स्वास्थ्य मन्त्री बस्नेतले गरे हेटौडा अस्पताल र मेडिकल स्टोर पथलैयाको निरीक्षण

काठमाडौँ, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन् ।

काठमाडौँका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरुले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्केका हुन् ।

हेटौडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका बिषयमा जानकारी लिएका थिए । अस्पतालमा उपचाररत बिरामीहरुसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए ।

निरिक्षण पछि मन्त्री बस्नेतले देश भरिका अस्पतालहरुले १० प्रतिशत शैया विपन्नका लागि छुट्याएर नि शुल्क उपचार गर्नु पर्नेमा जोड दिएका थिए ।

देशका अधिकांश सरकारी अस्पतालहरुले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समुन्वय नगरि नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’

जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफु पछि नपर्ने दावी गरे । कार्यक्रममा हेटौडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका बिषयमा जानकारी गराएका थिए ।

त्यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका छन् ।

सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका बिषयमा जानकारी गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *