आज विश्व क्षयरोग दिवस

 

काठमाडौँ, १० चैत । आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिद कार्यक्रम गरी यो दिवस मनाईदै छ । सन् १८८२ मार्च २४का दिन डा रोबर्ट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए ।

यसको एक सय बर्ष पछि सन् १९८२ मा इन्टरनेशनल युनियन अगेन्स्ट ट्युवरक्लोसिस एण्ड लङ डिजिजको सिफारिसमा २४ मार्चको दिनलाई दिवसको रुपमा मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य संगठनले यस वर्षको नारा “हो,  हामी क्षयरोग अन्त्य गर्छौँ” भन्ने तय गरेको छ ।

डब्लुएचओले सन् २०२२ मा प्रकाशित गरेको बार्षिक प्रतिवेदनका अनुसार सन् २०२१ मा संसारभरी ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी करीब १ करोड ६ लाख मासिनहरु क्षयरोगबाट पिडीत थिए । क्षयरोग निको हुने रोग भएता पनि सन् २०२१ मा संसारभरी क्षयरोगका कारण करीब १६ लाख मानिसको मृत्यु भएको अनुमान छ ।

नेपालमा पनि हरेक वर्ष नयाँ तथा पुराना गरी करीव् १ लाख १७ हजार बिरामी देखिन्छन् भने हरेक वर्ष ६९ हजार नयाँ बिरामी थपिने र करीब १७ हजारको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।

गत आर्थिक वर्ष २०७८ /७९ मा नेपालमा ३७ हजार ८६१ जना क्षयरोगका बिरामीहरु उपचारका लागि दर्ता भएका थिए । जसमध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र ८.७ प्रतिशत बालबालिकाहरु थिए । त्यसमध्ये ९१.५ प्रतिशत बिरामी उपचार सफल भई निको भएका थिए ।

क्षयरोगको अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको संख्याको अनुपात हेर्दा हरेक वर्ष झण्डै ३२ हजार क्षयरोगका बिरामीहरु पत्ता लगाई उपचारको दायरामा ल्याउन सकिएको छैन् ।

क्षयरोग नियन्त्रण केन्द्रले यसलाई चुनौती पूर्ण कदम भनेको छ ।

यस्तै नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या बार्षिक करीव २ हजार ८ सय रहेको छ । डब्लुएचओले नेपाललाई पनि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप रहेका देशहरुको सूचीमा ३० नम्बरमा राखेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *