महामारी सम्बन्धि पूर्व तयारीलाई बलियो बनाउन द पाण्डामिक फण्डको अनुदान :

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अढाई अर्ब बढीको ‘स्पीड’ परियोजना सुरु

काठमाडौँ, २७ बैशाख । नेपालले महामारी सम्वन्धी पूर्व तयारीलाई बलियो बनाउने नयाँ परियोजना सुरु भएको जनाएको छ । द पाण्डामिक फण्डले छनौट गरेको नेपालको नयाँ परियोजना ‘स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल (एसपीइइडी)’ बुधबारबाट सुरु भएको हो ।

पाण्डमिक फण्ड सन् २०२२ को सेप्टेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी २० राष्ट्रका अर्थ मन्त्रीहरुको बैठकले न्युन तथा मध्यम आय भएका देशहरुलाई लक्षित गरी स्थापना गरेको एक आपतकालीन कोष हो ।

सो कोष स्थापना भएपछि विश्वभरका न्युन तथा मध्यम आए भएका देशहरुबाट प्रस्तावना आव्हान गरिएको थियो ।

त्यसबेला स्वास्थ्य मन्त्रालयले स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल (एसपीइइडी) प्रस्तावना हालेको थियो । नेपालको सो प्रस्तावना छनौट भएको गत साउन मै थाहा भएको थियो । यद्धपी कति रकम पर्‍यो भन्ने त्यसबेला खुलेको थिएन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाकथोकीले आज विज्ञप्ती जारी गर्दै एसपीएईडी परियोजना  शुभारम्भ भएको बताएका छन् । उनले  स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अध्यक्षतामा मन्त्रालयमा आज एक समारोहका बीच कुल १ करोड ८८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ) को लागतको ‘स्पीड’ परियोजना सुरु भएको जानकारी दिए । यद्धपी मन्त्रालयमा यो कार्यक्रम हिजो नै भएको थियो ।

प्रवक्ता डा बुढाथोकीले यो परियोजना नेपाल सरकारको नेतत्वमा डब्लुएओ, युनिसेफ र एफएओ सहितको समन्वयमा सञ्चालन हुने बताए । उनले यो परियोजनाको अवधी तीन वर्षको रहने जानकारी दिए ।

त्यसबेला प्रस्तावना तयार गर्नेमध्येका एक नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले एसपीईईडी परियोजना खासगरी महामारीको निगरानी र प्रारम्भिक चेतावनी, प्रयोगशाला प्रणाली, मानव संसाधन तथा जनशक्तिको सुदृढीकरणमा केन्द्रीत हुने बताएका थिए । त्यसैले अढाई अर्ब बढीको यो परियोजनामा आएको रकम तिनै कामका लागि खर्च हुनेछ ।

नेपालले ‘महामारी कोष’मा हालेको प्रस्तावना छनौट

पाण्डामिक फण्डबाट नेपालले प्राप्त गरेको अनुदानमा आधारित यो परियोजनाका लागि विश्वका १३३ देशबाट १७९ आवेदन परेको थियो । त्यसमध्येबाट नेपालको प्रस्ताव छनौट भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *