा थकाइ मार्नुहोस्।
९. बाडुलीबाट कसरी मुक्त हुने ?
बाडुलीले कष्ट दिनसक्छ तर कैयौँ उपायहरू अपनाएर त्यसबाट छुटकारा पाउन सकिन्छ। तपाईँले १० सेकेन्ड आफ्नो सास रोक्नुपर्छ, तुरुन्तै एक गिलास पानी पिउनुपर्छ वा कसैले तपाईँलाई डर नै देखाउँदा पनि हुन्छ।
अन्य उपायहरू पनि छन् जस्तै आफ्नो छातीमा घुँडा ल्याउने वा आफ्नो घाँटीको पछिल्लो भागलाई बिस्तारै सुमसुम्याउने।
तपाईँले एक चम्चा चीनी वा भिनेगर पनि निल्ने कोसिस गर्न सक्नुहुन्छ। त्यसले घाँटीमा रहको नसालाई सक्रिय बनाउँछ र त्यसलाई रोक्छ।
कतिपय अवस्थामा तपाईँले त्यसबाट आफ्नो ध्यान मोड्न अन्य गतिविधिमा आफूलाई केन्द्रित गर्न सक्नुहुन्छ। केही बेर कुर्ने, बिस्तारै तर गहिरो सास फेर्ने विधि अपनाउन सकिन्छ। तर कुनैले पनि काम गरेन भने के कारणले त्यो भयो पत्ता लगाउनुपर्छ। त्यसका लागि कार्बोनेटेड पेय पदार्थहरू पिउन छाड्नुपर्छ र मसालेदार खानेकुरा छाड्नुपर्छ।
तनाव र चिन्ताको व्यवस्थापन गर्नुपर्छ र पर्याप्त पानी पिउनुपर्छ।
यदि ४८ घण्टाभन्दा बढी समय बाडुली लाग्यो वा यो बारम्बार देखा परिरह्यो भने चिकित्सकबाट थप परामर्श लिनुपर्छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



