सुविधा बढाउनु पर्ने माग राख्दै बेलायतमा डाक्टरहरु पुन: आन्दोलित

लण्डन । बेलायतमा डाक्टरहरु पुन हड्तालमा उत्रिएका छन् । यसपटकको हडताल ७० बर्ष भन्दा लामो ईतिहास भएको बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा हुने अहिलेसम्मकै लामो अबधीको हुनेछ ।

यस हडतालमा विशेषज्ञ तह मुनिका जुनियर डाक्टरहरुले छ दिनका लागि काम छाडेका छन् । उनीहरुले लामो समय देखि बेलायत सरकार समक्ष आफ्नो तलव सुविधा तथा कामको चापबारे सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । सरकार र असन्तुष्ट जुुनियर डाक्टरबीच चलेको यो विवाद निस्कर्षमा नपुग्दा पुन आन्दोलनले चर्को रुप लिएको हो ।

एनएचएसका मेडिकल निर्देशक प्राडा सर स्टीफन पोविसले यतिवेला डाक्टरहरु आन्दोलनमा उत्रिनु आफूहरुको लागि सबैभन्दा अफ्टेरो अवस्था भएको बताए ।  ‘यो निकै व्यस्त समय हो । चिसोका कारण यतिवेला बेलायतमा स्वासप्रश्वास र फोक्सोमा हुने संक्रमणका बिरामीहरु बढी रहेका छन् । त्यसैले पनि डाक्टरहरु यो समयमा हड्तालमा उत्रिदा जनताको सेवामा समेत अप्टेरो हुने देखिएको छ,’ उनले भने ।

उनले भाइरसहरु सक्रिय हुने चिसो मौसममा अस्पतालमा भर्ना हुने दर १५ दिनमै दोब्बरले बढेको समेत बताए ।

तर जुनियर डाक्टरहरुले भने पटक पटकको छलफल निस्कर्षमा नपुगेपछि बाध्य भएर लामो हड्तालको घोषण गर्नु परेको बताएका छन् ।
त्यसो त जुनियरहरुले क्रिशमस अघि पनि तीन दिनको हड्ताल गरेका थिए । त्यस बेला कुल स्वास्थ्यकर्मीहरुको आधा जति सहभागी भएको बताइएको छ ।

जुनियरहरुका अनुसार जनवरी ३ को विहान ७ बजे देखि सुरु भएको हडताल जनवरी ९ मा सकिनेछ ।

त्यसो डाक्टरहरुको आन्दोलनलाई ब्रिटिस मेडिकल एसोसिएसन (बीएमए)ले पनि सपोर्ट गर्द आइरहेको छ । अघिल्लो पटक सरकारसंग भएको बार्ता विफल भएपछि एसोसिएसनले डिसेम्बरमै बन्दको घोषणा गरेको थियो ।

बीएमएले जुनियर डाक्टरहरुको लागि ३५ प्रतिशत तलब बृद्धिको माग गरिरहेको छ । सरकारले भने यो माग पुरा गर्न नसकिने बताएको छ ।
उसले सन् २०२३ २४को लागि औषत ८.८ प्रतिशतले बृद्धि र त्यसमा थप तीन प्रतिशत बढाउन सकिने बताएको छ ।

अहिले बेलायतमा जुनियर डाक्टरले पहिलो बर्षमा ३२ हजार पाउण्ड तलव पाउँछन् । तीन वर्षको अनुभव पछि तलव बर्षमा ४३ हजार ९०० पाउण्ड पुग्नेछ । सबैभन्दा बरिष्ठहरुको तलव ६३ हजार १०० पाउण्ड रहेको छ ।

स्वास्थ्य सेवा संगठनहरुको प्रतिनिधित्व गर्ने संस्था एनएचएसले डाक्टरहरुको यो अवरोधले सिधा असर बिरामीमा पर्ने बताएको छ । उसले भनेको छ,  ‘१४४ घण्टा लगातार सेवा नदिईदा त्यसले अस्पतालहरुमा शल्यक्रिया र अन्य सेवाहरुलाई समेत अत्यन्त जोखिमपूर्ण स्थितिमा छाड्नेछ ।’

गत मार्च यता बेलायतमा जुनियर डाक्टरहरु कम्तीमा सात पटक बन्द हडतालमा उत्रिईसकेका छन् ।

डाक्टरहरुको यस्तो कदमको प्रधानमन्त्री ऋषि सुनक र अस्पताल व्यवस्थापन दुबै पक्षले आलोचना गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *