बीपी कोइराला क्यान्सर अस्पतालबाट एक वर्षमा २ लाख १२ हजारभन्दा बढीलाई सेवा

0
Shares

काठमाडौँ, १२ असोज । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत दुई लाख १२ हजार ९७७ जनालाई सेवा प्रदान गरेको छ।

अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसर पारेर हरेक वर्ष असोज १० गते यस्तो तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ।

कुल बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी रहेका छन् भने बाँकी पुराना बिरामी पुनः परीक्षणका लागि आएका थिए।

अस्पतालका डा.सुशील अधिकारीका अनुसार सन् २०२५ मा आएका बिरामीमध्ये ६ हजार ८५८ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएका छन्।

यसअघि सन् २०२४ मा दुई लाख चार हजार ९७१ जना बिरामीले बहिरङ्ग सेवा लिएकोमा ३१ हजार ५६० नयाँ बिरामी रहेका थिए।

सो वर्ष सात हजार नौ जना नयाँ क्यान्सरका बिरामी फेला परेका थिए। सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा प्राप्त गरेका छन् भने ११ हजार ५५९ जना बिरामी भर्ना भएर (अन्तरङ्ग सेवा) उपचार गराएका छन्।

सोही अवधिमा अस्पतालमा तीन हजार ९१ वटा ठूला शल्यक्रिया (मेजर अप्रेसन) सम्पन्न भएका छन्।

सन् २०२४ मा आकस्मिक कक्षबाट ३० हजार ८०१ जनाले सेवा लिएको र १२ हजार ४७ जना भर्ना भई उपचार गराएको तथ्याङ्क छ।

सो वर्ष तीन हजार १६९ वटा ठूला शल्यक्रिया गरिनुका साथै २७ हजार ४९३ जनाले डे केयर सेवा लिएका थिए।

सन् २०२५ मा विकिरण प्रविधि (सेकाई) मार्फत उपचार गराउनेहरूको सङ्ख्या दुई हजार ९७० पुगेको छ भने डे केयरमा भर्ना भई केमोथेरापी लिने बिरामीको सङ्ख्या २६ हजार ४७२ रहेको छ।

एक वर्षको अवधिमा ११ हजारभन्दा बढी विपन्न बिरामीले निःशुल्क उपचार सुविधा प्राप्त गरेका छन्। अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उमेश नेपालले दिएको जानकारी अनुसार विपन्न बिरामीहरूको उपचारबापत ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ १६ पैसा छुट प्रदान गरिएको छ।

यसैगरी क्यान्सर सेवा समाजमार्फत १७६ जना बिरामीलाई १५ लाख ७३ हजार १४५ रुपैयाँ छुट दिइएको छ। तुलनात्मक रूपमा सन् २०२४ मा नौ हजार ११२ जना विपन्न बिरामीले ३५ करोड ५८ लाख २२ हजार २०६ रुपैयाँ ९५ पैसा छुट पाएका थिए भने समाजमार्फत २१५ जनाले १३ लाख ९० हजार ३६४ रुपैयाँ छुट पाएका थिए।

पाँच सय शय्या क्षमताको यस अस्पतालले आइसियू, एचडियू र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेडहरू निःशुल्क उपलब्ध गराउँदै आएको डा. नेपालले बताएका छन्।

अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरूलाई दुई छाक खाना र एक छाक नास्ता पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने गरिएको छ।

उपचार, अनुसन्धान र रोग निवारण तथा रोकथामको उद्देश्यसहित विसं २०५३ मा ऐनमार्फत सरकारको स्वायत्त संस्थाका रूपमा स्थापित यो अस्पताल सुरुमा एक सय शय्याको रहे पनि अहिले ५०० शय्यामा विस्तार भएको छ। चीन सरकारद्वारा निर्माण गरिएको यस अस्पतालमा नेपालभरबाट मात्र नभई भारतबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्। हाल अस्पतालमा एक सय जना चिकित्सक र २९५ जना नर्ससहित कुल ७१८ जना कर्मचारी कार्यरत छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *