इजरेल - प्लालेस्टाइन युद्ध

बमबारीकाबीच गाजा क्षेत्रमा सन्तान जन्माउनुको अनुभव

डालिया हैदर
बीबीसी अरेबिक

जुमाना इमाद : गाजामा हमला हुँदा सन्तान जन्माउने अन्तिम अवस्थामा पुगेकी थिइन्

एक महिनाअघि गाजा निवासी जुमाना इमाद बच्चालाई जन्म दिने बेला हुन लागेकी गर्भवती थिइन्।  अन्तिम चरणमा पुग्दा बढ्दै गएको भारी जिउको तस्बिर खुसी भएर उनले शेअर गरिरहेकी थिइन्।

उनलाई आफूले जन्माउँदै गरेको बच्चा छोरी हो भन्ने थाहा थियो। उनका पति निकै उत्साही थिए।

अस्पताल जानका लागि झोला तयारी अवस्थामा थियो। चार वर्षीया पहिलो छोरी टुलिन आफ्नी बहिनीको मुख हेर्न आतुर थिइन्।

त्यति नै बेला नसोचेको भइदियो।

हमासले अक्टोबर ७ तारिखमा इजरेलका १४ सय मानिसको ज्यान लियो र दुई सयभन्दा बढीलाई बन्धक बनायो। जवाफमा इजरेलले पनि गाजामा हवाई हमला गर्‍यो।

हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले ती हमलाहरूमा सात हजारभन्दा बढी मानिसहरूको ज्यान गएको जनाएको छ।

‘म डराएको थिएँ,’ जुमानाले बीबीसीसँग भनिन्। ‘निरन्तर बमबारी भइरहँदा मलाई सुत्केरी बेथा लाग्न सुरु भइसकेको थियो।’

२५ वर्षीय पत्रकार उनले इजरेलको आदेश मानिन् र उत्तरमा रहेको आफ्नो घर छोडिन्। इजरेलले हमला थालेको दुई दिनपछि उनी गाजा छाडेर दक्षिण तिर लागिन्।

भयभीत र ९ महिने गर्भवती जुमानाले चार वर्षीया छोरीलाई आफन्तको घरमा लगिन्। एक जोर लुगा एक बाकस दूध र छोरीका लागि एउटा सानो झोला मात्रै उनले लगेकी थिइन्।

‘यहाँ अवस्था निकै कठिन छ,’ उनले अडियो सन्देशमा व्याख्या गरिन्।

‘हामी राति सुतेनौँ। त्यहाँ बमबारी धेरै भइरहेको थियो र हामी अर्को ठाउँमा गयौँ। म जस्ता गर्भवती महिला हिँड्नका लागि जानुपर्थ्यो तर युद्धका कारण खानेकुरा किन्नका लागि पनि हामी जान सक्दैनौँ,’ उनले अर्को सन्देशमा बताइन्।

जुमानाले बिजुली नभएको , इन्टरनेट सेवा नभएको र पानीको अभाव भएको कुरा पटक पटक बताइन्। त्यसमाथि त्यस्तो कठिन अवस्थामा डर र चिन्ताका माझ बच्चा जन्माउनुपर्ने अवस्था थियो।

अक्टोबर १३ तारिखमा जुमानालाई सुत्केरी बेथा लाग्यो।

उनले पहिला त गाजा सहरमा रहेको अल-शिफा अस्पतालमा जाने योजना गरेकी थिइन् जुन एकदमै ठूलो अस्पताल हो। तर त्यहाँ धेरै नै चाप छ भन्ने उनले थाहा पाइन्। त्यसैले उनी गाजा क्षेत्रको मध्ये भागमै रहेको अर्को एउटा सानो अस्पताल अल-अदामा गइन्।

तर त्यहाँ जान पनि कठिन थियो। पीडा र बेथामा जुमानाले आफूलाई अस्पतालसम्म पुर्‍याइदिन कसैसँग मद्दत मागिन्। ‘ट्याक्सी चालकहरू त्रसित थिए र बच्चा जन्माउन लागेका महिलालाई अस्पताल पुर्‍याउन एम्बुलेन्सहरूसँग समय थिएन,’ उनले भनिन्।

उनले आफूलाई लागेको घण्टौँको सुत्केरी बेथा निकै कठिन र डर लाग्दो भएको भनी व्याख्या गरिन्। ‘अस्पतालभन्दा पल्लो घरमा आक्रामक बमबारी भइरहेको थियो र त्यसको आवाज निकै ठूलो भएकाले मैले त अस्पतालमै बमबारी हुन थाल्यो भन्ठानेँ। घाइते मानिसहरूलाई अस्पताल निरन्तर रूपमा ल्याइएको थियो। जुनसुकै कुनाबाट म मानिसहरू चिच्याइरहेको सुन्न सक्थेँ। म मेरी चार वर्षीया छोरीबारे सोचिरहेकी थिएँ। मभन्दा टाढा भएकीले मलाई उसको निकै चिन्ता लागेको थियो।’

‘मैले जेसुकै भए पनि बच्चालाई जन्माउनुपर्छ भन्ने मात्रै सोचेकी थिएँ।’

त्यो साँझ घण्टौँपछि जुमानाले छोरीलाई जन्म दिइन् जसको नाम टालिया राख्ने उनले निधो गरिन्।

‘उनको रुवाइको अर्थ हामी सबै जीवितै छौँ भन्ने थियो,’ उनले त्यो क्षणको सम्झना गरिन्।

बच्चा जन्मिए लगत्तै त्यहाँ शय्या उपलब्ध नभएको उनले बताइन्। पीडा र रक्तस्रावका बीच उनले शय्या पाउन कुर्नुपर्‍यो।

टालिया : गएको १३ तारिखमा गाजामा जन्मिएकी हुन्

‘त्यो शय्या पाउनु पनि मेरो भाग्य थियो। अरू महिलाहरूले त बस्ने लामो सोफा वा अस्पतालको भुईँमै पनि सुत्केरी भए पनि सुत्नुपरेको थियो,’ उनले भनिन्।

संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोष (युएनएफपीए)ले गाजामा करिब ५०,००० महिलाहरू गर्भवती भएको र त्यसमध्ये ५,५०० ले अबको ३० दिनभित्र जन्म दिने ठानिएको अनुमान गरेको छ। युएनएफपीएले अस्पतालहरू भरिभराउ भएको र त्यहाँ औषधि र आधारभूत सामाग्रीहरू पनि अभाव हुँदै गएको जनाएको छ।

बच्चा जन्मिएको भोलिपल्ट छोरीलाई सेतो ओढ्नेले बेरेर काखमा राखेको भिडि‌ओ उनले पठाएकी थिइन्।

तर अस्पताल छोडेर आफ्नो परिवार रहेको ठाउँमा पुग्न पाए पनि त्यतिबेला त्यहाँ सम्म पुग्न पनि निकै दुख पाएको उनले बताइन्।

‘बिजुली नहुँदा लिफ्टले काम गर्न छोडेको थियो,’ उनले भनिन्। अस्पतालको चौथो तलामा रहेकी जुमाना बच्चा जन्माएपछिको पीडामा थिइन् र हातमा नवजात शिशु च्यापेर उनी आफैँ भर्‍याङबाट ओर्लिनु परेको थियो।

अस्पतालबाट बाहिर निस्किएपछि पनि आफू बस्ने ठाउँसम्म जानका लागि यातायातको सुविधा पाउन उनलाई कठिन भयो।

‘ट्याक्सी भेट्टाउनै हामीलाई एक घण्टा लाग्यो। कुनै पनि चालकले हामीलाई लैजान मान्दैन थिए। त्यो बिहान त्यहाँ नजिकै बमबारी भएका कारण उनीहरू पनि डराएका थिए। अन्तिममा हामीले एउटा चालक भेट्यौँ तर उसले धेरै भाडा माग्यो र घर अगाडिसम्म पनि लगिदिएन।’

जुमानाले यस्तो कठिन अवस्थामा बच्चालाई जन्मदिने काम निकै गम्भीर भएको बताइन्। ‘म मानसिक रूपमा निकै थाकिसकेँ। केही गर्ने इच्छा पनि म मा छैन,’ उनले भनिन्।

तर टालिया भने राम्ररी हुर्किरहेको उनले बताइन् ‘उनी म, उनकी दिदी र उनका बुवा सबै मिलेर बने जस्ती छिन्।’

‘यदि युद्ध हुन्थेन भने बच्चा जन्मिएको एक सातापछि मैले एउटा राम्रो कार्यक्रम राख्थे र हामीले मनाउँथ्यौँ। मैले परिवारका सबै सदस्यलाई बोलाउँथेँ र उनका लागि परम्परागत रूपमा मनाइने अकीका मनाउँथेँ,’ जुमानाले भनिन्।

उनले आफ्नो परिवारको भविष्य के हुने हो थाहा नभएको बताइन् तर छोरी नयाँ सदस्यका रूपमा आएकोमा आफू कृतज्ञ भएको उनले बताइन् ‘युद्ध र मृत्युको यो जीवनमा उनी मेरो आशा हुन्।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *