गर्भ बस्न नदिन ‘पुरुषले सेवन गर्ने चक्की’ बनाउने प्रयासमा वैज्ञानिक

बीबीसी । वैज्ञानिकहरूले शुक्रकीटको पौडिन सक्ने क्षमता रोक्ने उपाय पत्ता लागेपछि गर्भ निरोधका लागि पुरुषहरूले सेवन गर्ने चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन्।

उनीहरूका अनुसार त्यस्तो औषधिमा कुनै पनि हर्मोन प्रयोग गरिएको हुँदैन र माग भए उत्पादन गर्न सकिन्छ।

मुसामा गरिएको परीक्षणमा उक्त औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइयो। त्यति समय शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन र गर्भ बस्न नदिन पर्याप्त हुन्छ।

तर मानवमा परीक्षण गर्नुअघि धेरै चरणमा अरू परीक्षण हुन बाँकी नै छ।

मानवका लागि उपलब्ध भए पुरुषहरुले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि यस्तो चक्की सेवन गर्न सक्छन्।

तर उनीहरुले औषधि कति बेलासम्म प्रभावकारी हुन्छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ।

यो औषधिले कसरी काम गर्छ ?

महिलाहरूले प्रयोग गर्ने गर्भनिरोधक चक्कीमा हर्मोन प्रयोग गरिएको हुन्छ। तर पुरुषका लागि अनुसन्धान भइररहेको औषधिमा कुनै पनि हर्मोन हुँदैन।

आफूले अन्वेषण गरिरहेको विषयका लागि यो एउटा सबल पक्ष भएको वैज्ञानिकहरू बताउँछन्। किनभने यो औषधिले टेस्टस्टरोनलाई दमन गर्दैन र शरीरमा पुरुष हर्मोनको कमी हुनेजस्तो दुष्प्रभाव पार्दैन।

बरु वैज्ञानिकहरूले लक्ष्य बनाउन खोजेको ‘स्विच’ शुक्रकीटको पौडिने क्षमता हो। त्यो स्विच वास्तवमा कोषीय सङ्केतको एउटा प्रोटीन हो। त्यसको नाम ‘सल्यबल एडिनाइलिल साइक्लेज’ (एसएसी) हो।

अहिले परीक्षण गरिएको चक्कीले एसएसीलाई निषेध वा अवरोध गर्छ।

मुसामा गरिएको अध्ययनमा TDI-11861 नामक औषधिको एक मात्राले सम्भोगअघि, सम्भोगका क्रममा र सम्भोगपछि पनि शुक्रकीट गतिहीन बनेको पाइयो।

उक्त अध्ययन गर्न यूएस न्याश्नल इन्स्टिट्यूट्स अफ हेल्थले आर्थिक सहयोग उपलब्ध गराएको थियो। नेचर कम्यूनिकेशन्स जर्नलमा यसबारे शोधपत्र प्रकाशित भएको छ।

‘शुक्रकीटमा दीर्घकालीन प्रभाव पर्दैन’

उक्त औषधिको प्रभाव झन्डै तीन घण्टासम्म रह्यो। चौबीस घण्टा हुँदा प्रभाव पूर्णतः हराएको थियो। त्यसपछि भने नयाँ शुक्रकीटहरू सामान्य रूपमा आफ्नै गतिमा अघि बढेको पाइयो।

यो अनुसन्धानमा संलग्न एक वैज्ञानिक डा. मेलनी ब्याल्बाकका अनुसार यो औषधि सजिलै प्रयोग गर्न सकिने र प्रभाव उल्ट्याउन मिल्ने चक्की बन्न सक्छ।

यदि यसले मानिसमा साँच्चै काम गर्‍यो भने चाहिएको खण्डमा पुरुषहरूले यो औषधि प्रयोग गर्न सक्छन्। अनि पुरुषहरूले आफ्नो सन्तान जन्माउने क्षमताबारे दैनिक निर्णय पनि गर्न सक्छन्।

‘सन्तान जन्माउने क्षमता नियन्त्रण गर्न पुरुषका लागि यो निकै उपयोगी साधन बन्न सक्छ किनभने धेरै मानिसहरू बच्चा जन्माउन चाहँदैनन्। आफूले गर्भ बोक्नुनपर्ने भए पनि पुरुषहरूले पनि केही न केही भोग्नपर्ने हुन्छ,’ डा. ब्याल्बाकले भनिन्।

यद्यपि यो औषधिले यौनरोग सर्नबाट चाहिँ नजोगाउने भएकाले कन्डम प्रयोग गर्नु श्रेयष्कर भएको विज्ञहरूको सुझाव छ।

‘विश्वाससँग सम्बन्धित विषय आउन सक्छ अनि यौनरोग फैलिने कुरा पनि हुनसक्छ,’ उनले भनिन्, ‘त्यसैले गर्भ नबसोस् भनेर चाहने र एकअर्काप्रति प्रतिबद्ध जोडीका लागि यो उपयुक्त हुन्छ कि भनेर हामी सोच्दैछौँ।’

यस्तो औषधि किन आवश्यक
यूनिभर्सिटी अफ शेफील्डमा कार्यरत एन्ड्रोलजीका प्राध्यापक एलन पेसीले भने, ‘पुरुषले सेवन गर्ने प्रभावकारी र प्रभाव उल्ट्याउन मिल्ने चक्कीको ठूलो खाँचो छ। वर्षौँदेखि विभिन्न उपायको परीक्षण गरिएको भए पनि अहिलेसम्म कुनै पनि औषधि बजारमा पुगिसकेको छैन।’

‘शुक्रकीटको चालका लागि महत्त्वपूर्ण रहेको मुख्य एन्जाइमलाई परास्त गर्ने यहाँ वर्णन गरिएको उपाय नयाँ हो। यसले काम गर्न सक्ने भएकाले र प्रभाव चाँडै उल्टिन सक्ने भएकाले यो उत्साहवर्धक छ।’

‘यदि मुसामा गरिएका परीक्षणहरूमा जस्तै मानवमा पनि उत्तिकै प्रभावकारिता देखियो भने यो हामीले खोजेको पुरुष गर्भनिरोधको उपाय हुनेछ।’

‘प्रयोगशालामा मानिसको शुक्रकीटमा पनि केही परीक्षण गरिएको छ र तिनमा पनि ठ्याक्क त्यसरी नै यसले काम गर्ने देखिएको छ। त्यसैले मलाई लाग्छ त्यसले मानिसमा पनि परीक्षण गर्न सकिने बाटो खोलिदिएको छ।’

अरू अनुसन्धानकर्ताहरूले अलिक भिन्न तरिकाले शुक्रकीटको चालमा अवरोध गर्ने मार्गबारे अध्ययन गरिरहेका छन्। शुक्रकीटको सतहमा रहेको एउटा प्रोटीनलाई छेक्न सकिने सम्भावनाबारे उनीहरूको अध्ययन केन्द्रित छ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *