१०१ बर्षीया बृद्धाको स्वास्थ्य जाँच गरी पूर्वखोलामा जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम शुभारम्भ

पाल्पा, २७ बैशाख । पूर्वखोला गाउँपालिकामा यसवर्षको जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम सुरु भएको छ । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बुधबार वडा नं ५ वीरकोट, आफरडाँडाबाट कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

स्थानीय १०१ बर्षीया कुमारीसरा कुवँरको स्वास्थ्य जाँच पछि उनलाई ब्लांकेट उपहार दिएर कार्यक्रमको शुभारम्भ गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

यो कार्यक्रम अन्तर्गत पालिकाले ८० बर्ष माथिका जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श दिने गरेको छ । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य संस्थासम्म पुग्न अफ्टेरो पर्ने भएकोले घरमै गएर सामान्य जाँचहरु गरिएको हो ।

‘घर घरमा पुग्ने स्वास्थ्यकर्मीले जेष्ठ नागरिकले उच्च रक्तचाप, मधुमेह सहित जनरल चेकअप गर्ने गरेका छन् । उनीहरुले आवश्यकताका आधारमा जेष्ठ नागरिकलाई औषधि समेत निशुल्क उपलव्ध गराउँदछन्,’ शाखा प्रमुख ढकालले भने ।

१४ हजार ९४७ कुल जनसंख्या भएको पूर्वखोला गाउँपालिकामा ८० बर्ष उमेर माथिका नागरिकको संख्या २५७ रहेको छ । यस्तै पूर्ण अपांङ्गता भएका व्यक्तिको संख्या ५१ जना रहेको छ । पालिकाले हिजो देखि सुरु गरेको जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रममा पूर्ण अपांङ्गता भएका व्यक्तिहरु समेत समेटिने बताइएको छ ।

‘दुबै समूहका गरी कुल ३०८ जना व्यक्तिलाई हामीले घर घरमा पुगेर स्वास्थ्य जाँच साथै उपहार वितरण गर्दैछौँ,’ ढकालले भने ।

त्यसो त पूर्वखोला गाउँपालिकाले यो कार्यक्रम आर्थिक बर्ष २०७४/७५ बाट नै सुरु गरेको हो । त्यसबेला यो कार्यक्रम लुम्बिनी प्रदेशकै पहिलो थियो ।

पूर्वखोलाको कार्यक्रम राम्रो मानिएपछि आर्थिक वर्ष २०७८/७९ देखि लुम्बिनी प्रदेशले पनि यो कार्यक्रम अघि बढाएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *