अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. बाराकोटी बढुवा
काठमाडौँ, १३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव १२ औँ तहमा दुई जना बढुवा भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डा विकास देवकोटा र डा टंकप्रसाद बाराकोटीलाई अतिरिक्त स्वास्थ्य सचिव (१२ औँ तह)मा बढुवा गर्ने निर्णय गरको हो ।
बढुवा भएका डा देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत छन् भने डा बाराकोटी प्रदेश अस्पताल भद्रपुर झापामा कार्यरत छन्।
यसअघि स्वास्थ्य मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिवमा बढुवाका लागि डा श्रीकृष्ण श्रेष्ठ, डा देवकोटा र डा बराकोटीलाई क्रमश पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो । तर शुक्रबारको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा परेका डा श्रेष्ठलाई पन्छाएर दोस्रो र तेस्रो नम्बरमा परेका डाक्टर द्धयलाई बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा समितिले गत ३० कात्तिकमा प्रकाशित सूचनामा स्वास्थ्य सेवा ऐनको दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्न भन्दै योग्यता पुगेका कर्मचारीलाई व्यक्तिगत विवरण पठाई प्रतिस्पर्धामा सहभागी हुन भनिएको थियो । सोही अनुसार २१ जनाले व्यक्तिगत विवरण बुझाएका थिए ।
तीमध्ये बढुवा समितिले डा श्रेष्ठ, डा देवकोटा र डा बाराकोटीको नाम सिफारिस गरेको थियो।