चिसो मौसममा के कस्ता स्वास्थ्य समस्या हुनसक्छन् ? अनि, तपाईँले यी कुरामा ध्यान दिनु भएको छ ?

मंसिरको अन्तिम साता भइसक्यो, नेपालमा अहिले जतासुकै मौसम चिसो छ । यो चिसो मौसमले सर्ने रोगको जोखिम त बढाउँछ नै कतिपय नसर्ने रोगका बिरामीहरुलाई पनि थप अफ्टेरो पार्ने कोशिस गर्दछ । यसैले चिसोका बेलामा हुन सक्ने समस्या र ध्यान दिनु पर्ने विषयमा आज थोरै चर्चा गर्न चाहन्छु ।

चिसोले स्वास्थ्यमा के कस्ता असर गर्न सक्छ ?
चिसोले व्यक्तिको उमेर, अवस्था भुगोल र परिवेष अनुसार फरक फरक खालका समस्या निम्त्याउन सक्छ । जस्तै चिसोले कसैलाई टाउकोमा असर गरेको हुन्छ, त्यसले साइनस इन्फेक्सन हुनसक्छ । दम हुनेलाई खोकीको समस्या बढाउला, यस्तै चिसोमा जोर्नी दुख्ने पनि हुनसक्छ । बाथ हुनेहरुलाई त्यहि खालको समस्या होला । चिसोमा यसरी बस्दा झ्याप्प इन्फेक्सन बढ्न पनि सक्छ । चिसोमा पानी नखाँदा शरीरमा अरु खालको समस्या थपिदै जान पनि सक्छ । कुरा यत्ति हो चिसोमा धेरै खालका स्वास्थ्य समस्याहरु जोडिएर आएको हुन्छ ।

स्थान विशेषले चिसोको समस्या फरक फरक हुनसक्छ:

हिमालको चिसो, पहाडको चिसो, तराईको चिसोको असर पनि भुगोल र परिवेश अनुसार फरक फरक हुनसक्छ । जस्तै: काठमाडौँको कुरा गर्दा,  काठमाडमौँमा चिसो बढ्दै जाँदा धुलो र प्रदुषण त्यो भन्दा बढी हुन्छ । यहाँ अरु बेला जस्तो हावा नि चल्दैन र आकास सफा नि देखिदैन । यसले प्रदुषण बढाउँछ, बाहिर निस्केर हिड्नेका लागि यस्तो बेला थप स्वास्थ्य समस्या निम्तिन सक्छ ।

शहरमा बाहिर सडक पेटीमा रहने बालबालिकाहरुलाई चिसोले गर्ने समस्या र शहरकै घर भित्र रहेका बुढाबुढी र दीर्घ रोगी तथा केटाकेटीहरुलाई हुने समस्या फरक हुनसक्छ ।

हिमाली भेगका जनमानसलाई गर्ने चिसोको असर बेग्लै हुन्छ, तराईमा बढ्ने चिसो र शितलहर, त्यसबाट जोगिनका लागि बालिने पराल तथा गुइठा र त्यसले त्यसको धुवाले मानव स्वास्थ्यमा पार्ने असर फरक हुन सक्छ । त्यसैले स्थान भुगोल र परिवेसका आधारमा पनि चिसोबाट हुने असरका प्रकृतिहरु फरक फरक हुनसक्छ ।

आम स्वास्थ्य समस्या के हो त ?

सामान्य त चिसोमा रुघा खोकी र निमोनियाका इन्फेक्सनहरु छिटो देखिने गर्दछ । दीर्घ स्वासप्रश्वासका बिरामीलाई दम बढ्ने, मुटु र उच्च रक्तचापका बिरामीहरुलाई पनि अलि बढी समस्या पार्ने, बाथका बिरामीहरुलाई पनि अलि बढी समस्या पार्ने, छाला तथा आँखा, नाकमा एलर्जीहरु बढाउने काम पनि चिसोका बेला बढी हुने गर्दछ ।

मैले फेरी पनि भने, चिसो मौसममा ठ्याक्कै यहि हुन्छ भनेर भन्ने अवस्था हुँदैन । फोक्सो र स्वासप्रस्वासका बिरामीहरुलाई हुने समस्या, बाटोमा सुत्नेहरुमा देखिने स्वास्थ्य समस्या, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्ति, केटाकेटी तथा बुढाबुढी, र जवान व्यक्तिहरुमा हुने समस्या फरक फरक हुनसक्छ ।

चिसोमा मर्निङ वाक गर्ने कि नगर्ने ?
पहिलो कुरा के बुझ्नु परयो भने कसरत वा व्यायमले कहिले पनि वेफाइदा गर्दैन । जति हिडन सकिन्छ, जाडो होस वा गर्मी हिड्नु राम्रो हुन्छ ।
बुझ्न के पर्‍यो भने चिसोले कसरत वा व्यायमलाई जित्न सक्दैन ।

हो, चिसोमा जाँदा रुघा लाग्न सक्छ, छाला फुस्रो हुन सक्छ तर तपाईँले व्यायमलाई प्रभावकारी ढंगले अघि बढाउँदै जानु भयो भने ती समस्या आफै हराएर जान्छन् ।

अर्को कुरा, चिसोले कसरतलाई किन पनि जित्न सक्दैन भने हामी चिसोमा बाहिर निस्कदाँ पुरा तयारीका साथ नै निस्कछौँ अर्थात चिसोबाट जोगिने लुगा लगाएर नै निस्कन्छौँ ।

प्राय चिसोमा ‘मर्निङ वाक’मा निस्कने व्यक्तिहरु शिरमा टोपी वा पछ्यौरी, काधमा मखुलर वा गलबन्दी, व्याकेट, स्वीटर, थर्मकोट, ट्राउजर, जुत्ता मोजा, पञ्जा आदिका साथ निस्कनु हुन्छ । अर्थात सामान्य त बाहिरि चिसो सिधै प्रवेश गर्न पाउँदैन । तर शरीरमा जव व्यायम हुन्छ भित्रबाट थप तातो प्रवाह हुन्छ र हामीलाई चिसोको अनुभव हुँदैन । यसले शरीर न्यानो पनि भयो र व्यायम पनि भयो । यो हाम्रो लागि धेरै फाइदाको कुरा हो ।

कसै कसैलाई बाहिर निस्कँदा शरीरको तामक्रम घट्ने र अलिकति व्याक्टेरिया र भाइरस लाग्ने सम्भावना बढी हुनसक्छ तर फाइदा र वेफाइदा दाज्नु पर्ने हुन्छ । अधिकांशलाई फाइदा नै हुन्छ । जवसम्म हामीलाई स्वाँ स्वाँ हुँदैन, गाह्रो महसुस भएको छैन भने कसरत गर्न छाड्नु हुँदैन ।

यसले त रोगसंग लडनसक्ने क्षमता (इम्युनिटी पावर) पनि बढाउँछ ।

अर्को कुरा हाम्रो शरीर जति चलायो त्यति नै बलियो हुँदै जान्छ ।

तर ध्यान दिनु पर्ने कुरा के भने, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिहरुलाई बुढाबुढी तथा केटाकेटीहरुलाई भाइरस तथा व्याक्टेरियाले चिसो मौसममा सजिलोसंग आक्रमण गर्न सक्ने हुनाले त्यस्ता व्यक्तिहरुले विशेष सावधानी चाहि अपनाउनु पर्छ ।

चिसोमा स्वास्थ्यसंगै ध्यान दिनु पर्ने अर्को महत्वपूर्ण कुरा
हामी कहाँ अझै पनि जाडोमा घर भित्र जहाँ ‘भेन्टिलेसन’ समेत छैन, त्यहाँ दाउरा बाल्ने, ग्याँस बाल्ने, कोठा न्यानो बनाउन भन्दै झ्याल ढोका थुनेर हिटर बाल्ने क्रम अझ पनि रोकिएको छैन् ।

तर, यी काम कुनै पनि हालतले गर्नु हुँदेन । ग्यास हिटरको धुवाले तुरुन्तै ज्यान जान सक्छ । यस्ता घटना नेपालमा बारम्बार घटिरहेका छन् । यसप्रति विशेष सजक हुनुपर्छ ।

घटना हुनका लागि केही चाहिदैन । तपाईँको घर वा कोठामा ‘भेन्टिलेसन’ छैन, तर तातो गराउनका लागि भन्दै त्यस्तो कोठामा दाउरा बाल्नु भयो, ग्याँस हिटर बाल्नु भयो भने त्यहाँ अक्सिजन होइन कार्वन मोनोअक्साइड जम्मा हुन थाल्छ । यो कार्वन मोनोअक्साइड हाम्रो शरीरको तत्वमा गएर टासिन्छ । त्यो टाँसिएपछि अक्सिजन परिवर्तन हुन पाउँदेन । त्यसले विस्तारै वेहोस भइन्छ । त्यतिनै बेला झ्लाय खोल्न सकियो भने केही हुँदेन । तर यदि ढिलो भयो भने बिरामी कोमामा जाने र ज्यान जाने हुन्छ । यस्तो केशहरु हाम्रो जस्तो गरीव देशमै हुने गरेको छ । हामीले दाउरा र ग्याँस बाल्छौँ । विकसित देशमा सेन्टर हिटिङ सिस्टम हुन्छ ।

अर्को हिमाल भेगको कुरा । हिमालमा यतिवेला माइनसमा तापक्रम छ । शरीरको तापक्रम ३६ डिग्री भन्दा कम भएमा हामीले हाइपोथर्मिया भन्दछौँ । त्यस्तोमा आफूले ध्यान दिनु पर्छ । एकदमै जाडो हुँदा घरबाट निस्कन भएन । हिमाली भेगमा मौसमको बारेमा सूचना के कस्तो छ ? त्यसबारेमा पनि नियमित अपडेट हुनुपर्छ ।

चिसोका बेलामा ध्यान दिनु पर्ने र गर्नु पर्ने कार्यहरु

यो मौसम सुख्खा मौसम हो । धेरै धुलो उड्ने र प्रदुषण समेत बढी हुने भएकाले यसबाट जोगिनका लागि सर्जिकल मास्क लगाउनु राम्रो हुन्छ । चुरोट खानु हुन्छ भने पनि नखाने । किनभने यसले असर गर्दछ । चोटपटक लाग्दा तत्काल देखिन्छ र उपचारमा गईहालिन्छ र छिटो सन्चो हुन सक्छ तर धुलोले र चुरोटले गर्ने असर तत्काल देखिदैन तर दीर्घकालमा नराम्रोसंग गर्न सक्छ । भेन्टिलेसन नभएको कोठामा वा भएको तर झ्याल ढोका ड्याम्म थुनेर आगो, कोइला वा ग्यास हिटर नबाल्ने । बाल्नै परेमा झ्याल ढोका खोलेर मात्रै बाल्ने ।

खानामा कार्वोहाइड्रेड, प्रोटिन र फ्याटको सन्तुलन मिलाउनु सकेमा उत्तम हुन्छ । जाडो भनेर विशेष खानुपर्छ भन्ने छैन् । तर हामीले खाने खाना स्वस्थ हुनुपर्छ । कतिपयले सुप धेरै खानुपर्छ भन्ने गर्नुहुन्छ तर यदि प्रेसर छ भने धेरै सुप किन खाने ? यसले उल्टो प्रेसर बढाउन सक्छ । चिसो लाग्यो भने व्ल्याङकेट लगाउने, ज्याकेट लगाउने, स्वीटर अर्थात न्यायो कपडा लगाउने गर्नु पर्छ ।

दीर्घ रोगीहरुले आस्थमा, दम तथा मुटुको रोगीहरुले निमोनियाको खोप, फ्लुको खोप पनि लगाउनु पर्छ । फ्लुको खोप छ महिना भन्दा माथिको बच्चा र उमेर पुगेका व्यक्तिले बार्षिक रुपमा लगाउन सकिन्छ । त्यसमा स्वास्थ्यकर्मी, दम मुटुको बिरामी यिनीहरुले बार्षिक रुपमा फ्लुको खोप लगाउनु पर्छ । तर हामी स्वस्थ छौँ भने ६५ वर्ष पछि लगाउन सकिन्छ । निमोनिया पनि त्यसैगरी लगाउने हो तर निमोनिया दुई डोज लगाएपछि बाँकी लगाउनु पर्दैन ।

६५ कटेको वा दीर्घरोगीहरुले फ्लु र निमोनियाको खोप लगाउनु सुरक्षित हुन्छ । यो खोपहरु नेपाली बजारमा पाउँछ ।

कतिवेला अस्पताल जाने ?
बृद्धबृद्धाहरुमा अलिकति सास बढे जस्तो लाग्यो भने । सामान्य त १४ देखि १८ पटक प्रति मिनेट सार्स फेर्दा नर्मल मानिन्छ । तर त्यो भन्दा बढी हुँदै गयो, स्वासप्रस्वास छिटो छिटो चलेको छ , ज्वरो आउन थालेको दुई तीन दिन भन्दा बढी भयो खोकी र खकार बढेको छ, जीउ भारी भएको छ, गलेको छ भने हामी अस्पताल जानु पर्छ ।

तर, हल्का ज्वरो आएपनि हेर्दा ठिकै छ, टाठै अवस्था छ भने घरमै सिटामोल खाएर बस्दा पनि हुन्छ ।

कोभिडपछि आज भोली त सबैको घरमा प्राय पल्स अक्सिमिटर हुनसक्छ । त्यो पल्स अक्सिमिटरले ९० भन्दा मुनि देखायो भने अस्पताल जानु पर्न सक्छ । अझ यसरी बुझौँ पहिले अक्सिजन लेभल ९४, ९५, ९६ देखाउँथ्यो, आज ९० र त्यो भन्दा मुनि देखाउन थालेको छ । आफूलाई असहज पनि भइरहेको छ भने तुरुन्तै अस्पताल वा स्वास्थ्यकर्मीको सम्पर्कमा जानु पर्छ । तर सामान्य केही भएको छैन, साधारण उपचार गरेर घरमै निको पनि हुनसक्छ । यस्तै थोरै हिड्दा पनि सास फुलेको जस्तो हुन्छ भने अस्पताल जानु पर्छ ।

निमोनियाको लक्षण प्राय गाह्रो हुने खोकी लाग्ने ज्वरो आउने हो । हल्का सास फुल्न थाल्यो भने जानुपर्छ । तर सामान्य ज्वरो मात्रै छ भने घरमै सिटामोल र सामान्य तातोपानीहरु खाएर पनि सुधार हुनसक्छ । तर घरमै बस्दा पनि सकेसम्म स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिएर बस्नु उपयुक्त हुन्छ ।

सानो बच्चाले छिटो सास फेर्छन । बच्चा पहिले जस्ता खेलेको छैन् । बच्चाले झिजो मानिरहेको छ, रोईरहेको छ, खान मानिरहेको छैन भने पनि हामीले अस्पताल लैजान बेर गर्नु हुँदेन ।

#डा. भण्डारी बसुन्धरास्थित कान्तिपुर डेन्टल तथा जनरल हस्पिटलमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “चिसो मौसममा के कस्ता स्वास्थ्य समस्या हुनसक्छन् ? अनि, तपाईँले यी कुरामा ध्यान दिनु भएको छ ?

Leave a Reply to Goma regmi Cancel reply

Your email address will not be published. Required fields are marked *