बनभोज खान गएकी जसपा सांसद सहनाज रहमानको हृदयघातबाट निधन
काठमाडौँ, १३ फागुन । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातबाट निधन भएको छ। ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए।
भक्तपुरको घ्याम्पे डाँडामा आयोजित बनभोजमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको यादवले बताए। त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो।
अस्पतालले उनलाई मृत घोषणा गरेको यादवले बताए। रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्ष थिइन्। उनी जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्।