विश्व बिरामी सुरक्षा दिवसको दिन नेपालका चिकित्सकहरु आफ्नो सुरक्षा खोज्दै आन्दोलनमा !

उपचार सेवा दिने सबै स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौँ, ३१ भदौ ।  आज १७ सेप्टेम्बर, अर्थात विश्व बिरामी सुरक्षा दिवस । ‘बिरामीहरुको आवाज बुलन्द गर्नुहोस,’ भन्ने मुल नाराका साथ संसारभर आज यो दिवस मनाईदैछ ।

तर, आज नेपालको अवस्था भने ठिक उल्टो देखिएको छ ।

अस्पतालमा आफूहरु असुरक्षित भएको, सरकारले आफ्नो आवाज नसुनेको, आफूहरुको सुरक्षा तर्फ ध्यान नदिएको भन्दै बिरामीको उपचारमा सम्लग्न हुनुपर्ने देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले उपचार सेवा नै प्रभावित हुने गरी आकस्मिक बाहेकका सेवा आजका लागि बन्द गरेका छन् । चिकित्सकहरुको पेशागत संस्था नेपाल चिकित्सक संघले आजका लागि उपचार सेवा प्रदान गर्ने अस्पताल, क्लिनिक, मेडिकल कलेज तथा प्रतिष्ठानहरुमा आकस्मिक बाहेकका सेवा बन्दको आव्हान गरेको छ ।

गत २७ भदौमा हेटौडास्थित सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र प्रशान्त बिडारीमाथि बिरामी पक्षको एक समूहले कार्यस्थलमै आई आक्रमण गरेको थियो । त्यसको बिरोधमा आज बन्दको आव्हान गरिएको हो ।

घटना के थियो ?

नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीका अनुसार गत २२ साउनमा एक जना बिरामी डेंगी लक्षण लिई उपचारका लागि सञ्चो अस्पतालमा आएका थिए । त्यहाँ एक दिन भर्ना भई उपचार गरेपछि थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज रिफर गरिएको थियो । तर २५ साउनमा ती बिरामीको मृत्यु भयो । मृतकका आफन्तहरुले २७ भदौमा अस्पतालमै आएर डाक्टरद्धय थापा र बिडारीमाथि आक्रमण गरेका थिए ।

बिरामी पक्षले भने सञ्चो अस्पतालका चिकित्सकहरुले आफ्नो बिरामीको रोगको सहि पहिचान नगरेको, आफूहरुलाई सहि सूचना र सल्लाह नदिएको र उपचार समेत गलत गरेका कारण बिरामीको मृत्यु भएको लगायतका आरोप लगाएका थिए ।

नेपाल चिकित्सक संघले सो घट्नामा सम्लग्न आक्रमणकारीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी संसोधिन ऐन २०७९ अनुसार कार्वाही अघि बढाउन ७२ घण्टे समयसिमा तोकेको थियो । तर तोकिएको अवधीमा कानून अनुसारको कार्वाही प्रक्रिया अघि नबढेको भन्दै संघले शनिबार बेलुका विज्ञप्ती जारी गर्दै बन्दको आव्हान गरेको हो ।

देशव्यापी रुपमा बन्दको आव्हानपछि सरकारले चिकित्सकहरुको आवाज त पक्कै सुनेको छ । तर बिरामी पक्षलाई भने आजको अवरोधले थप समस्या पार्नेछ । यसबाट हामीले अपेक्षा गरेको चिकित्सक र बिरामी पक्षबीचको सुमधुर सम्वन्धलाई समेत बिच्क्याउन सक्नेछ ।

हुन त चिकित्सक संघले यसरी अस्पताल सेवा नै अबरुद्ध पार्ने बन्द पहिलो पटक गरेको भने होईन । यसअघि पनि यस्ता बन्द हुने गर्दथे । अघिल्ला बन्दहरुमा कतिपय चिकित्सकहरुले बिरोध गर्दथे ।  तर यसपटक भने उनीहरु पनि मौन बसेका छन् । ‘सुरक्षाको प्रत्याभूति नहुने भने सेवा दिन कसले सक्छ ? को तम्सिन्छ ?, एक जना बरिष्ठ चिकित्सकले अगाडी थपे, ‘राज्यले सुरक्षा प्रत्याभूति दिनै पर्छ, चिकित्सक भएपछि उपचार सेवामा खटिनै पर्छ ।’

समस्या सरकारकै कार्यशैलीमा !
सरकारले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्वन्धी ऐन जारी गरेपछि घटनाका दोशीहरुलाई सोही ऐन अन्तर्गत कार्वाही प्रक्रिया अघि बढाउनु पर्छ भन्ने चिकित्सकहरुको माग हो । तर, स्थानीय तहमा घट्ने यस्ता घटनामा राज्यले कानून कार्यान्व्यन गर्नै सक्दैन ।

घट्ना घटाउनेहरु समेत दलमा आवद्ध हुने र त्यसको छत्र छाँयामा उनीहरु जोगिने अवस्था बन्दै आएको छ । ‘हेटौँडाको घटना पनि त्यसैको एक अंश हो,’ भन्छन् अर्का एक बरिष्ठ चिकित्सक ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरे कडा कार्वाही हुन्छ भन्ने भएको भए यी घटना हुने थिएन । तर हुँदैन । हेटौँडा घटनामा पनि प्रहरीले सुरुमा जाहेरी लिन नै मानेको थिएन । प्रधानमन्त्री तथा गृहमन्त्रीबाट फोन लगाउनु पर्ने अवस्था छ । यसले पनि डाक्टरहरु बढी ससंकित भएका हुन्,’ उनले भने ।

गल्ती गर्ने माथि कार्वाही हुन्छ भन्ने पनि देखिएन
गल्ती सरकार र बिरामी पक्षको मात्र पनि होईन । कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीबाट समेत हुने गरेका छन् । तर अहिलेसम्म उनीहरुबाट हुने गरेको गल्तीको कार्वाही बिरामी पक्ष वा आम सर्वसाधारणले थाहा पाउने गरि सार्वजनिक गरिएको छैन् ।

चिकित्सकहरुको नियमन तथा अनुगमन गर्ने संस्था नेपाल मेडिकल काउन्सिलमा परेका विभिन्न उजुरीहरुको जाँचबुझ गरेर कतिपयलाई कार्वाही नै गरिएको पनि छ तर ती कुराहरु त्यति बढी सार्वजनिक हुँदैनन् । यसले आम जनता र बिरामी पक्षहरुमा चिकित्सकले जति गल्ती गरे पनि जोगिन्छ भ्रम रहेको छ । यसबाट पनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्ने क्रम नघटेको हो ।

 

 

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *