महिलाहरुमा देखिने पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) रोग के हो ? कसरी गर्ने उपचार ?

पोलिसिस्टिक ओभरी सिन्ड्रोम भनेको महिलाहरुको अण्डासय (ओभरी) संग जोडिएर आउने एक प्रकारको स्वास्थ्य समस्या हो । यसले महिलाहरुमा हुने हार्मोनको सन्तुलन बिगार्न सक्छ ।जसबाट गर्भधारण देखि महिनावारी गडबडी लगायतका समस्या देखा पर्न सक्छन् ।

कसै कसैले यसलाई पोलिसिस्टिक ओभरी डिजिज (पीसीओडी)पनि भन्ने गर्दछन् । तर अहिले यसलाई पीसीओएसकै रुपमा बुझ्ने गरिएको छ ।

के हो त पीसीओएस ?
माथि नै उल्लेख गरेका छौँ । यो महिलाहरुको अण्डासयसंग जोडिएर आउने समस्या हो । अण्डासयसंग समस्या जोडिने हुँदा यो खासगरी महिनावारी सुरु हुने देखि महिनावारी नसुक्ने उमेर समूहका महिलाहरुमा देखा पर्न सक्छ ।

यो समस्या यहि कारणले भएको हो भन्ने अहिले पनि पत्ता लागिसकेको छैन् तर हर्मोनमा आउने गडबडीमा एउटा मूख्य कारण खानपान तथा जीवनशैली भएको हुनाले यसको उपचार पद्धपी त्यो संग बढी जोडिएर आउने गर्दछ ।

कुन हर्मोनको गडबडी ?
महिलाहरुमा पनि पुरुषमा हुने एक खालको हर्मोन हुन्छ ‘एन्ड्रोजन’ । सामान्य त त्यो दवेर बसेको हुन्छ ।  जब, गडबडी उत्पन्न हुन्छ यो बढ्न थाल्छ ।

यो बढ्दै जाँदा अण्डासयमा पानीको थोपा जस्तो सामान्य गाँठा (सिस्ट) बन्न सक्छ । जव यो बढ्दै जान्छ यसले आफ्ना असरहरु बढाउँदै लैजान्छ । जसले गर्दा मुख्य रुपमा ओभ्युलेसन प्रक्रिया (डिम्ब निस्कने प्रक्रिया)मा रोकावट तथा महिनावारीमा समेत गडबडी उत्पन्न गराउँछ ।

कसरी थाहा पाउने ?
यदि तपाईँमा महिनावारी गडबडी छ भने यो पीसीओएससंग जोडिएको समस्या हुनसक्छ । यसका लागि स्त्री रोग विशेषज्ञलाई देखाउनु पर्दछ । स्त्री रोग विशेषज्ञले लक्षण हेरेर वा हार्मोन परीक्षण गराएर यो समस्यो हो – होइन भनिदिन सक्छ ।

महिनावारी गडबडी कस्तो अवस्थालाई भन्ने ?

कतिपय महिलाहरुमा महिनावारी एक १५ दिन एक महिना दुई महिना हुँदै छ महिनासम्म नहुने पनि देखिएको छ । कतिपयमा महिनावारी हुँदा एक दिनमै पाँच छ वटा प्याड फेर्नु परेको छ र चोक्टा चोक्टा रगत गइरहेको छ भने पनि त्यो गडबडी हो ।

कतियमा १५ – २० दिन वा एक महिनासम्म पनि निरन्तर रगत जाँने हुन्छ । कतिपयमा अलिकति रगत देखा पर्ने तर त्यसपछि रगत नै नजाने पनि हुनसक्छ । यी सबै महिनावारी गडबडी हुन् ।

पीसीओएसमा अरु पनि लक्षण हुन्छ कि ?
यदि महिलाको फेसमा विमिराहरु (पिम्पल्स)हरु बढ्न थालेको छ । स्वर घोक्रो हुँदै गएको छ, तौल बढ्दै गएको छ भने, रौंहरु बाक्लो हुँदै गएको छ भने पनि पीसीओएस हुनसक्छ । चिकित्सकहरुले हर्मोन परीक्षण, अल्ट्रासाउण्ड लगायतका विभिन्न जाँचहरु गरेर यो समस्या हो कि होइन पत्ता लगाउँछन् ।

यसले अरु स्वास्थ्य समस्या पनि निम्त्याउँछ ?
पीसीओएस छ र त्यो नियन्त्रण भएको छैन भने त्यसले अन्य गडबडी पनि गराउन सक्छ । प्रजनन क्षमतामा असर गर्ने भयो । तौल बढदै जाने भयो यसले सुगर प्रेसर लगायतका अन्य धेरै नसर्ने रोगहरुको पनि विकास गर्ने भयो । पाठेघरको भित्रि भागमा हुने इन्डोमेटेरियल क्यान्सर हुनसक्छ ।

कारण र उपचार
हर्मोनमा आएको गडबडीको कारणले यो समस्या हुन्छ भन्ने थाहा छ । तर, हर्मोनमा गडबडी के कारणले हुन्छ भन्ने ठ्याक्कै यहि नै भन्ने छैन् ।

विभिन्न अनुसन्धानले वंशाणुगत कारण हो भनेका छन् । यस्तै खानपान जीवनशैलीका कारण पनि हर्मोनमा गडबडी आउँछ ।

यसैले यदि आमा, हजुर आमा लगायतका पूर्वजहरुलाई यो समस्या छ थियो भने, सन्तती त्यसको जोखिममा पर्ने भए । यस्तै हाम्रो अस्वस्थकर खानपान जीवन शैलीबाट पनि हर्मोनल गडबडी हुन्छ ।

त्यसैले खानपान स्वस्थ बनाउँ । शारीरिक व्यायमलाई ध्यान दिऔँ ।

(#डा. श्रेष्ठ बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन् ।)

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *