इजरायल - हमास युद्ध

गाजाको सबैभन्दा ठूलो अस्पतालमा पसे इजरायली कमान्डो सैनिक

गाजास्थित अल‍शिफा अस्पताल

एजेन्सी । इजरायलले गाजास्थित अल‍शिफा अस्पताललाई लक्षित गरेर आफ्ना सैनिकहरूले कारबाही गरेको जनाएको छ। बीबीसीका अनुसार अस्पतालभित्र रहेका प्रत्यक्षदर्शीहरूले कमान्डो सैनिकहरू अस्पतालको मुख्य आकस्मिक कक्षमा प्रवेश गरेको बताएका छन्।

इजरायली सैनिकहरू अल‍शिफा अस्पतालमै प्रवेश गरेको यो पहिलो घटना हो। यसअघि उनीहरू गाजाको सहरी क्षेत्रमा प्रवेश गरेपछि त्यहाँ भीषण भिडन्तहरू भएका थिए।

अस्पताल बाहिरै रहेका इजरायली सैनिकहरूले स्थानीय समय अनुसार रातको २ बजेपछि हमास लक्षित कारबाही सुरु गर्ने घोषणा गरेका थिए।

प्रत्यक्षदर्शीहरूले गाजास्थित बीबीसीका संवाददाता रुस्दी अबु अलुफलाई सयौँ सैनिकहरूले आक्रामक कारबाही गर्दै अस्पताल प्रवेश गर्दाको दृश्य र सैनिक ट्याङ्कहरू परिसरभित्र देखिँदाको क्षणबारे वर्णन गरेका छन्।

अस्पतालभित्र परिचालित भएका सैनिकहरूको सङ्ख्या र त्यसको उद्देश्य अझैसम्म प्रस्ट छैन।

इजरायलले उक्त अस्पताललाई हमासले आफ्नो मुख्यालय बनाएर काम गरिरहेको र अस्पताल रहेको जमिनमुनि हमासका गतिविधिहरू सञ्चालनका लागि संरचनाहरू रहेको दाबी गर्दै आएको छ।

मङ्गलवार अमेरिकी गुप्तचर निकायले आफूलाई प्राप्त गोप्य जानकारीले पनि त्यस्तो दाबीको पुष्टि गरेको बताएको थियो। उसले हमास र प्यालेस्टाइनको अर्को लडाकू समूह इस्लामिक जिहादको पनि “अल‍(शिफामा निर्देशन र नियन्त्रण इकाई” रहेको साथै त्यहाँ उनीहरूले “हतियार भण्डारण गरेको” दाबी गरेको छ।

हमासले यस्तो दाबी अस्वीकार गर्दै आएको छ र ह्वाइट हाउसको पछिल्लो भनाइले इजरायललाई उक्त अस्पतालमा आक्रमणका लागि बाटो खोलिदिन खोजेको बताइको छ।

यद्यपि ह्वाइट हाउसले अस्पतालमा ुदोहोरो भिडन्त नहोस्ु भन्ने चाहेको प्रतिक्रिया दिएको छ। ह्वाइट हाउस न्यासनल सेक्युरिटी काउन्सिलका प्रवक्ताले राष्ट्रपति जो बाइडनको भनाई दोहोर्‍याउँदै अस्पताल र बिरामीहरूको सुरक्षा हुनुपर्ने बताएका छन्।

इजरायल भने उक्त अस्पतालको सेवा बन्द गर्न १२ घण्टाको समय दिएर चेतावनी दिइएको भए पनि हमास प्रशासनले अटेर गरेको बताएको छ। हमासले मानव ढालको रूपमा गैर सैनिकहरूलाई प्रयोग गरिरहेको इजरायलको आरोप छ। उसले सर्वसाधारणलाई क्षति नगर्ने नियत राखेर कारबाही अघि बढाइने दाबी गरेको छ।

यसअघि उक्त अस्पतालका डक्टरहरूले अस्पतालमा अत्यावश्यक सेवा सञ्चालनका लागि इन्धनको अभाव सुरु भइसकेको र ज्यान गुमाएका २०० जना बिरामीहरूलाई त्यहाँको सामूहिक चिहानमा पुरिएको बताएका थिए।

गाजाको अल‍शिफा अस्पतालमा हजारौँ बिरामी र आश्रय लिइरहेका मानिसहरू रहेको ठानिएको छ। पछिल्लो समय इजरेली फौजले यसलाई घेराबन्दीमा राखेको थियो।

यहाँ रहेका मानिसहरूबारे फरक फरक आकलन सार्वजनिक भएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलवार यहाँ ७०० जना बिरामी, ४०० जना अस्पतालका कर्मचारी र ३,००० जना गैरसैनिक सर्वसाधारण रहेको बताएको थियो।

हमासले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयले भने त्यहाँ २,३०० जना मानिसहरू रहेको र त्यसमा ६५० जना बिरामी २०० देखि ५०० कर्मचारी र १,५०० जना गैरसैनिक रहेको जनाएको छ।

गाजाको सबैभन्दा ठूलो भनिएको यो अस्पतालमा ७०० शय्याको क्षमता रहेको विवरण आएका छन्।

निरन्तरको भिडन्तका कारण पालमा सुतिरहेका गाजाका हजारौँ मानिसहरूले वर्षाका कारण कष्टकर रात बिताएका छन्।

अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १,२०० जना मारिनुका साथै २०० जना भन्दा बढीलाई बन्दी बनाइएपछि इजारायलले निरन्तर गाजामाथि आक्रमण गरिरहेको छ।

गाजामा भएको इजारायली हमलामा अहिलेसम्म ११,००० जनाभन्दा बढीको ज्यान गइसकेको र त्यसमध्ये ४,५०० जना बालबालिका रहेको बताइएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *