कसरी गर्ने डेंगी नियन्त्रण ?

सरकार र नागरिकको भूमिका के हुनु पर्दछ ?

डेंगीको बारेमा पहिलो पटक सन् १७८० मा बर्णन भएको पाइन्छ । यो रोग दोस्रो विश्वयुद्धको समय देखि विभिन्न देशहरूमा समस्याका रुपमा देखा पर्न थालेको हो ।

सन् १९५० मा फिलिपिन्स र थाइल्याण्डमा यसको महामारी भएको थियो । यसको भाइरस सविन भन्ने व्यक्तिले सन् १९४४ मा पत्ता लगाएका हुन् । हाल विश्व भरि अर्थोपोडाबाट मानिसमा सर्ने रोगहरुमा डेंगी भाइरसको सङ्क्रमण सबै भन्दा बढी देखिन्छ ।

वर्तमान समयमा विश्वका १२५ भन्दा बढी देशमा डेंगी रोगको सङ्क्रमण बिस्तार भई सकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालका दशकमा यसको बिस्तार नाटकीय रुपमा भएको छ ।

संसारका करिब आधा जति जनसंख्या डेंगीको जोखिममा रहेका छन् । यो रोगबाट संक्रमितहरुमध्ये ठूलो हिस्सा लक्षण विना नै निको हुने हुँदा वास्तविक संक्रमण समेत एकीन गर्न मुस्किल पर्दछ ।

एक अध्ययनले हालका बर्षहरुमा प्रति वर्ष ३९ करोड मानिसमा यसको संक्रमण हुने अनुमान गरेको छ, जस मध्ये १० हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ ।

डेंगीको समुदायमा संक्रमण हुने कुरा उक्त स्थानमा हुने बर्षात, तापक्रम, सापेक्षित आर्द्रता, सामुदायिक सरसफई, अब्यबस्थित बसोबास एवं द्रुत सहरीकरणको अवस्था र लामखुट्टे नियन्त्रणका गतिबिधिहरु तथा यस्ता क्रियाकलापमा जनसहभागिताको अवस्था आदिले निर्धारण गर्दछ ।

सन् १९७० भन्दा आगाडी ९ वटा देशहरुले मात्र डेंगी महामारीको सामना गर्नु परेको थियो भने हाल धेरै मुलुकहरुले नियमित वा केहि वर्षको अन्तरालमा उक्त रोगको महामारी झेल्नु परिरहेको छ ।

नेपालका सबै छिमेकी राष्ट्रहरु पनि डेंगीबाट प्रभावित भएका छन् र यसका बिरुद्ध विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

डेंगीको उच्च संक्रमण हुने विश्वका ३० देशहरु मध्ये छिमेकी भारत सहित इन्डोनेसिया, म्यानमार, श्रीलंका र थाईल्याण्ड अगाडी छन् ।

हाम्रो देश नेपालमा पहिलो पटक सन् २००४ मा डेंगीको बिमारी पत्ता लागेको अभिलेख छ । त्यसपछि २००६, २००९ हुँदै अहिलेसम्म आइपुग्दा विभिन्न बर्षहरुमा यसको महामारी भै ठूलो धनजनको क्षति पुर्‍याएको छ । त्यसैले पनि डेंगी रोग यतिवेला नेपालको एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा परिचित छ । हालम्म सात वटै प्रदेशका सबै जिल्लाहरुमा यो रोगको संक्रमण विस्तार भएको देखिन्छ ।

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग एक अर्का व्यक्तिमा सर्छ । डेंगी संक्रमणमा परेको व्यक्तिलाई सो लामखुट्टेले टोकेपछि लामखुट्टे पनि संक्रमण पर्दछ र त्यसपछि सो लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा भाइरस सजिलै स्वस्थ व्यक्तिमा सर्ने गर्दछ ।

यति मात्रै होइन संक्रमित एडीस जातको पोथी लामखुट्टेले पार्ने फूलबाट विकास हुने बयस्क लामखुट्टे समेत संक्रमित हुन्छ । त्यसले नेपालका सबै प्रदेशमा डेंगी संक्रमण फैलिन पुगेको हो । त्यसैले डेंगी बाहक एडीस लामखुट्टेको संक्रमण चक्र नष्ट गर्न जनसमुदाय सहितको अर्थपूर्ण एकीकृत अभियानको आबश्यकता पर्दछ । डेंगी रोगको खास उपचार नभएको हुँदा नियन्त्रण र रोकथामका लागि लामखुट्टे नियन्त्रण र यसको टोकाईबाट बच्ने उपायहरु अबलम्बन गर्नु पर्दछ ।

डेंगीको कारक तत्व के हो ?
डेंगी एडिज एजिप्टाइ र एडिज एल्बोपिक्ट्स जातका लामखुट्टेको टोकाईबाट हुने तिब्र भाइरल संक्रमण हो । चार प्रकारका डेंगी भाइरस (डेंगी १, डेंगी २, डेंगी ३, र डेंगी ४) ले यो रोग गराउँछ ।

एक प्रकारको भाइरस (एउटा सेरो-टाइप) बाट संक्रमण भैसकेपछी शरीरमा सो सेरोटाइप विरुद्ध जीवनभर जोगाउने प्रतिरक्षा पैदा हुन्छ तर बाँकी तीन थरिका भाइरस सेरो-टाइपहरुबाट डेंगी हुन सक्दछ । दोश्रो पटकको संक्रमणले अर्को सेरो-टाइपले  कडा डेंगी गराउने सम्भावना बढी हुन्छ ।

डेंगी कसरी सर्दछ ? डेंगी सार्ने एडीस जातको लामखुट्टे कहाँ पाइन्छ ?

  • डेंगी संक्रमित एडीस जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्दछ । यो लामखुट्टेको आयु १-३ महिना हुन्छ । डेंगीका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भइ स्वस्थ्य व्यक्तिमा रोग सार्न सक्दछ ।
  • यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन ।
  • डेंगी सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ ।
  • यो लामखुट्टे ग्रामिण छेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले ससाना पानी जमेका स्थानमा फूल पर्दछ विशेषत टिनका डब्बा, थोत्रा टायर , खाली ड्रम, फूलदानी, गमला, पानीको टंकी दहीका बट्टा आदि जस्ता बर्षातको पानी जम्ने भाडा-कुडाहरुमा यसले फूल पर्दछ । शहरी क्षेत्रमा यस्ता बस्तुहरु प्रयाप्त मात्रामा हुने हुँदा पनि यो लामखुट्टे शहरी क्षेत्रमा बढी पाइन्छ ।
  •  एडीस कालो रंगमा सेतो थोप्ला रहेको तथा टाटे-पाटे हुन्छ । यसले खासगरी दिउँसो टोक्ने गर्छ । धेरै दिनसम्म स्थिर रहेको सफा पानीमा फूल पर्छ ।

डेंगीका लक्षणहरु लक्षण के के हुन् ?

सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ३-१४ दिनभित्र रोगका लक्षणहरु देखा पर्दछ ।

  • उच्च ज्वरो
  • कडा टाउको दुख्ने
  • आँखाको गेडी पछाडी दुख्ने
  • वाकवाक लाग्ने र बान्ता हुने
  • शरीरमा राता-राता बिमिरा देखिने
  • कडा खालको देंगुमा विभिन्न जटिलताका लक्षणहरु देखिन्चन र उपचार नभएमा बेहोस भइ मृत्यु समेत हुने
  • धेरै संक्रिमित व्यक्तिहरुमा लक्षणहरु नदेखीई रोग आफै निको भएर जान्छ तथा अन्य केही लाई सामान्य रुघा लागेको जस्तो ज्वरोका लक्षणहरु मात्र देखिन्छन्

डेंगीको व्यवस्थापन कसरी गर्ने ?

  • डेंगी बिशेषको कुनै खास औषधि छैन, तर चाडो पत्ता लगाउने र उपयुक्त ब्यबस्थापन भएमा रोग भर र मृत्युदर न्यून हुन्छ । तसर्थ शंका लागेमा यथा सम्भब चाडो उपयुक्त स्वास्थ्य संस्थामा गई परीक्षण गरि हाल्नु पर्दछ ।
  • डेंगी ज्वरो धेरैजसो आफै निको हुन्छ । स्वास्थ्यकर्मीहरुले लक्षणका आधारमा उपचार गर्दछन । ज्वरो र दुखाई काम गर्न सिटामोल प्रयोग गर्नु पर्दछ तर अस्पिरिन, ब्रुफेन जस्ता दुखाई काम गर्ने औषधिहरु प्रयोग गर्नु हुदैन ।
  • प्रशस्त मात्रामा झोल खाद्य पदार्थ खाने र आराम गर्नाले सन्चो हुन् सजिलो हुन्छ । तर रोगको जटिलता बढेमा अस्पतालमा भर्ना भै चिकित्सकको सिफारिस अनुसार उपचार गराउनु पर्दछ ।
  • कडा डेंगीको सावधानीका साथ उपयुक्त उपचार र व्यवस्थापन आवश्यक हुन्छ । समयमै यथोचित उपचार हुन् सके रोग निको हुन् सक्छ र मृत्युदर १ प्रतिशत भन्दा काम हुन्छ ।

डेंगी रोकथामका उपायहरु के-के हुन सक्दछन् ?

  • डेंगी बिरुद्धको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो ।
  • लामखुट्टेको फूल पर्ने ठाउँ नष्ट गर्ने ।
  • वातावरण सफा राख्ने र मानिसले निर्माण गरेका लामखुट्टेको लागि उपयुक्त हुने बासस्थान नष्ट गर्ने ।
  • जम्मा भएको पानी हटाउने र जम्मा भएर १-२ दिन भन्दा बढी रहन नदिने ।
  • पानीका भाँडा छोपेर राख्ने एवं हप्तै पिच्छे खाली गर्ने र सफा गर्ने ।
  • डेंगीका विषयमा जनचेतना अभिबृद्धि गरि सक्रिय जनसहभागिता र संलग्नतामा लामखुट्टेको बास स्थान एवं  ब्रिदिङ स्थान नष्ट गर्ने र दिगो नियन्त्रणका उपायहरु अबलम्बन गर्ने ।
  • लामखुट्टेको टोकाईबाट बच्ने ।
  • काम गर्ने ठाउं र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने तथा लामखुट्टे भगाउने उपकरणहरू राख्ने ।
  • आवश्यकता अनुसार झुलको प्रयोग गर्ने ।
  • शरीरका अंग ढाक्ने खुकुला कपडा लगाउने ।
  • शरीरमा लामखुट्टे भगाउने मल्हमहरुको प्रयोग गर्ने ।
  • डेंगी प्रभावित क्षेत्रमा भ्रमण गर्दा लामखुट्टेको टोकाईबाट बच्न बिशेष ध्यान दिनु पर्दछ ।
  • स्कूल, अस्पताल र कार्यक्षेत्र जस्ता मानिस र लामखुट्टेको बढी सम्पर्क हुने स्थानहरुमा नियन्त्रणका उपायहरुमा प्राथमिकताका साथ ध्यान दिने ।
  • कीटनाशक विषादीको प्रयोग गर्दा धेरै विचार गर्नु पर्ने र ध्यान दिनु पर्ने हुन्छ ।

नेपालको सन्दर्भमा अझ थाहा पाउनु पर्ने कुराहरू

विसं २०७६ मा कीटजन्यरोग अनुसन्धान तथा तालिम केन्द्रले हेटौँडामा गरेको अध्ययनबाट डेंगी गराउने एडीस जातका लामखुट्टेको लार्भा र प्युपा ६२.८ प्रतिशत पानी जम्मा हुने भाँडामा रहेको पाइएको थियो ।

पानी जम्मा भएका जम्मा १४ प्रकारका भाँडाहरुमध्ये सबैभन्दा बढी (२० प्रतिशत) प्लास्टिकका ड्रममा एडीस जातका लामखुट्टेका लार्भा तथा प्युपा पाइएको थियो ।

त्यस्तै १४.६ प्रतिशत अटोमोबाइल टायरहरु, ६.८ प्रतिशत प्लास्टिक तथा मेटलका बाटा मगहरु, ३.४ प्रतिशत साधा प्लास्टिकरमेटलका भाँडा, ३.१ प्रतिशत प्लास्टिक कप, २.६ प्रतिशत मेटलका ड्रम, २ प्रतिशत मेटलका कप, १.२ प्रतिशत प्लास्टिकर फ्रीज भाँडा , १.२ प्रतिशत फूलदानी र ३.३ प्रतिशत अन्य पानी जम्मा हुने भाँडाहरुमा यो लामखुट्टे पाइएको थियो । १४ प्रकारका भाँडाहरुमध्ये १३ वटा भाँडाहरुमा लार्भा तथा प्युपा पाइएको थियो ।

केहि अगाडी मात्र कीटजन्यरोग अनुसन्धान तथा तालिम केन्द्रले पोखरा र धरानमा गरेको अध्ययनमा समेत यस्तै नतिजा प्राप्त भएको थियो । यस्ता तथ्यमा आधारित भएर लामखुट्टेका लार्भा तथा प्युपाबढी हुने स्थानमा खोज्ने र नष्ट गर्ने अभियान संचालन गर्दा लामखुट्टे नियन्त्रण र डेंगी नियन्त्रण एबं रोकथाम बढी प्रभाबकारी हुन्छ ।

डेंगी नियन्त्रणमा के-के कठिनाइहरु छन् ?

डेंगी रोगका बहुपक्षीय आयामहरू छन् । त्यसैले यसको रोकथामका लागि स्वास्थ्य क्षेत्रको अलावा अन्य सरोकारवालाहरु र आम जनसमुदायको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । विश्वका बिकसित मुलुकहरुमा समेत यो प्रमुख जनस्वास्थ्य समस्याको रुपमा विद्यमान छ । हाम्रो जस्तो सिमित श्रोत साधन भएका देशहरुमा यसको रोकथाम र नियन्त्रण निकै चुनौतिको बिषय छ ।

यो रोग लाग्ने क्रममा विविध पक्षको भूमिका हुने भएको र संघियतामा स्वास्थ्य प्रणालीको परिवर्तित संरचना एक किसिमले अझै अन्तरिम नै रहनु, कर्मचारी समायोजन र ब्यबस्थापनमा ढिलाई हुनु, कीटजन्य रोगसँग सम्बन्धित काम गर्नको लागि संघ, प्रदेश र स्थानीय निकायमा प्रभाबकारी संयन्त्र को अभाब, स्वास्थ्य संस्थामा कीटजन्य रोग हेर्ने आबशाक्त्य अनुसारका जनशक्तिको कमि जस्ता कारणले रोग नियन्त्रणमा कठीनाई भएको छ ।

यस्तै बिगतको अबस्थामा,

कीटजन्य रोगमा काम गर्ने फोकल पर्सनहरुको दरबन्दी कटौतीरफाजिल हुनुरअन्य काममा मात्र खटाइनु, आरआरटीको प्रभाबकारीपरिचालन हुन नसक्नु, स्थानीय तहमा कार्यरत स्वास्थ्य जनशक्तिको क्षमता अभिबृद्धिमा कमी हुनु , नियन्त्रणका गतिबिधिहरुमा यथोचित जनसहभागिता गराउन नसक्नु तथा उनीहरुको कार्यक्रममा अर्थपूर्ण अपनत्वको कमी र स्वास्थ्य कार्यक्रम सञ्चालनका क्रममा विभिन्न निकायहरुबीच देखिने गरेको दोहोरोपन एवं अस्पष्टता, तीन तहका सरकारबीचको अधिकार, कर्तव्य र जिम्मेवारीबारे समझदारी, समन्वय तथा सहकार्यको कमी आदि कारणले हाम्रो देशमा अन्य स्वास्थ्य समस्या समाधान गर्ने सन्धर्भमा देखिएका समस्याहरु जस्तै यो रोग नियन्त्रण गर्न थप कठिनाई छ ।

यसका अतिरिक्त तिनै तहका सरकारको व्यवहारिक स्पस्ट नीतिगत व्यवस्थाको अभावमा संस्था, समाज र व्यक्तिहरुले आफ्नो हेलचेक्राई र जोखिमपूर्ण क्रियाकलाप अपनाउँदा अन्य जनसमुदायमा डेंगी लाग्न सक्ने आनिबानी र व्यवहार गर्दा समेत नियमन र दण्डित गर्न नसक्ने विद्यमान अवस्था पनि डेंगी नियन्त्रणमा ठूलो समस्या हो ।

निष्कर्ष

प्रमुख जनस्वास्थ्य समस्याको रुपमा संसारका अधिकांस देशमा व्याप्त रहेको डेंगी निवारण तत्काल हुन सक्ने देखिदैन । अत हाम्रो जस्ता विकासोन्मुख देशहरुमा डेंगी नियन्त्रणका लागि व्यक्तिगत तथा समुदायस्तरका बहुपक्षीय उपायहरुलाई मिलाएर एकीकृत ढंगले कार्यान्यन गर्नु पर्दछ ।

यसको नियन्त्रणका लागि लार्भा, प्युपा र बयस्क लामखुट्टेको प्रभावकारी व्यवस्थापनका साथै संक्रमित व्यक्तिको यथा सम्भब चाँडो उपचार र व्यवस्थापन गर्नु पर्दछ । ताकि संक्रमित व्यक्तिबाट संक्रमण नभएको पोथी लामखुट्टेमा संक्रमण हुन नसकोस ।

समुदाय स्तरका स्वास्थ्य संस्थाहरुले जनताको प्रतक्ष्य सहभागितामा योजना निर्माण देखि सरसफाई, स्वस्थ्य नागरिक जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रबर्धनका कार्यक्रमहरुमा बढी समय र प्राथमिकता दिने व्यवस्था गर्नु पर्दछ र अन्य प्रभावकारि उपायहरुको खोजी र कार्यान्वनको लागि नियमित अध्ययन(अनुसन्धान गरि तथ्यमा आधरित योजना निर्माण र कार्यान्यन गरिनु पर्दछ ।

लामखुट्टे खोज्ने र नष्ट गर्ने कार्य सहित डेंगी नियन्त्रणका योजनाहरु बनाउने बेलादेखि कार्यान्यन गर्ने सबै प्रक्रियाहरूमा सक्रिय जनसहभागिता जुटाउनु पर्दछ ।

बहुपक्षीय सहकार्य, समन्वय एबं प्रराबिधिक र प्रशासनिक सुधार मार्फत आम जनताको अपनत्व र विश्वास वृद्धि गर्नुपर्छ ।  यसका लागि स्वास्थ्य सेवा प्रभाबकारी बनाउनुका साथै सेवा प्रदायक निकायहरुका बीच अधिकार, कर्तब्य र दायित्वका बारेमा ब्यबहारिक स्पस्टता जरुरी छ ।

माथि उल्लेख गरिएका उपायहरुको जिम्मेवार सबै निकायहरुले समष्टिगत र नियमित रुपमा अबलम्बन गर्न सकेमा मात्र हाम्रो देशले डेंंगीको समस्या न्यूनीकरण गर्न र जनताको स्वास्थ्य रक्षा गर्न सक्ने छ ।

राज्यका जिम्मेवार सबै निकायहरु , नागरिक समाज र आम जनता समेतले चासो लिई यो साझा समस्याको नियन्त्रणमा सहभागी भइ योगदान गर्नु सबैको हितमा हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *